शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

ओली र प्रचण्डको झगडाले देशमा अशान्ति फैलिँदै, सडकमै लड्न थाले कार्यकर्ता

ओली र प्रचण्डको झगडाले देशमा अशान्ति फैलिँदै, सडकमै लड्न थाले कार्यकर्ता

  • मिडिया डबली
  • शुक्रवार, माघ २३ २०७७

  • 5.5K
    SHARES

  • ओली र प्रचण्डको झगडाले देशमा अशान्ति फैलिँदै, सडकमै लड्न थाले कार्यकर्ता

    काठमाडौं – नेकपा (प्रचण्ड–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीवार सुरक्षाकर्मी सहितको गाडीमा सातदोबाटो–पुल्चोक–कोटेश्वर गरिरहँदा कतिपय ठाउँमा सुरक्षाकर्मी र अन्य ठाउँमा उनकै कार्यकर्ताले अवरोध गरेका कारण साधन हुने यात्रुले निर्धक्क यात्रा गर्न पाएनन्, नहुनेले पैदलै यात्रा गर्नुपर्‍यो ।

    बन्दका कारण ज–जसले दुःख पाए, ती मतदाता पक्कै हुन् तर कसैका खास कार्यकर्ता थिएनन् । बन्द गराउन खटिएका नेता–कार्यकर्तालाई हौसला दिन गाडीमा हुइँकिएका प्रचण्डको शैलीबारे सामाजिक सञ्जालमा विरोध त भएकै थियो, नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले पनि कटाक्ष गरिदिए, ‘जनताले कति दुःख पाए भनेर तमासा हेर्न कोही गाडीमा, कोही मोटरसाइकलमा निस्क्या छन्, कार्यकर्ता सकिएछन्, आफैं हिँडेका छन् ।’

    प्रतिनिधिसभा विघटन भएको डेढ महिनायता नेकपाको नेतृत्वबीच एकले अर्कालाई गर्ने यस्ता कटाक्षले हद नाघिसकेको छ । बिहीवार प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको आमहड्ताल र ओली नेतृत्व नेकपाका युवा विद्यार्थीको जुलुसबाट मुठभेड सडकमै पुगेको छ ।

    यसले नेकपा भित्रको द्वन्द्वले आगामी दिनमा मुलुकलाई थप अप्ठ्यारो पार्न सक्ने विश्लेषण राजनीतिक चिन्तकहरुको रहेको छ । थप अप्ठ्यारोको संकेत नेकपा अध्यक्ष प्रचण्डले अर्को ठूलो जनआन्दोलन हुन्छ भन्दै बिहीवार सडकबाटै गरेका छन् ।

    ‘लोकतन्त्रमाथि प्रहार भएको छ । सबै त्यस कदमविरुद्ध उत्रिएका छन्, जसरी असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरिएको छ, त्यसका विरुद्ध हाम्रो आन्दोलन हो । यो आन्दोलन केपी र प्रचण्डबीचको जुहारी नभई गणतन्त्र र गणतन्त्रविरोधीको लडाइँ हो,’ प्रचण्डले भने, ‘हामी अझ ठूला आन्दोलन गर्ने छौं । २८ गते विशाल प्रदर्शन गर्ने छौं, फागुनको पहिलो हप्ताबाट ठूलो जनआन्दोलन हुन्छ । त्यसले सबै लोकतन्त्रविरोधीलाई बढार्छ ।’

    प्रचण्डको अभिव्यक्तिको अर्थ सडक अझै अस्तव्यस्त हुन्छ, नागरिकको दुःख झन् बढ्छ भन्ने हो । ओलीले यसअघि नै ‘देखाइदिन’का लागि गर्ने भनेको सभा शुक्रवार हुँदैछ । त्यो सभाका लागि दरबारमार्गका रेलिङहरु हटाइसकिएको छ । काठमाडौं बाहिरबाट मानिस ओसारेर राजधानीका होटल, पार्टी प्यालेसमा जम्मा गरिएको छ ।

    टोलटोलबाट सभामा मान्छे ओसार्न गाडीको प्रबन्ध गरिएको सूचना व्यक्ति–व्यक्तिमा फोन र सामाजिक सञ्जालका मेसेज बक्समा भित्रिइसकेका छन् । हुन त ओली समूहले मुलुकका विभिन्न सहरमा यसअघि सभा गरिसकेको छ । केही स्थानमा ओली आफैं पुगेका छन् । यी सबै सभाभन्दा फरक खालको आफ्नो विरोधीलाई ‘देखाइदिने’ शक्ति प्रदर्शनको सभा शुक्रवार हुन लागेको हो ।

