शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कोरोना महामारीका बेला केपी ओलीको अफिस शृंगारपटार गर्न ४८ करोड स्वाहा !

कोरोना महामारीका बेला केपी ओलीको अफिस शृंगारपटार गर्न ४८ करोड स्वाहा !

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ११ २०७७

  • 4.5K
    SHARES

  • कोरोना महामारीका बेला केपी ओलीको अफिस शृंगारपटार गर्न ४८ करोड स्वाहा !

    काठमाडौं – सरकारले सिंहदरबारस्थित मुख्य प्रशासनिक भवन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको शृंगारपटारमा ४८ करोड रुपैयाँ खर्च गरेको छ ।

    २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाइरहेको छ । त्यसक्रममा प्राधिकरणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सजावट र आवश्यक उपकरण जडानमा ४८ करोड रुपैयाँ खर्च गरेको छ । 

    प्राधिकरणका एक अधिकारीका अनुसार प्रधानमन्त्रीको कार्यालयलाई सुविधासम्पन्न गराउन मेकानिकल, इलेक्ट्रिकल प्लम्बिङ, आइटीरसेक्युरिटी, फायर फाइटिङ, सेनिटरी, एयर कन्डिसिनिङ, सीसीटीभी, बगैंचा, फर्निसिङ तथा फर्निचर खरिदका लागि ४८ करोड रुपैयाँ खर्च भएको छ । प्राधिकरणले सिंहदरबारका ३ मोहडा (पूर्वी, उत्तरी र दक्षिणी) पुनर्निर्माण गर्न भने ३९ करोड रुपैयाँ खर्च गरेको छ । 

    तर प्रधानमन्त्रीको भवनको भित्री भाग सजाउन र केही सामान खरिदमा मात्र ४८ करोड रुपैयाँ खर्च भएको छ ।

    प्राधिकरणका ती अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई नयाँ स्वरुपमा बनाउन रकम खर्च गरिएको बताए । ‘यहाँ अहिलेको प्रधानमन्त्री कार्यालयबाट केही सामान ल्याइने छैन,’ ती अधिकारीले भने, ‘सबै नयाँ गर्दा धेरै रकम लागेको हो ।’

    प्रधानमन्त्री कार्यालयकै एक उच्च अधिकारीका अनुसार सिंहदरबारमा अहिले बसेको प्रधानमन्त्री कार्यालयमा आवश्यक भौतिक सामान सबै रहेका छन् । त्यहाँ भएका फर्निचर, कम्प्युटर लगायत सामानको अवस्था पनि राम्रो छ ।

    सरकारले खर्च गर्न नचाहेको भए नयाँ भवनमा कार्पेटिङ र पर्दा खरिदमा बाहेक अन्य सामानमा खर्च गर्नुपर्ने अवस्थै थिएन । तर भवनको पुनर्निर्माणसँगै प्रधानमन्त्री कार्यालयका लागि सबै सेट नयाँ खरिद गरिएको छ ।

    ‘प्रधानमन्त्री कार्यालयका लागि अहिले गरिएको खर्च हेर्दा सरकारको मितव्ययिताको नाराले आफैंलाई गिज्याएको भान हुन्छ,’ प्रधानमन्त्री कार्यालयका ती उच्च अधिकारीले भने । प्राधिकरणका अधिकारीका अनुसार ४८ करोड रुपैयाँ सजावटका साथै कार्यालयको अत्यावश्यक पर्ने सम्पूर्ण पूर्वाधारका लागि खर्च भएको हो । प्राधिकरणले हालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मौजुदा संगठन संरचनाअनुरुप आवश्यक पर्ने कार्यकक्ष तथा बैठक कक्ष निर्माण गरेको छ ।

    प्राधिकरणका अनुसार सिंहदरबारको उत्तरी, दक्षिणी र पूर्वी खण्डको प्रबलीकरण तथा फिर्निसिङ फर्निचर सहितको सम्पूर्ण कामलाई प्रथम चरण र द्वितीय चरणमा ठेक्का व्यवस्थापन गरेर हालसम्म ८७ करोड रुपैयाँ खर्च भएको छ । यो रकममा सजावटको ४८ करोड रुपैयाँ समेत समावेश छ ।

    १ वर्षयता कोभिडका कारण मुलुकको अर्थतन्त्र समस्यामा छ । सरकारले कोभिडबाट समस्यामा परेका सर्वसाधारण र उद्योगी व्यवसायीलाई कर्जाको ब्याज तिर्ने समय सार्नेबाहेक गतिलो कुनै सुविधा दिन सकेको छैन । छिमेकी भारतको सदाशय र सरकारको केही पहलका कारण मात्र सर्वसाधारणले कोभिडको खोप लगाउने वातावरण बनेको छ । अन्यथा कोभिडको ठूलो मार परे पनि सरकार अविभावक बन्न सकेको छैन ।

    कोभिडकै कारण सरकार आफैंले लक्ष्यअनुसार राजस्व असुली गर्न सकेको छैन । सरकार आफ्नै लागि अरु बेलाभन्दा अहिले १–१ पैसाको महत्त्व बढी भए पनि प्रधानमन्त्री कार्यालय सजाउन भने ठूलो रकम खर्च गरिएको छ । यसले सरकार कसका लागि मितव्ययी बनेको छ त भन्ने प्रश्न उठेको छ ।

    प्रधानमन्त्री कार्यालयका एक अधिकारीले नयाँ सामान खरिद गर्दा कमिसन आउने भएकाले अनावश्यक रुपमा ठूलो रकम खर्च गरिएको दाबी गरेका छन् । अर्कातिर प्रधानमन्त्री ओलीलाई खुशी बनाउन पनि प्राधिकरणका उच्च पदाधिकारीहरूले कार्यालय पूरै नयाँ बनाएको बताएका छन् ।

    प्राधिकरणका अनुसार सिंहदरबारको ३ वटै मोहडा निर्माणका लागि पहिलो चरणको ठेक्का शर्मा न्यू टेक्निकल जेभीले पाएको थियो । दोस्रो चरणको ठेक्का भने शर्मा माइक्रोटेक न्यू टेक्निकल जेभीले पाएको थियो । पहिलो र दोस्रो चरणको ठेक्कामा परामर्शदाताको जिम्मेवारी भने डीबी मल्टी इन्जिनियरिङ कन्सल्टेन्ट प्रालिले पाएको थियो ।

    प्राधिकरणले सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहडा तथा प्रधानमन्त्री कार्यालय तयार भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ३ गते उद्घाटन गरेका थिए ।

    भूकम्पले भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय साविकको स्थानीय विकास मन्त्रालयमा सारिएको थियो । उत्तर, दक्षिण र पूर्वतर्फको मोहडा करीब १२ हजार ४ सय ६१ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको थियो । २०३० सालमा सिंहदरबारमा भीषण आगललागी हुँदा पश्चिमीबाहेक अन्य ३ मोहडा जलेर नष्ट भएका थिए ।

    २०३७ सालमा तत्कालीन सरकारले आगलागीबाट नष्ट भएको सिंहदरबारको ३ तर्फकै मोहडा आधुनिक निर्माण सामग्रीको प्रयोग गरेर पुरानै शैलीमा बनाएको थियो । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend