काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले बिहीवार गरेको नेपाल बन्दको क्रममा काठमाडांैको गोंगबुमा आन्दोलनकारीले ट्याक्सी जलाइदिएपछि चालक कुम्भनारायण श्रेष्ठ इन्तु न चिन्तु भए ।
प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी चलाएर आउने पैसाले दैनिकी चलाउँदै आएका श्रेष्ठका लागि बिहीवारको बिहान अन्धकार जस्तै बनिदियो ।
आन्दोलनकारीले पेट्रोल छर्केर ट्याक्सी जलाइदिएपछि श्रेष्ठका लागि बिहानको समय पनि अन्धकार रातजस्तै बनेको थियो ।
‘गरिखाने साधन नै जलाइदिए, निकै पापी रहेछन्, झन्डै ट्याक्सीसँगै मलाई पनि जलाइदिएनन्,’ उनले भने, ‘ट्याक्सी जलाइएको क्षण मैले केही देखिनँ, अन्धकार नै भयो ।’
श्रेष्ठले सर्वसाधारण नागरिकलाई पीडा दिएर गरिने यस्तो आन्दोलनको कुनै अर्थ नभएको बताएका छन् । ‘जनतालाई पीडा दिने, दुःख दिने अनि जनताकै लागि आन्दोलन गर्यौ भन्न लाज पनि लाग्नुपर्ने हो,’ उनले आफ्नो पीडा पोख्दै भनेका छन् ।
उनका अनुसार जलाइएको गाडी उनको साहुको हो । बिहीवार साहुलाई थाहा नदिई गाडी निकालेको र १–२ ट्रिप गरेपछि मात्रै आन्दोलनकारीले गाडी जलाइदिएको उनले बताए ।
‘गोंगबु चोकमा चाबहिल जाने हो भन्दै २ जनाले गाडी रोके । त्यसपछि १ जनाले पेट्रोल छर्किए र अर्काले सलाई कोरेर ओगो लगाइदिए,’ श्रेष्ठले घटना सम्झँदै भने । त्यतिबेला उनी सिल्ट बेल्ट बाँधेर गाडीमै बसेका थिए ।
‘उनीहरु आगो लगाएर भागे । छिटो–छिटो सिल्ट बेल्ट झिकेर बाहिर निस्केर बाच्न सकें,’ उनले भने ।
आन्दोलनकारीले श्रेष्ठलाई पनि गाडीभित्रै राखेर आगो लगाइदिएकाले गाडीसँगै आफूलाई पनि जलाउने योजना बनाएको हुनसक्ने उनले बताएका छन् । ‘गाडी जल्यो, अब कमाइ पनि बन्द भयो । के खाने भन्ने समस्याले हामी पीडित हुन पुगेका छौं,’ श्रेष्ठले भने ।
उनका अनुसार बिहीवार बन्द भन्ने थाहै नपाएकाले बिहानै गाडी निकालेका थिए । गोंगबुबाट मानिसहरु थापाथली पुर्याएर फेरि गोंगबु फर्केपछि घटना भएको उनले बताए ।
‘रत्नपार्कमा गाडीहरु टन्नै चलेका थिए त्यसैले बन्द छ भन्ने केही सोच्ने र थाहा पाउने अवस्था नै थिएन । अन्यायमा परियो, गाडी जलाउनेलाई कारबाही पनि नहुने भयो,’ श्रेष्ठले भने । श्रेष्ठका अनुसार गाडी जलाउने ती युवा मोटरसाइकल चढेर भागेका हुन् ।
‘म सामान्य मजदुर हो, गाडी साहुलाई मैले ट्याक्सी निकालेको पनि थाहा थिएन । जलेको थाहा भएपछि किन निकालेको भनेर उल्टै हप्काए । अहिले म केही सोच्न सकिरहेको छैन, मेरा बालबच्चा पाल्ने अरू कुनै उपाय छैन,’ श्रेष्ठले भने, ‘देशका लागि आन्दोलन गरेको भन्नेहरुले म जस्तो गरीब मजदुरको ट्याक्सी जलाएर के पाए ? उनीहरुलाई कुर्सी पाउनका लागि हामी जस्ताले कहिलेसम्म यस्तो अन्याय र अत्याचार सहने हो ?’ आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।