    २०४६ सालको राजनीतिक परिवर्तनपछि सत्ता सडकमै उत्रिएर शक्ति देखाउन लागेको यो पहिलो पटक हो । तत्कालीन राजा ज्ञानेन्द्र शाह आफ्नो शासन कालको उत्तराद्र्धतिर ठाउँ–ठाउँमा नागरिक भेला गर्दै हिँडेका थिए । तर नागरिकको आवागमन नै ठप्प हुने गरी सरकारले शुक्रवार गर्न लागेको जस्तै भेला पञ्चायत कालमा पञ्च र्‍यालीका नाममा हुने गर्थ्यो ।

    कांग्रेस नेता गगन थापा सत्ताधारी दल नै यसरी सडकमा आउँदा मुलुक मुठभेडतिर जाने बताउँछन् । ‘सत्ता यसरी सडकमा आउन मिल्दैन,’ थापाले भने, ‘सडक अरूको हो नि । यसले त सत्ता नै मुठभेड चाहन्छ भन्ने स्पष्ट देखिन्छ । सडकमा त सरकारसँग असन्तुष्टि राख्ने मान्छे छन् नि !’

    जति नै व्यवस्थित गर्छौं भनेर दाबी गरे पनि सडकमा मञ्च राखेर गरिने कार्यक्रमले नागरिकलाई सास्ती दिन्छ । यो सास्ती २०७४ को प्रतिनिधिसभा चुनावयता नागरिकले लगभग बिर्सिसकेका थिए । राजनीतिक दलभित्रको खिचातानीलाई एकछिनका लागि बिर्सिने हो भने जनताको दैनन्दिनले आफ्नो लय पक्रिसकेको थियो, भलै उनीहरूको गुजारा सडकमै किन नहोस् ।

    अब ३ वर्षयताको सडकको शान्ति बाँकी रहेन । ‘योभन्दा अझै ठूलो, संवैधानिक र राजनीतिक उपलब्धि नै गुम्ने खतरामा मुलुक पुगिसक्यो,’ राजनीतिक/कूटनीतिक मामिलाका जानकार प्राध्यापक श्रीधर खत्रीले भने । खत्रीको बुझाइमा नेकपाभित्रको खिचलो र त्यसपछि ओलीले चालेको असंवैधानिक कदमको रिस र बचाउमा कार्यकर्ता सडकमा पोखिँदा राजनीतिक र संवैधानिक प्रक्रियाको निरन्तरता नै शंकाको घेराभित्र छ ।

    ‘जनताले प्रजातन्त्र ल्याए, प्रजातन्त्र पुनर्बहाली गरे, लोकतन्त्र ल्याए र गणतन्त्र ल्याए, यी सबै सडक संघर्षका कारण भएका हुन् । तर अब जनता सडकमा हुने यस्ता तमासासँग वाक्कदिक्क छन्, जतिबेला पनि सडकमा उत्रिँदै बन्द गरेर देश चल्दैन, विकास पनि हुनुपर्‍यो,’ खत्रीले भने, ‘म अहिले झन् ठूलो दुर्भाग्य देख्छु । यसपालि फरक–फरक दलले गरेको बन्दजस्तो होइन, सत्ताधारी नेकपाका दुबै खेमा सडकमा छन् । यसले राजनीतिक अस्थिरता निम्त्याउँछ, यो अस्थिरतामा बाह्य शक्तिले फाइदा लिन्छ ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिरमा संवैधानिक परिषद्को बैठकमार्फत सिफारिस गरेका संवैधानिक आयोगका प्रमुख तथा सदस्यलाई बुधवार बिहान हत्त न पत्त शपथ गराइयो । नियुक्तिविरुद्ध सर्वोच्चमा मंगलवार दर्ता गर्न खोजिएको रिटलाई पन्छाइयो र बुधवारको शपथपछि मात्रै रिट दर्ता गरियो । 

    शपथग्रहण समारोहमा प्रधानन्यायाधीश समेत उपस्थित भएपछि सरकारलाई झटपट निर्णय गर्न सघाउ पुग्यो । यसले आन्दोलनरत नेकपा प्रचण्ड–नेपाललाई झस्कायो र उनीहरुले तुरुन्तै आमहड्ताल घोषणा गरे । त्यही साँझ गृह मन्त्रालयले हड्ताललाई असफल पार्न अपिल गरेको थियो ।

