काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक निकायमा बलमिच्याइँ गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–नेपाल पक्षले आज बिहीबार देशव्यापी आमहड्ताल आह्वान गरेको छ ।
ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा नियुक्त गरेकी छन् ।
सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानूनी रुपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै प्रचण्ड–नेपाल पक्षले आकस्मिक रूपमा देशव्यापी आमहड्ताल घोषणा गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायमा गरिएको नियुक्ति बलमिच्याइँ र निरंकुशतन्त्रको पराकाष्ट भएको बताए ।
नियुक्तिको विरोधमा आमहड्ताल गर्नु बाध्यता भएको भन्दै श्रेष्ठले भने, ‘केही असहज स्थिति हुनेछ, यसका निम्ति पार्टीको तर्फबाट क्षमायाचना गरेका छौं ।’
संविधान र लोकतन्त्रको रक्षाका लागि हड्तालको स्वरूपको संघर्ष गर्नुपर्ने अवस्था आएको श्रेष्ठले बताएका छन् ।
हड्तालका क्रममा अत्यावश्यक सेवाका साथै परीक्षामा अवरोध नगर्ने समेत संघर्ष समितिका सहसंयोजक पम्फा भुसालले जानकारी दिइन् । परीक्षा दिन जाने विद्यार्थीले प्रवेशपत्र देखाएर आफ्नो सवारीसाधन ल्याउन पाउने संघर्ष समितिले जानकारी दिएको छ ।
संयोजक श्रेष्ठले माघ २८ गते काठमाडौंमा जनसभा गर्ने कार्यक्रम यथावत नै राखिएको बताएका छन् ।
पढ्नुहोस् प्रेस विज्ञप्तिको –


तर सरकारले भने सबै क्षेत्र खुला राखेर पूर्ववत् रूपमै सञ्चालन गर्न आह्वान गरेको छ । गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले सुरक्षा व्यवस्था मिलाउने जनाउँदै सबै क्षेत्र खुला राख्न आग्रह गरेको छ ।
पढ्नुहोस् गृह मन्त्रालयको विज्ञप्ति –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।