काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि छुट्टै बैठक र भेला गरिरहेको प्रचण्ड–नेपाल पक्षले ओलीमाथि थप कारवाही गर्ने तयारी गरेको छ ।
प्रचण्ड–नेपाल पक्षीय नेकपाका नवनियुक्त अध्यक्ष माधवकुमार नेपालले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीमाथि थप कारवाही हुने बताएका छन् ।
अध्यक्ष नेपालले ओलीमाथि थप अनुशासनको कारबाही गर्नुपर्ने अवस्था आएको बताए । प्रतिनिधिसभा विघटन गरेर बैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा गरेपछि प्रचण्ड–नेपाल पक्षले पार्टीका बहुमत सदस्यको बैठकबाट ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाएर यसअघि नै कारवाही गरिसकेको छ ।
अध्यक्षबाट कारवाही गरिसक्दा पनि ओलीले गुटगत गतिविधि गरेको र अनुशासन उल्लंघन गरेको बताउँदै नेता नेपालले भने, ‘थप कारबाही गर्नुपर्ने अवस्था आएको छ । स्थायी कमिटीको बैठकले गम्भीर छलफल गर्छ ।’
नेकपा प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा आज बिहीबारबाट सुरू भएको छ । आजको बैठकमा सरकार विरुद्धको आन्दोलनको समीक्षा गरेको बैठकले भोलिको बैठकबाट आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाइएको छ । भोलि शुक्रबारकै बैठकबाट ओलीमाथि थप कारवाहीको निर्णय समेत हुनसक्ने नेता नेपालले संकेत गरेका छन् ।
प्रधानमन्त्री ओली पक्षले भने नेकपाको आधिकारिक पक्ष आफूहरू नै भएको दाबी गर्दै आएको छ । नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधीन रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।