शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

प्रदेश सरकारमा कांग्रेस ओली वा प्रचण्ड कुन पक्षसँग मिल्ने ? यस्तो निर्णय लिने तयारी

प्रदेश सरकारमा कांग्रेस ओली वा प्रचण्ड कुन पक्षसँग मिल्ने ? यस्तो निर्णय लिने तयारी

  • मिडिया डबली
  • मंगलवार, माघ ६ २०७७

  • 7.3K
    SHARES

  • प्रदेश सरकारमा कांग्रेस ओली वा प्रचण्ड कुन पक्षसँग मिल्ने ? यस्तो निर्णय लिने तयारी

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण केन्द्रदेखि प्रदेशसम्म देखिएको अस्थिरतामा नेपाली कांग्रेसले नीतिगत निर्णय गरेर अघि बढ्ने भएको छ ।

    नेकपाभित्रको आन्तरिक विवादका कारण प्रदेश सरकारमाथि एकले अर्को पक्षमाथि अविश्वासको प्रस्ताव दर्ता गर्ने क्रम जारी रहेका बेला कांग्रेसले प्रदेशहरुमा कोसँग सहकार्य गर्ने वा कसलाई सहयोग गर्ने भन्नेमा पार्टीले नीतिगत निर्णय लिने भएको छ ।

    प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका विषयमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच एक मत नदेखिएका बेला कांग्रेसले प्रदेश सरकारमा सहभागिता र सहयोगका विषयमा समझदारी निर्माण गरेर अघि बढ्ने भएको छ ।

    नेता पौडेललाई भेट्न सभापति देउवा सोमवार उनकै निवास बोहोराटार पुगेका थिए । २ नेताबीच झण्डै डेढ घण्टा लामो भेटमा नेकपाभित्र देखिएको विवादले प्रदेश सरकारमा पनि उत्पन्न भएको समस्याका विषयमा कसरी अघि बढ्ने भन्नेमा छलफल भएको थियो ।

    नेता पौडेलसँगको भेटमा सभापति देउवाले प्रदेशहरुको आवश्यकता र अनुकूलताअनुसार सहकार्य गर्न सम्बन्धित प्रदेशलाई नै अधिकार दिएर जाने धारणा राखेका थिए । स्थानीय आवश्यकताअनुसार प्रदेश संसदीय दलले नै निर्णय गर्दा उपयुक्त हुने भन्दै देउवाले सोही अनुसार गर्नु राम्रो हुने तर्क गरेको स्रोतको दाबी छ । तर नेता पौडेलले भने पार्टीले नीतिगत निर्णय नलिँदा अराजकता बढ्ने तर्क गरेका छन् ।

    केन्द्रीय कार्यसमिति वा प्रभावशाली नेताहरुको बैठकले भने पनि प्रदेश सरकारमा सहकार्यका विषयमा पार्टीले नीति निर्माण गर्नुपर्ने धारणा पौडेलले राखेका छन् । त्यस विषयमा थप छलफल गरेर अघि बढ्ने २ नेताबीच समझदारी निर्माण भएको स्रोतले जनाएको छ ।

    भेटमा प्रतिनिधिसभा विघटनका विषयमा २ नेताबीच बाहिर फरक धारणा गएको जस्तो देखिएको भन्दै सभापति देउवाले अदालतले गर्ने निर्णयलाई पार्टीले स्वीकार गरेर अघि बढ्नुपर्ने दोहोर्‍याएका छन् । प्रधानमन्त्री ओलीले संविधानमा नभएको व्यवस्थाविपरीत प्रतिनिधिसभा विघटन गरेको दोहोर्‍याउँदै नेता पौडेलले संविधानको रक्षामा उभिनुपर्ने र कांग्रेस विधिरक्षाका लागि छ भन्ने भरोसा जनतालाई दिनुपर्ने धारणा राखेका छन् ।

    भेटमा २ नेताबीच पार्टीको १४ औं महाधिवेशनको नयाँ कार्यतालिका, क्रियाशील सदस्यता वितरण र नवीकरणका साथै छानबिन समिति गठनका विषयमा पनि छलफल भएको थियो । सदस्यता छानविन समितिको संयोजक नरहरि आचार्यलाई बनाउन दुबै पक्ष सहमत देखिए पनि उनले स्वास्थ्य अवस्थाका कारण नसक्ने जनाएका छन् । आचार्यले समिति संयोजक बस्न अस्वीकार गरेपछि सभापति देउवाले रमेश लेखकको नाम प्रस्ताव गरे पनि सहमति जुट्न बाँकी छ ।

    पार्टीको संगठन समायोजनका विषयमा सिन्धुपाल्चो कसहितका जिल्लामा देखिएका विवाद समाधानका विषयमा पनि भेटमा कुराकानी भएको छ । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले पार्टीको १४ औं महाधिवेशनसँग सम्बन्धित विषय र पछिल्लो राजनीतिक घटनाक्रमबारे २ नेताबीच छलफल भएको बताए ।

    ‘अहिलेको अवस्थामा कसरी जाने भन्ने विषयमा नेता पौडेलसँग छलफल गर्न उहाँ जानुभएको हो,’ स्वकीय सचिव देउवाले भने, ‘अन्य केही विशेष होइन । पार्टीभित्रको आन्तरिक कुराकानीमा छलफल भएको छ ।’

    नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले पनि प्रतिनिधिसभा विघटनपछि मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा सभापति देउवा र नेता पौडेलबीच कुराकानी भएको बताए । ‘पार्टी सभापति र वरिष्ठ नेता बीचको छलफलमा पार्टी र मुलुकको समग्र राजनीतिक अवस्थाबारे छलफल र कुराकानी हुनु अस्वाभाविक होइन,’ उनले भने । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०३:०५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend