काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी विभाजन गरेर आन्दोलनमा रहेको नेकपा प्रचण्ड–नेपाल पक्षले आईतबार आकस्मिक सचिवालय बैठक गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न सचिवालय बैठकले प्रधानमन्त्री ओलीलाई निरंकुश र अधिनायकवादी चरित्र रोक्न चेतावनी दिने निर्णय गरेको छ ।
बैठकले ४ पूर्व प्रधानन्याधीशले प्रतिनिधिसभा विघटनको विषयमा राखेको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री ओलीले धम्क्याएको भन्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
आईतबार बसेको बैठकले प्रधानमन्त्री ओलीले अहिले प्रदर्शन गरिरहेको चरित्र अधिनायकवादी र निरंकुश भएको ठहर समेत गरेको छ । बैठकले राज्यको साधनस्रोतबाट सञ्चालित सञ्चारमाध्यम एउटा गुटको प्रचारजस्तो भएको भन्दै भर्त्सना गरेको छ । प्रधानमन्त्री ओलीको यस्तो कार्यलाई बन्द गर्न पहल गर्ने निर्णय समेत बैठकले गरेको छ ।
‘आफूलाई लागेका अभिव्यक्ति दिने हक सबैलाई छ । अभिव्यक्ति दिएकै कारण धम्क्याउने कार्यको बैठकले भर्त्सना गरेको छ । साथै सम्पूर्ण बुद्धिजीवी, प्रबुद्ध व्यक्तित्व, सचेत नागरिक र कलाकारहरूलाई प्रधानमन्त्री ओलीको यो कदमविरुद्ध एकजुट भएर लड्न पार्टीले आह्वान गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने ।
प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध पार्टीको आन्दोलन प्रभावकारी बनाउने र पार्टीको सुदृढीकरण अभियानमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।