काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीबाट छुट्टिएर सडकमा उत्रिएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आन्दोलनको मोर्चामा समेत धक्का लागेको छ ।
सत्ता र सरकारको मोर्चाबाट केपी ओलीले धकेलेर किनारा लगाएका प्रचण्ड सडकमा समेत जम्न सकेनन् । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर संयुक्त आन्दोलनमा जान आग्रह गर्दा पनि कांग्रेसको साथ नपाएपछि प्रचण्ड नेकपा तातो मौसमको पर्खाइ गर्ने निष्कर्षमा पुगेको छ ।
नेकपाको प्रचण्ड–नेपाल पक्षको पेरिसडाँडामा सम्पन्न स्थायी कमिटी बैठक जाडो कम हुँदै गएर तातो मौसम आएपछि आन्दोलनको ताप पनि बढ्दै जाने निष्कर्षमा पुगेको छ । बैठकले हालसम्म गरिएका आन्दोलनको समीक्षा गरेपनि उत्साहजनक नतिजा नदिएपछि निराशा बढेको छ ।
संसद विघटनविरुद्ध नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले छुट्टाछुट्टै आन्दोलन गरिरहेका छन् । संयुक्त आन्दोलन गरेर जाँदा प्रचण्ड जुनसुकै बेला पनि फेरि ओलीसँग मिल्न जानसक्ने र प्रचण्डको भर नभएको निष्कर्षमा कांग्रेस र जसपा पुगेका छन् ।
चाडो बढी भएकाले सडक आन्दोलन नतातेपनि तातो मौसमसँगै आन्दोलन पनि तताउनेबारे प्रचण्ड–नेपाल पक्षको बैठकमा कुरा उठेको एक स्थायी कमिटी सदस्यले बताए । बैठकमा ७ वटै प्रदेशका इन्चार्जहरुले सडक आन्दोलनबारे जानकारी गराएका थिए ।
बैठकमा प्रचण्ड र माधवकुमार नेपालले सबैको चित्त बुझाउन देशैभर आन्दोलन चर्र्किएको जानकारी दिएका थिए । ‘हाम्रो पार्टी मात्र होइन, संसद विघटनको विरुद्धमा देशव्यापी रुपमा बुद्धिजीवी, आम नागरिक लगायत सबै तह र तप्काका नागरिक सहभागी छन्,’ प्रचण्डले बैठकमा भने, ‘यो कुनै पार्टी विशेषको आन्दोलन नभएर डिरेल हुन लागेको राजनीतिलाई ट्रयाकमा ल्याउन सबै लागिपरेका छन् ।’
प्रचण्ड–नेपाल पक्षीय स्थायी कमिटीको अर्को बैठक भोलि शुक्रबार बिहान ११ बजे पेरिसडाँडामै बस्ने र थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।