काठमाडौं – कम्युनिस्ट सरकारका अर्थमन्त्री विष्णु पौडेलसँग लफडा परेपछि नेपाल बैंक लिमिटेडका अध्यक्ष वासुदेव अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
लाभांश वितरणमा अर्थमन्त्री पौडेलसँग विवाद भएपछि अधिकारीले आईतवार अध्यक्ष पदबाट दिएको राजीनामा सोमवार स्वीकृत भएको छ ।
सोमवार अर्थमन्त्री विष्णु पौडेलले अधिकारीले अध्यक्ष पदबाट दिएको राजनीमा स्वीकृत गरेका हुन् । सरकारी बैंकहरूले लाभांश दिँदा अर्थ मन्त्रालयको सहमति लिनुपर्ने भएपनि सहमति विपरीत लाभांश पारित गरिएको भन्दै अर्थमन्त्री पौडेल अध्यक्ष अधिकारीसँग रिसाएका थिए ।
नेपाल बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय बैंकले गरेको थियो । यसमा गत आर्थिक वर्षभन्दा अगाडिको सञ्चित नाफा समेतबाट लाभांश दिने निर्णय गरिएपछि अर्थ मन्त्रालय रुष्ट भएको स्रोतले जनाएको छ ।
अन्य बैंकहरुले लाभांश वितरण गर्नु पूर्व सञ्चालक समितिबाट निर्णय गराएर राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने हुन्छ । राष्ट्र बैंकको अनुमतिपछि पनि साधारण सभाबाट पारित भएपछि मात्रै बैंकहरूले शेयर धनीलाई लाभांश दिने गरेका छन् ।
सरकारी बैंक भएका कारण लाभांश वितरण गर्न अर्थ मन्त्रालयबाट समेत सहमति लिनुपर्ने व्यवस्था रहेको छ । सहमतिका लागि अर्थ मन्त्रालयमा पुगेको फाइल रोकिएपछि विवाद सिर्जना भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।