काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताको पावर देखाइदिएका छन् ।
काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले अब पनि केपी ओलीको प्रतिगामी कदम नसच्चिए केही दिनपछि सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने चेतावनी दिएका छन् ।
अध्यक्ष प्रचण्डले ओलीको आम सभाभन्दा धेरै मानिस भेला भएको दाबी गर्दै भने, ‘केपीजी ! देख्नुभयो, विरोध कस्तो हुन्छ ? प्रदर्शन कस्तो हुन्छ ?’
प्रचण्डले लाखौं जनताको उपस्थितिले ओलीलाई आवेग र पीडा भएको बताएका छन् । ‘केही दिन पर्खिनुहोला र हेर्नुहोला । सिंहदरबार घेर्न र बालुवाटार घेर्न लाखौंलाख जनता आइपुग्छन्, तपाईंको लोकतन्त्रको हत्या गर्ने आपराधिक चरित्रलाई जनताले बुझिसकेका छन्,’ प्रचण्डले भनेका छन् ।
उनले सर्वोच्च अदालतले जनभावनालाई बुझेर अब छिट्टै संविधान र लोकतन्त्रको पक्षमा फैसला दिने बताएका छन् । ‘आज सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि देख्नुभयो कि जनता के चाहन्छन् ? सबै जाति, क्षेत्र र अधिकारको पक्षमा साथीहरुले यहाँ आफ्नो धारणा राख्नुभएको छ, मलाई लाग्छ, सर्वोच्च अदालतका सम्माननित न्यायाधीशहरुले यो जनभावना बुझ्नुभएको छ र अब ढिलो नगरी संविधान र लोकतन्त्रको पक्षमा फैसला दिनुहुनेछ भनेर विश्वास व्यक्त गर्न चाहन्छु ।’
प्रचण्डले केही दिनमै ओली सरकारमा रहेका २ जना मन्त्रीहरू आफ्नो पक्षमा आउन लागेको खुसाला समेत गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।