मंगलवार, चैत्र ६ २०८०Mar 19 2024

Logo
images

नेकपाभित्र बादल र राईले ल्याएको यत्रो उथलपुथल, ओली वा प्रचण्ड–नेपाल कसलाई फाइदा ? 

नेकपाभित्र बादल र राईले ल्याएको यत्रो उथलपुथल, ओली वा प्रचण्ड–नेपाल कसलाई फाइदा ? 

  • मिडिया डबली
  • मंगलवार, माघ ६ २०७७


  • नेकपाभित्र बादल र राईले ल्याएको यत्रो उथलपुथल, ओली वा प्रचण्ड–नेपाल कसलाई फाइदा ? 

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि ओली पक्ष र प्रचण्ड–नेपाल पक्ष एकअर्काका नेता कार्यकर्ता तान्ने रणनीतिमा लागेका छन् ।

    पार्टी विभाजनपछि अलमलमा परेका नेता कार्यकर्तालाई केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षले आ–आफ्नो पक्षमा ल्याउन केन्द्रदेखि नै बल प्रयोग गरिरहेका छन् ।

    images
    images
    images

    ओली पक्षले नेता कार्यकर्तालाई आफूतिर तान्न केन्द्रीय सदस्य बनाउनेसम्मको प्रलोभन दिएको छ । प्रचण्ड–नेपाल पक्षले पनि उचित जिम्मेवारी दिने र भरसक नेता कार्यकर्तालाई ओलीतिर जान नदिने रणनीति लिएको छ ।

    तानातानको होड चलिरहेकै बेला ओली पक्षले १ नम्बर प्रदेशमा मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ५ सांसदलाई आफ्नो पक्षमा ल्याएको छ । जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, कला घले र वसन्तीदेवी यादवलाई ओली पक्षले आफूतिर ल्याएको छ । ओली पक्षमा फर्किएका उनीहरुले आफ्नै पार्टी नेकपाको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु उपयुक्त नभएको भन्दै हस्ताक्षर फिर्ता लिएको जनाएका छन् ।

    सोमवार सोलुखुम्बु पुगेर गृहमन्त्री रामबहादुुर थापा ‘प्रचण्ड’ले पूर्व माओवादी पक्षका नेताहरु महेश किराँती, शिशिर राई र श्याम क्षेत्रीलाई ओली पक्षमा प्रवेश गराएका छन् । ओली पक्षको ध्यान अहिले युवा कार्यकर्तालाई आफ्नो पकडमा ल्याएर नेतृत्व दिनेतिर छ । रामेछापका पुराना तथा लोकप्रिय नेताहरू प्रचण्ड–नेपाल पक्षमा लागेपछि ओली पक्षले युवा पुस्ताका २ नेता आनन्द श्रेष्ठ र पुरुषोत्तम कडरियालाई जिम्मेवारी दिएको छ । कडरिया तत्कालीन एमालेमा नेपाल पक्षमा थिए ।

    प्रचण्ड–नेपाल पक्षले विगतमा जिम्मेवारी नपाएका नेता कार्यकर्तालाई जिम्मेवारी दिएर ओली खेमामा जानबाट रोक्ने रणनीति लिएको छ । ओली पक्षले लुम्बिनी प्रदेशबाट भगवतीदेवी भण्डारी, बृहस्पति अधिकारी, तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरी लगायतलाई केन्द्रीय सदस्य बनाएको थियो । तर उनीहरू अहिले प्रचण्ड–नेपाल पक्षमा लागेका छन् । २ नम्बर प्रदेश २ का नेताहरु सुन्दर विश्वकर्मा र कमलेश झा पनि ओली पक्षबाट प्रचण्ड–नेपाल पक्षमा लागेका छन् ।

    हुम्लाका सांसद छक्कबहादुर लामा पनि ओली पक्ष छाडेर प्रचण्ड–नेपाल पक्षमा पुगेका छन् । अछामका भैरे कामी र यज्ञ बोगटी, पाल्पाकी देवी बस्याल पनि ओली पक्ष त्यागेर प्रचण्ड–नेपाल पक्षमा लागेका छन् । खोटाङका राम दंगाल भने प्रचण्ड–नेपाल पक्ष छाडेर ओली पक्षमा गएर जिल्ला कमिटीको अध्यक्ष भएका छन् ।

    प्रचण्ड–नेपाल पक्षमा धेरै नेता कार्यकर्ता गएपछि ओली पक्षले गृहमन्त्री थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, खेलकुदमन्त्री दावा लामा र पूर्व माओवादीबाट केन्द्रीय सदस्य भएका नेताहरूको सहयोगमा पूर्व माओवादी र पूर्व लडाकुलाई आफ्नो पक्षमा तान्ने कोसिस गरिरहेको छ । ओली पक्षले पूर्व माओवादीका नेता कार्यकर्तालाई पार्टीको जिम्मेवारी दिने रणनीति बनाएको छ । 

    ओली पक्षले पूर्व एमाले नेता कार्यकर्ता समेट्न हरेक कमिटीमा छुट्टाछुट्टै समिति बनाएको छ ।

    प्रचण्ड–नेपाल पक्षको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनमानसमा भ्रम फैलाएको भन्दै त्यसलाई चिर्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । अध्यक्ष नेपाल र प्रचण्डले सोमवार कार्यकर्तालाई अपिल गर्दै ओलीका भ्रम चिर्न निर्देशन गरेका हुन् ।

    संविधानमाथि ‘कू’ गरी प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले उल्टै भ्रम छर्न खोजेकाले त्यसको भण्डाफोर गरी अघि बढ्न प्रचण्ड–नेपालले निर्देशन गरेका छन् । प्रचण्ड–नेपालले ओलीले संविधानको गलत व्याख्या गरेको बताएका छन् ।

    ‘ओलीले दाबी गरेजस्तो प्रतिनिधिसभा जुनसुकै बेला विघटन गर्न पाउने विशेषाधिकार प्रधानमन्त्रीलाई यो संविधानले दिएको छैन । तर प्रधानमन्त्रीले सोह्रै आना झूट बोलेर संविधानको गलत व्याख्या र परिभाषा गर्दै हिँडिरहेका छन् । आफूमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम चालेका छन्,’ अपिलमा उल्लेख छ ।

    अपिलमा २०७७ पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक घोषणापछि देशको राजनीति र नेकपाको संगठनात्मक जीवनमा गम्भीर समस्या उत्पन्न भएको उल्लेख गरिएको छ । ‘केपी ओलीद्वारा चालिएको असंवैधानिक कदमले संविधानको मूल मर्म र भावनामा प्रहार गरेको छ । अहिले यो विषय सर्वोच्च अदालतमा विचाराधीन छ । सर्वोच्च अदालतले संविधानको अक्षर, मूल मर्म र भावनालाई गहिरोसँग आत्मसात् गरी संविधानसम्मत् फैसला नगरेसम्म नेपालको संविधान कार्यान्वयनमा अवरोध उत्पन्न भएको अवस्था छ । असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गर्ने कामको पक्षमा प्रधानमन्त्री केपी ओली र उनलाई साथ दिने मानिसले जेजस्ता तर्क गरिरहेका भए पनि यो सरासर प्रतिगमन हो, संविधान, लोकतन्त्र र संघीय गणतन्त्रमाथि गरिएको निर्मम प्रहार हो, देश र जनताको भाग्य एवं भविष्यमाथि गरिएको कुठाराघात हो, कम्युनिष्ट पार्टी र यसको आदर्श तथा लोकतान्त्रिक मूल्यमान्यताप्रति गरिएको गम्भीर षड्यन्त्र हो भन्ने कुरा स्पष्ट छ,’ अपिलमा उल्लेख छ ।

    राष्ट्रपतिले पनि देश, जनता र संविधानमाथि के कस्तो आघात पर्छ भन्ने सोच्दै नसोची प्रधानमन्त्री ओलीको सिफारिसलाई सदर गरेको भन्दै प्रचण्ड–नेपालले आपत्ति जनाएका छन् ।

    नेकपा प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाट हटाउन सोधेको स्पष्टीकरण पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको गेटमा बुझाएको छ । नेकपा प्रचण्ड–नेपाल पक्षको शुक्रवार बसेको स्थायी कमिटी बैठकले ओलीले पार्टीको विधान, उद्देश्य र लक्ष्यविपरीत काम गरेको भन्दै उनलाई ‘पार्टी सदस्यबाट किन नहटाउने’ भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

    सोही व्यहोरा सहितको पत्र सो पक्षले सोमवार बालुवाटार गेटमा लगेर छाडेको हो । सो पत्र बोकेर सोमवार स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल बालुवाटार पुगेका थिए ।  

    पार्टी अनुशासन उल्लंघन गरेको आरोपसहित ओलीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने प्रक्रिया अन्र्तगत स्पष्टीकरण सोधिएको हो । पार्टी विधानमा कुनै पनि सदस्यलाई अन्तिम कारबाही गर्नुभन्दा अगाडि एक पटक स्पष्टीकरणको मौका दिइनेछ भन्ने व्यवस्था भएबमोजिम ओलीलाई पत्र काटिएको हो । सो पत्र पाएको ३ दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ । ओलीले स्पष्टीकरण नबुझाए उनलाई पार्टी सदस्यबाटै हटाउने प्रचण्ड–नेपाल पक्षको तयारी छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend