काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड–नेपाल पक्षले एकअर्काविरुद्ध काउन्टर आमसभा गर्न थालेका छन् ।
प्रचण्ड–नेपाल पक्षले राजधानीमा शुक्रवार विशाल आमसभा गरेपछि ओली समूहले पनि बागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते काउन्टर आमसभा गर्ने भएको छ ।
प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–नेपाल पक्षले देशभर विभिन्न कार्यक्रमसहित आमसभा गर्न थालेपछि ओली समूहले पनि काउन्टरमा त्यस्तै प्रकृतिका कार्यक्रम तय गरेको हो ।
बागमती प्रदेशको आयोजनामा हुने आमसभामा देशभरबाटै नेता–कार्यकर्ता सहभागी हुने ओली पक्षले जनाएको छ । ओली समूहले सबै सम्पर्क मञ्च, जनवर्गीय संगठनलाई आमसभामा सहभागी हुन निर्देशन दिएको छ । ओली पक्षले प्रचण्ड–नेपालको आमसभालाई काउन्टर दिने उद्देश्यले आयोजना गर्न लागिएको हो । तर ओली पक्षका बागमती प्रदेश अध्यक्ष आनन्द पोखरेलले यो काउन्टर आमसभा नभएको बताए ।
‘हाम्रो राजनीतिक उद्देश्य र मूल्यमान्यता जनतालाई जानकारी गराउने हेतुले कार्यक्रम गर्न लागिएको हो । काउन्टर आमसभा होइन,’ आमसभा आयोजक समेत रहेका पोखरेलले भनेका छन् । उनका अनुसार यस्ता सभाले राजनीतिक उद्देश्य बोकेका कारण यसलाई काउन्टर भन्ने शब्द प्रयोग गर्नु हुँदैन ।
‘उहाँहरुसँग हामीले प्रतिस्पर्धा नै गर्नु छैन । उहाँहरु निर्वाचनबाट भाग्दै हुनुहुन्छ भने कसरी काउन्टर हुन्छ ? यो त स्वाभाविक आमसभा हो,’ पोखरेलले भनेका छन् ।
पोखरेलका अनुसार अराजकताको अन्त्य, संविधान र राष्ट्रिय स्वाधीनताको रक्षा, नेपाली भूमिबाट विदेशी सेना हटाउने अभियान तथा विदेशी सेनामुक्त नेपाल बनाउने अभियानका साथ आमसभा हुन लागेको छ । ‘हामीले माघ ६ गते बागमती प्रदेशको चौथो बैठकबाट माघ २३ गते आमसभा गर्ने निर्णय गरेको हो । यो काउन्टर होइन, हामी कसैलाई काउन्टर दिन चाहँदैनौं । उहाँहरुसँग प्रतिस्पर्धा गर्नु छैन । उहाँहरुलाई जनादेशमा जानु नै छैन । अनि कसरी प्रतिस्पर्धा हुन्छ र ?’ पोखरेलले भने, ‘यो आमसभाबाट राजनीतिक सन्देश दिनु छ । जनतालाई पार्टीको आगामी रोडम्याप जानकारी दिनु छ । मूलतः राजनीतिक स्वाधीनताको रक्षा तथा नेपाली भूमिबाट विदेशी सेना हटाउनु छ । संविधानको रक्षा गर्नु छ । राजनीतिक स्थायित्वका लागि ताजा जनादेशमा जानु छ ।’ पोखरेलले आमसभाको तयारी माघ ६ गतेबाटै सुरू गरेको बताएका छन् ।
आयोजकका अनुसार पार्टीका सबै तहका नेता–कार्यकर्ता, जनवर्गीय संगठन, शुभेच्छुक र सर्वसाधारण आमसभाका सहभागी हुनेछन् । आमसभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेलले सम्बोधन गर्नेछन् । ओलीले प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको आमसभालाई ‘केही साना गल्लीमा मान्छे राखेर भीड देखाएको’ टिप्पणी गरेका थिए ।
‘आमसभा के हो, वास्तविक जनप्रदर्शन कस्तो हुन्छ, भन्ने हामी २३ गते गरेर देखाउँछौं । वास्तविक जनपरिचालन कस्तो हुन्छ भन्ने कुराको कास्टिङ त्यो बेला देखाउँछौं,’ प्रधानमन्त्री ओलीले शुक्रवार भनेका थिए ।
प्रचण्ड–नेपाल पक्षले प्रदेशस्तरीय आमसभालाई महत्त्व दिँदै आएको छ । यो पक्षले अब विराटनगरमा आमसभाको तयारी गरिरहेको छ । सो समूहले वडा तहमा पनि विभिन्न सभाहरु गरिरहेको छ । ओली पक्षले भने जिल्लाव्यापी सभा गर्दै आएको छ ।
दुबै पक्षले आ–आफ्नो पक्षमा नेता–कार्यकर्ता तान्न सभा र बैठक गरिरहेका छन् । प्रचण्ड–नेपाल पक्षले प्रदेशस्तरीय आमसभा गरेपछि ओली समूहले काठमाडौंमा सभा गर्न लागेको हो । ओली पक्षले पार्टीका कमिटीहरु पुनर्गठन पनि एकसाथ गर्दै लगेको छ ।
विशेषगरी पूर्व माओवादी पक्ष र पूर्व लडाकुहरुलाई ओली पक्षले आफ्नो पक्षमा तान्न विभिन्न सरकारी कार्यक्रम अघि सारेको छ । प्रचण्ड–नेपाल पक्ष भने ओली पक्षले सरकारमा बसेर केही गर्न नसकेको, संविधानको रक्षा गर्न नसकेको र व्यवस्थामाथि नै चुनौती दिएको भन्दै कार्यकर्तामाझ पुगेको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।