शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

प्रचण्डसँग शेरबहादुर देउवाले आधिकारिक प्रमाण मागेपछि ... दुवै हातमा लड्डु !

प्रचण्डसँग शेरबहादुर देउवाले आधिकारिक प्रमाण मागेपछि ... दुवै हातमा लड्डु !

  • मिडिया डबली
  • शुक्रवार, माघ २ २०७७

  • 6.4K
    SHARES

  • प्रचण्डसँग शेरबहादुर देउवाले आधिकारिक प्रमाण मागेपछि ... दुवै हातमा लड्डु !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुबै पक्षले सत्ता साझेदारीसहित सहकार्यको ‘अफर’ गरे पनि तत्काललाई कांग्रेस तटस्थ बस्ने भएको छ ।

    कांग्रेसले सहकार्यका लागि पहिला नेकपा विभाजनको आधिकारिक प्रमाण खोजेको छ । संसद् विघटनसँगै प्राविधिक रुपमा विभाजित नेकपाको वैधानिकताको कानूनी लडाइँ निर्वाचन आयोगमा विचाराधीन छ । 

    नेकपाको ओली र प्रचण्ड–नेपाल दुबै पक्षले सहकार्यको प्रस्ताव ल्याए पनि कांग्रेस सभापति शेरबहादुर देउवाले भने फूटको आधिकारिकता हुँदासम्म औपचारिक रुपमा कसैसँग पनि सहकार्यको निर्णय नलिने स्पष्ट पारेका छन् ।

    संसद् विघटनपछि प्रचण्ड–नेपाल पक्षले सडक संघर्षमा सहकार्यको प्रस्ताव गरे पनि कांग्रेसले एकल आन्दोलन गरिरहेको छ । संसद् विघटनपछि सम्भावित समीकरणलाई लिएर नेकपाको प्रचण्ड–नेपाल पक्षसँग देउवाले बुधवार पहिलो भेटवार्ता गरे । छलफलमा प्रचण्ड–नेपाल पक्षले संसद् विघटनविरुद्ध संयुक्त संघर्षदेखि देउवा नै प्रधानमन्त्री बन्ने गरी सत्ता–सहकार्यसम्मको प्रस्ताव राखेका थिए ।

    बुधवार साँझ ५ बजे देउवा निवास पुगेका नेकपाका २ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले संसद् पुनःस्थापना हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिमा पनि कांग्रेससँग सहकार्यको प्रस्ताव गरेका थिए । करीब २ घण्टासम्मको संवादमा प्रचण्ड–नेपालले संसद् विघटनविरुद्ध संयुक्त संघर्षदेखि देउवा नै प्रधानमन्त्री बन्ने गरी सत्ता–सहकार्यसम्मको प्रस्ताव गरेका थिए । 

    यसबाहेक प्रचण्डले देउवालाई चुनावमा जोड दिनुको कारण सोधेका थिए । जवाफमा देउवाले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर असंवैधानिक काम गरेको भए पनि चुनावमा जानु लोकतान्त्रिक विधि भएको बताएका थिए । भेटमा प्रचण्डले कांग्रेसले पनि प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डा बनाउन आग्रह गरेको कांग्रेस नेता रमेश लेखकले बताएका छन् । नेता लेखकका अनुसार सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय आएर स्पष्ट नहुँदासम्म कांग्रेसले नेकपासँग सहकार्य गर्दैन । 

    ‘त्यसका लागि संयुक्त आन्दोलन गरौं र त्यसपछिका सम्भावित सबै राजनीतिक मुद्दामा सहकार्य गरौं,’ भन्ने प्रचण्डको अर्को प्रस्ताव थियो । जवाफमा देउवाले अदालतलाई प्रभाव पार्ने गरी संसद् पुनःस्थापनाका पक्षमा बोल्न नहुने धारणा राखेका थिए ।

    ‘तपाईंहरूसँग मिलेर आन्दोलन गर्न सक्दैनौं, तपाईंहरू नै सरकारमा हुनुहुन्छ, तपाईंहरूकै पार्टीले संसद् विघटन गर्छ, अनि फेरि तपाईंहरू नै संयुक्त आन्दोलनका लागि सहकार्य गरौं भन्नुहुन्छ, यो कसरी सम्भव छ ?’ देउवाको भनाइ उद्धृत गर्दै कांग्रेस नेता लेखकले भने, ‘पहिला तपाईंहरूको विवाद वारपार हुनुपर्‍यो नि !’ 

    अहिले देउवालाई संसद पुनःस्थापना भए वा नभए दुबै परिस्थितिमा दुबै हातमा लड्डु पर्ने अवस्था छ । संसद् पुनःस्थापना भए पनि नेकपा विवादका कारण संसद्को अंकगणितबाटै देउवा पाँचौंपटक मुलुकको ‘प्रधानमन्त्री’ बन्न सक्छन् । कारणवश संसद् पुनःस्थापना नभए निर्वाचनबाटै पार्टीले सरकारको नेतृत्व हासिल गर्न सक्ने कांग्रेसको ठहर छ । त्यसैले देउवा नेकपाको औपचारिक विभाजनको घोषणा पर्खाइमा छन् । 

    देउवानिकट केन्द्रीय सदस्य लेखक नेकपाका दुबै पक्षबाट सत्ताको नेतृत्वको अफर आएको स्वीकार्छन् । तर नेकपा फुटको आधिकारिकता नभएसम्म देउवा यो वा त्यो गुटको समर्थनको पक्षमा छैनन् । ‘यो देशमा नेकपा भन्ने पार्टी छ, जो सरकारमा छ, एउटा पक्ष सरकारमा छ, अर्को विरुद्धमा छ, दुबै पक्षले हामीलाई सहयोग गर भनिराख्नुभएको छ,’ लेखकले भने, ‘उहाँहरूले नै संसद् विघटन गर्नुभयो, उहाँहरू नै एकअर्कालाई दोष लगाइरहनुभएको छ । तर कांग्रेसले अहिले नै कसैलाई सहयोग गर्नुपर्ने परिस्थिति बनेको छैन ।’ 

    सहमहामन्त्री डा. प्रकाशशरण महतले पनि ओली र प्रचण्ड–नेपाल दुबै पक्षको अफरबारे अहिले बोल्ने बेला नभएको बताए । ‘हालसम्म पनि नेकपा एउटै पार्टी छ, त्यसैले हामीले योसँग, ऊसँग भनेर निर्णय लिन मिल्दैन । उहाँहरुको आफ्नो पार्टीभित्रको झगडा छ तर पार्टी एउटै छ, त्यसैले उहाँहरु मिल्न पनि सक्नुहुन्छ, यसमा कांग्रेसको चासो छैन,’ उनले भने ।

    सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णयले मात्रै एउटा राजनीतिक दिशा तय गर्ने महतले बताए । ‘संसद् विघटनबारे अदालतमा सुनुवाइ चलिरहेको छ, नेकपाको विवाद निर्वाचन आयोगले हेरिरहेको छ, सर्वोच्चको निर्णयलाई कसैले पनि नमान्ने भन्ने कुरो छैन । यदि निर्वाचनको बाटोमा गयो भने एउटा परिस्थिति बन्छ, पुनःस्थापनाको बाटोमा गयो भने अर्को परिस्थिति बन्छ, कांग्रेसले त्यही बेला परिस्थिति हेरेर निर्णय गर्छ । अहिले यो गर्छु, त्यो गर्छु भन्ने बेला भएको छैन,’ उनले भने ।

    प्रचण्ड–नेपालले यसअघि पुस ३ गते वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर देउवालाई नियन्त्रण गर्न आग्रह गरेका थिए । त्यसअघि मंसिर ३० गते सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गरेको कांग्रेसले त्यही अध्यादेशबमोजिम नियुक्त संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति बदर गर्न मागसम्म पनि गरेन । जब कि नियुक्ति सिफारिस भएकामध्ये देउवाको सिफारिस भएका व्यक्ति समेत रहेका थिए । त्यहीबाट देउवालाई पार्टीभित्रैबाट प्रधानमन्त्री केपी ओलीसँग साँठगाँठको आरोप लागेको थियो ।

    पुस ८ गतेको केन्द्रीय समिति बैठकमा नेता गगन थापाले संवैधानिक निकायमा भएको नियुक्ति तत्काल खारेज गर्न र देउवाको सिफारिस रहेका व्यक्तिलाई राजीनामा गराएर मिलेमतो नभएको पुष्टि गर्न दबाब दिएका थिए । तर बैठकले त्यसबारे कुनै निर्णय गरेन, देउवाले जवाफ समेत दिएका थिएनन् । 

    ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेलगत्तै त्यो निर्णयलाई असंवैधानिक र अलोकतान्त्रिक भनेका देउवाले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा भने १ शब्द पनि बोलेका छैनन् । यतिसम्म कि त्यस विषयमा बोलेर अदालतलाई प्रभावित पार्न नहुने उनको अडान छ ।  पुस २५ गते बुढानीलकण्ठमा भएको विरोध सभामा देउवाले चुनावका पक्षमा बोलेपछि देउवाको बोलीले ओलीलाई सहयोग पुगेको पार्टीभित्रै टिप्पणी हुने गरेको छ ।

    प्रधानमन्त्री केपी ओलीले पनि गत मंसिर ६ गते नै कांग्रेस सभापति देउवालाई बालुवाटार बोलाएर सत्ता–साझेदारीको प्रस्ताव गरेका थिए । संसद् विघटनपछि पनि पुनःस्थापना भए सरकारको नेतृत्व वा आसन्न निर्वाचन र त्यसपछि प्रधानमन्त्री बन्न सहयोग गर्नेसम्म ओलीले देउवालाई प्रस्ताव गरेका जनाइएको छ ।

    प्रतिनिधिसभा विघटनको विरोध र अन्य कार्यक्रममा देश दौडाहामा रहेका देउवाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै कम्युनिस्ट पार्टीले जनतालाई धोका दिएको ब्याख्या गरिरहेका छन् । तर अघिल्लो आमनिर्वाचनमा पार्टीको हारको अपजस खेपेका देउवाले ३ वर्षमै प्रतिनिधिसभा विघटन भएर चुनावको घोषणालाई अवसरका रुपमा बुझेका छन् । ‘उहाँ पुनःस्थापनाको पक्षमा नदेखिनुको मूल कारण पनि त्यही हो, त्यही कारण चर्को आन्दोलनको पक्षमा उहाँ हुनुहुन्न, उहाँ त बैशाखमा पार्टीलाई चुनाव जिताएर महाधिवेशनबाट फेरि आफैंले नेतृत्व हत्याउने दाउमा हुनुहुन्छ,’ देउवाइतर पक्षका एक नेताको दाबी छ ।

    देउवाले गत पुस ७ गते बसेको केन्द्रीय समिति बैठकमा पनि सडक संघर्ष वा चुनावको तयारी भन्ने विषयमा अदालत र निर्वाचन आयोगलाई पर्खिनुपर्ने धारणा राखेका थिए । देउवाले त्यसयता पनि नेकपा विभाजनलाई लिएर आफूलाई विश्वास नभएको बताउँदै आएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०३:०५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend