काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएर प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छुट्टाछुट्टै हिँडिरहेका बेला ओलीले प्रचण्डलाई ‘काउन्टर’ दिने जिम्मेवारी महिला नेतृलाई दिएका छन् ।
प्रचण्डको गृहजिल्ला चितवनमा ओली पक्षलाई बलियो बनाउने जिम्मेवारीसहित जिल्ला पार्टीको अध्यक्षमा दिलकुमारी (पार्वती) रावल थापा नियुक्ति भएकी छन् ।
नेकपा ओली पक्षको जिल्ला कमिटी बैठकले रावललाई अध्यक्ष चयन गरेको छ । बैठकले नेता प्रकाश खनाल ‘शैलेश’लाई जिल्ला सचिवको जिम्मेवारी दिएको छ ।
नेतृ रावल तत्कालीन एमालेको जिल्ला सचिव एवं राष्ट्रियसभा सांसद रहेकी हुन् । सचिव बनेका खनाल रामबहादुर थापा ‘बादल’ पक्षका नेता हुन् ।
बैठकले १० औं जिल्ला अधिवेशन गराउन ५०१ सदस्यीय आयोजक कमिटी समेत गठन गरेको छ । कमिटीका सबै सदस्यको शपथ कार्यक्रम फागुन १० गते राखिएको नवनियुक्त अध्यक्ष पार्वती रावलले बताएकी छन् ।
जिल्ला कमिटी बैठकले नीति, सिद्धान्त आदर्श र पार्टी एकता विरोधी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियारलाई जिम्मेवारीबाट हटाएको नेकपा केन्द्रीय सदस्य पुरुषोत्तम न्यौपानेले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।