काठमाडौं – तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा लडेका लडाकुलाई केन्द्रित गरी सरकारले विशेष कार्यक्रम ल्याउने भएको छ ।
पूर्व लडाकुका दुवै संगठन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा समाहित भई आफूहरुको हकहितका लागि विशेष कार्यक्रम ल्याउन प्रधानमन्त्रीसँग आग्रह गरेपछि प्रधानमन्त्री ओली कार्यक्रम ल्याउन सहमत भएका हुन् ।
शनिवार तत्कालीन माओवादीका लडाकुहरुको संगठन पूर्वजनमुक्ति सेना तथा बहिर्गमित बाल सेना संगठनका पदाधिकारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको छ ।
नेकपा प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्य लीलबहादुर थापासहित पूर्वलडाकु कमान्डरहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओली नेतृत्वमा समाहित भएको घोषणा गरेका छन् । पूर्वलडाकु संगठनका अध्यक्ष टुकबहादुर थापा ‘अर्जुन’ र बहिर्गमित बाल सैनिक संगठनका लेनिन विष्ट सहितका पदाधिकारीले ओली पक्षमा लागेको घोषणा गरेका छन् ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले पूर्व जनमुक्ति सेनाका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए । ओलीले विगतमा नेतृत्वले गरेको गल्ती आफूले नगर्ने बताउँदै भने, ‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाईंहरूको भावनाको दुरूपयोग गर्यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, मबाट कहिल्यै गल्ती हुने छैन ।’
‘तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन,’ प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै प्रेस सल्लाहकार सूर्य थापाले भने ।
प्रधानमन्त्री ओलीले पूर्वजनमुक्ति सेनाका कमान्डरले ‘जनयुद्ध’का क्रममा खेलेको भूमिकाको प्रशंसा गरेका छन् । पूर्व लडाकुको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान व्यक्त गर्दै पार्टी र सरकारले उनीहरुको समस्या समाधान गर्ने बताए ।
पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपा २ समूहमा विभाजित भएको छ । एक पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले र अर्को पक्षको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरिरहेका छन् । पार्टी विभाजन भएपछि नेकपा नेताहरुको तानातान छ ।
प्रतिनिधिसभा विघटनपछि ओली पक्ष निर्वाचनको तयारीमा जुटेको छ । यता प्रचण्ड–नेपाल पक्ष प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आन्दोलनमा छ । पार्टी विभाजन भएपछि पूर्व माओवादीका शीर्ष नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्ट लगायतका नेताहरु ओली पक्षको नेकपामा छन् । उनीहरुले समेत पूर्व माओवादी पृष्ठभूमिका नेताहरुलाई ओली समूहमा तानिरहेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।