काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रवार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।
सो प्रदर्शनमा देशभरबाट मानिस सहभागी गराइएको छ । पुस ५ गते प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेपछि त्यसविरुद्ध प्रचण्ड–नेपाल पक्षले आन्दोलन गर्दै आइरहेको छ ।
दोस्रो चरणको आन्दोलनअन्तर्गत प्रचण्ड–नेपाल पक्षले हजारौंको सहभागितामा काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूले सडकबाटै प्रधानमन्त्री ओलीलाई हटाउने चेतावनी दिए ।
सम्बोधनका क्रममा शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीको चर्को विरोध गरे । धेरै नेताले मुलुकको समृद्धि र विकासका कुरा गर्नुभन्दा प्रधानमन्त्री ओलीलाई गाली गर्नमा नै धेरै समय व्यतीत गरेका छन् ।
माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका लगायतका स्थानबाट जुलुस निकालिएको थियो । जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, शहीदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले ३ वर्षमा ओलीलाई तह लगाउन नसकेको भन्दै आत्मालोचना गरेका छन् । आफूले ओलीलाई सुधार्न नसकेको भन्दै आत्मालोचना गरेका दाहालले ओली प्रवृत्ति स्वीकार गर्ने भुल आगामी दिनमा नगर्ने प्रतिबद्धता जनाएका छन् ।
आफूहरूको उदारतालाई कमजोरी ठानेर ओली अगाडि बढेकाले आफूहरू जनताका बीचमा आउनुपरेको उनले बताए । ओलीले निरंकुशवाद र अराजकता लादेर संघीयतामाथि नै प्रश्नचिह्न सिर्जना गर्ने काम गरेको आरोप प्रचण्डले लगाए ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको सर्वसत्तावाद, निरंकुशवाद, अराजकता र असंवैधानिक कदम स्थापित गर्न खोजिए शान्ति प्रक्रिया भंग हुने चेतावनी समेत दिए ।
नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री ओली हिटलरको संस्करण भएको टिप्पणी गरेका छन् ।
ओलीप्रति अब कोही पनि नतमस्तक नहुने बताउँदै नेपालले नेपाली जनता स्वाभिमानी भएको बताए । संविधानले विधिको आधारमा देश चल्ने बताए पनि अहिले देश विधिविपरीत चलाउन खोजिएको आरोप नेपालले लगाए ।
सभालाई सम्बोधन गर्दै नेकपा वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफूहरूले ओलीलाई पार्टीबाट निष्कासन गरेको जानकारी गराए । खनालले ओलीले घुँडा नटेकेसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।
नेकपा स्थायी कमिटीका सदस्य एवं पूर्व मन्त्री घनश्याम भुसालले प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदमलाई परास्त गरेरै छोडिने दाबी गरे ।
अदालतलाई धम्की नदेऊ : ओली
काठमाडौंमा शुक्रवार पेशागत विशेष जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल पक्षले शान्ति प्रक्रिया भंग हुन सक्ने चेतावनी दिएर सर्वोच्च अदालतलाई धम्काउन खोजेको भन्दै विरोध जनाएका छन् । उनले लोकतन्त्रमा अदालतलाई धम्काउने कार्य अस्वीकार्य र अलोकतान्त्रिक भएको बताए ।
प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल पक्षले मुलुकको विकास र समृद्धिको विषयमा चर्चा गर्न छोडेर गालीगलौज र उद्दण्डता प्रदर्शन गरिरहेको आरोप लगाए । ‘उनीहरुलाई कहिल्यै पनि विकास र समृद्धिको विषयमा कुरा गर्ने फुर्सद छैन, खाली पद, सत्ता र शक्तिकै लागि मरिहत्ते गरिरहेका छन् तर उनीहरूको त्यस्तो चाहना पूरा हुँदैन,’ ओलीले भने ।
माघ २३ गते काठमाडौंमा आमसभा गर्ने घोषणा गर्दै ओलीले भने, ‘शुक्रवारको जनसभा हेरियो, खुट्टी देख्दै चाल पाइयो । आमसभा कस्तो हुन्छ भन्ने कुरा माघ २३ गते हेर्नुहोला, हामी देखाइदिनेछौं ।’
प्रधानमन्त्री ओलीले साँघुरा गल्लीमा मान्छे भर्दैमा आमसभा नहुने जिकिर गरे । उनले अदालतलाई नधम्क्याउन आन्दोलनरत पक्षलाई चेतावनी समेत दिएका छन् । प्रतिनिधिसभा पुनःस्थापनाको व्यवस्था संविधानमा नभएकाले अदालतलाई धम्की दिँदैमा उनीहरूको नाजायज माग पूरा नहुने उनले बताए ।
पार्टी र सरकारलाई कमजोर धरातलको संयुक्त मोर्चा जस्तो स्थितिमा पुर्याउनेहरू आफैं पार्टी छाडेर गएको बताउँदै उनले अब पार्टी शुद्धीकरण र देशव्यापी अभियानका साथ परिचालित हुने बताए । प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनको समयमा तत्कालीन अवस्थामा विधानमा संवैधानिक राजतन्त्रको वकालत गरिरहेको नेपाली कांग्रेससँग आफ्नो पार्टीले संयुक्त आन्दोलन गरिरहेको स्थितिमा ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भनी दिएको अभिव्यक्तिलाई अहिले गलत व्याख्या गरिएको प्रष्ट पारेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।