काठमाडौं – विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफू नराम्ररी हारेको स्वीकारेका छन् ।
नेकपा प्रचण्ड–नेपाल पक्षले शुक्रवार काठमाडौंमा गरेको विरोध कार्यक्रममा उनले ओलीको गलत प्रवृत्तिलाई तह लगाउन नसकेकामा आत्मालोचना समेत गरे । उनले वाम गठबन्धनको घोषणा अनुसार काम गर्न नसकेको समेत स्वीकार गरेका छन् ।
‘प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको देखियो,’ उनले कार्यक्रममा भने, ‘केपी ओलीलाई तह लगाउन सकेनौं । यसमा हाम्रो पनि कमजोरी रह्यो ।’
प्रचण्डले थपे, ‘केपी ओलीलाई मात्र दोष दिएर हामी चोखै हुन्छौं भन्ने लागेको छैन । अब केपी प्रवृत्तिप्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने र उनको प्रवृत्तिलाई काम गर्न दिने भूल गर्ने छैनौं । त्यसो गरेर फाइदा हुने रहेछ ।’
कार्यक्रममा प्रचण्डले सर्वाेच्च अदालततिर लक्षित गर्दै देशलाई बर्बाद पार्न कसैले पनि भूमिका खेल्न नहुने अभिव्यक्ति दिएका छन् ।
ओलीको निरंकुश कदमलाई अदालतबाट सही ठहर्याउने काम भयो भने शान्ति प्रक्रिया डिरेल हुने चेतावनी प्रचण्डले दिए । ‘यो देशलाई बर्बाद पार्न भूमिका नखेलौं,’ उनले भने ।
प्रचण्ड–नेपाल पक्षको कार्यक्रमको केही घण्टामै काठमाडौंको बबरमहलमा आयोजित पेशागत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जवाफ फर्काएका छन् ।
ओलीले शुक्रवारको शक्ति प्रदर्शनलाई सामान्य भनेका छन् । उनले भने, ‘वास्तविक जनप्रदर्शन कस्तो हुन्छ हामी २३ गते गरेर देखाउँछौं ।’
प्रचण्ड–नेपाल पक्षले गरेको सभालाई व्यंग्य गर्दै उनले भने, ‘खुट्टी देखेरै पत्याइयो । उहाँहरूको सभामा हामीभन्दा अलिकति बढी मान्छे रहेछ, देशभरबाट अलिअलि मान्छे जम्मा गरेछन् ।’
ओलीले संसद पुनःस्थापनाबारे अदालतलाई धम्की नदिन समेत चेतावनी दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।