    अवरोध गर्नेलाई नियन्त्रणमा लिन पनि मन्त्रालयको निर्देशन थियो । सडकमा प्रहरीको तैनाथी बाक्लो थियो ।

    बिहीवार सडकमा देखिएको दृश्य र शुक्रवार सभाका नाममा हुने सडकको अस्तव्यस्तताले मुलुक मुठभेड र अराजकताको बाटोतिर गयो भन्न सकिने आधार प्रशस्त गरेको विश्लेषक खगेन्द्र प्रसाईं बताउँछन् ।

    ‘मुठभेड र अराजकताको सुरूआत भइसकेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर लोकतान्त्रिक बाटो संसद्भित्रै सिर्जना गरिदिएन भने त हामी लगभग भिडन्तको बाटोमा गयौं,’ प्रसाईंले भनेका छन् । प्रसाईंका अनुसार यसलाई २ पक्षको लडाइँको अर्थमा मात्रै बुझ्नु पनि हँदैन ।

    ‘यो संसद र संविधानले पुनर्जीवन प्राप्त गरोस् भन्नेहरुविरुद्ध पुनर्जीवन प्राप्त नगरोस् भन्नेको लडाइँ हो भनेर मैले बुझेको छु । यस अर्थमा पनि हामी लगभग भिडन्तको बाटोमा गयौं,’ प्रसाईंले भने, ‘त्यसपछि त शान्तिपूर्ण जुलुसकै बीचमा पनि मुठभेड हुने परिस्थिति हुन्छ । मान्छे यताबाट शान्तिपूर्ण भन्छ, अर्कोतिरबाट शान्तिपूर्ण जुलुसमा आउँछन्, त्यो मुठभेडले हिंसातिर लान्छ । प्रहरीका सामान्य दमनको प्रतिकार होला, प्रतिकारको प्रतिकार हँदा यो प्रक्रिया बढ्छ, जुन हाम्रा लागि साह्रै दुःखद हो ।’

    लगभग व्यवस्थापन भइसकेको संवैधानिक र लोकतान्त्रिक प्रक्रियामा यसले ठ्याक्कै उल्टो गियर लगाएको उनले बताए । ‘यसले हामीलाई पुरानो व्यवस्थातिर फर्काउँछ कि भन्ने चिन्ता छ अहिले,’ उनले भने । 

    प्रसाईंले गणतन्त्रको उपलब्धि गुम्छ भन्ने चिन्ता व्यक्त गरिरहँदा शुक्रवार नारायणहिटी दरबारनजिक हुन लागेको सभाको तारतम्य मिलाइरहेकाहरु मध्येकी नेकपा ओली पक्षकी केन्द्रीय सदस्य निरु पालले संघीयता खारेज गर्नुपर्ने अभिव्यक्ति दिएकी छन् ।

    ‘हाम्रो सानो मुलुक आर्थिक स्थिति कमजोर भएको मुलुक छ । प्रत्येक नेपालीको टाउकामा विदेशीको ऋण छ । तसर्थ प्रधानमन्त्रीज्यू, यो संघीयता नामको सेतो हात्ती हाम्रो मुलुकले धान्दैन,’ उनले फेसबुकमा लेखेकी छन्, ‘प्रदेश सरकार खारेज गरौं, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गरौं सम्माननीय प्रधानमन्त्रीज्यू ।’ नेत्री पाल सहितको टीमले प्रधानमन्त्री ओलीलाई यसअघि भेटेरै संघीयता खारेजीको माग गरिसकेको छ ।

    शुक्रवारको सभा र जनपरिचालनको संयोजन गरिरहेका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आमसभाका लागि प्रचार सामग्रीका रूपमा नेकपाका नेताहरुले आफ्नो आदर्श मान्ने मदन भण्डारीको राजतन्त्रबारेको एउटा अडियो अंश २ दिनअघि सार्वजनिक गरेका थिए ।

    अडियो अंशमा भण्डारीले ‘राजा रहने परम्परालाई कायम राखेर पनि जनता र प्रजातन्त्रलाई सर्वशक्तिमान बनाउने कुरालाई सुनिश्चित गरिन्छ भने यो ठूलो आपत्तिको कुरा हुने छैन’ भनेका छन् । देखाइदिने भन्दै गरिन लागेको आमसभाको पूर्वसन्ध्यामा ओलीका विश्वास पात्रहरुले दिएको अभिव्यक्ति र शेयर गरेको अडियो अंशले आशंका झन् बढेको छ । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend