काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेका छन् भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले संसद पुनर्स्थापनाको माग गर्दै आन्दोलन गरिरहेको छ ।
प्रचण्डले आन्दोलन सँगसँगै सर्वाेच्च अदालतले संसद पुनर्स्थापना गर्ने विश्वास गरेका छन् । तर अदालतले संसद पुनर्स्थापना नगरे टाउको फुटाउने आन्दोलन गर्ने घोषणा प्रचण्डले गरेका छन् ।
आफूपक्षीय नेकपा गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सर्वाेच्च अदालतले संसद पुनर्स्थापना गर्छ भन्ने पुरै विश्वास छ । सर्वाेच्च अदालतले संविधानको सही ब्याख्या गर्छ, सही ब्याख्या भयो भने संसद पुनर्स्थापना हुन्छ,’ प्रचण्डले भने, ‘हामीलाई विश्वास छ अदालतबाटै संसद पुनर्स्थापना हुन्छ तर जनताको अदालतलाई पनि जागरुक बनाउनुपर्छ । हिजो गिरिजाबाबुले रत्नपार्कमा टाउको फुटाउँदा संसद पुनर्स्थापना भएको थियो । अब फेरि हामीले टाउको फुटाउनुपर्ने बेला आएको हो कि ? तपाईंहरु तयार हुनुहुन्छ ?’
कार्यक्रममा प्रचण्डले कार्यकर्तालाई टाउको फुटाउन तयार रहे/नरहेकोबारे प्रश्न गरेका छन् । उनले सूर्य चिह्न आफूहरूबाट खोसे नेपालमा आँधीहुरी, बतास आउने समेत बताए । ‘सूर्य चिह्न हाम्रै हुन्छ, द्विविधामा बस्नै पर्दैन,’ प्रचण्डले भने, ‘विधान र निर्वाचन कानूनमा प्रष्ट भनिएको छ, जससँग बहुमत छ, आधिकारिक त्यहीँ हुन्छ, हामीसँग ७० प्रतिशत छ ।’
उनले प्रधानमन्त्री ओलीलाई पार्टीको बहुमतबाट हटाउने तयारी संसद विघटनअघि नै गरिएको खुलासा गरे । उनले ओली नसच्चिए पार्टीको बहुमतले हटाउने तयारीस्वरूप आफूले पार्टीमा प्रस्ताव पेश गरेको बताएका छन् ।
‘मैले पेश गरेको प्रस्तावको स्प्रिड त्यही नै थियो । सचिवालयमा, स्थायी कमिटी र केन्द्रीय कमिटीमा बहुमत पुगेन भने संविधान मिच्न पाइने व्यवस्था कही छ ?’ उनले भने ।
बहुमतको निर्णय पार्टीको निर्णय हुने लेखिएको विधानमा ओलीको समेत हस्ताक्षर रहेको प्रचण्डले बताएका छन् । ‘विधानमा यसको एउटा बुँदा मात्रै होइन, छुट्टै शीर्षक नै छ, अहिले दुईतिहाई बहुमतभन्दा बढी सदस्यको हामीले कमाण्ड गरेका छौं,’ प्रचण्डले भने ।
प्रचण्डले प्रधानमन्त्री ओलीतिर लागेका पूर्वमाओवादी नेताहरूलाई जनयुद्ध कुहिएकै फर्सी हो त भनेर प्रश्न गरेका छन् । उनले भने, ‘केपीतिर लागेका हाम्रा साथीहरूलाई सबैले सोध्नुहोला– के जनयुद्ध कुहिएकै फर्सी हो त ?’
तत्कालीन जनयुद्धमा सहभागी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट लगायत नेताहरु ओलीतिर लागेका छन् । ओलीले केही दिनअघिको एक कार्यक्रममा जनयुद्धलाई कुहिएको फर्सीसँग तुलना गरेका थिए ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणको सहमति हुँदा पनि ओलीले जनयुद्धका उपलब्धि स्वीकार्ने विषयमा सहमति गरेको स्मरण गर्दै प्रचण्डले सोधे, ‘के त्यो केपी ओलीले हस्ताक्षर कीर्ते हो ? यदि त्यसो होइन भने यो बेइमानी हो ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।