काठमाडौं – विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार भारतको मुम्बईबाट काठमाडौं आएका छन् । पत्नी सीता दाहालको उपचारका लागि भारत गएका प्रचण्ड आज दिउँसो काठमाडौं ओर्लिए ।
प्रचण्डले काठमाडौं पुग्दापुग्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उनीमाथि झटारो हानेका छन् । ओलीले प्रचण्डको नेतृत्वमा भएको जनयुद्ध र अहिलेको प्रचण्डको अवस्थाप्रति लक्षिण गर्दै कडा प्रहार गरेका छन् ।
राजधानी काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डको नेतृत्वमा भएको जनयुद्धलाई कुहिएको फर्सी जस्तो भएको व्यंग्य गरेका छन् ।
ओलीले प्रचण्डसँग जनयुद्ध लडेका सहकर्मी कोही बाँकी नरहेको दाबी गरेका छन् । ‘जनयुद्ध लड्या मान्छे उहाँसँग कोही छैन । सबै सिद्धिए । नारायणकाजी कुनै जनयुद्ध लड्या मान्छे हो र ?’ ओलीले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान् जनयुद्ध’ फर्सी जस्तै कुहिएको टिप्पणी गरे । ओलीले भने, ‘महान् जनयुद्ध के भो ? फर्सी जस्तै कुहियो ।’
ओलीले विगतमा विभिन्न जातजातमा जनता विभाजित गर्ने र पहिचानको नाममा देश टुक्र्याउने प्रयास भए पनि असफल बनाइएको दाबी गरेका छन् । उनले संसदको निर्वाचन हुँदा देश संकटमा नपर्ने जनाए । प्रधानमन्त्री ओलीले केही मान्छेले संसद विघटन हुँदा देश संघटमा पर्यो भनेर स्यालहुइँया मच्चाएको बताएका छन् ।
‘संसदको निर्वाचन हुँदा देश संकटमा पर्छ ? संविधान संकटमा पर्छ ? स्वार्थीलाई संकट पर्छ, देशलाई होइन,’ उनले भने, ‘यतिबेला लोकतन्त्र विरोधीहरू आत्तिएका छन्, त्यही भएर जे पायो त्यही बोलिरहेका छन् ।’
लामो समय संवैधानिक आयोगमा पदपूर्ति हुन नदिइएको प्रधानमन्त्री ओलीले बताए । त्यसपछि अध्यादेश ल्याएर आयोगमा पदपूर्तिको प्रयास गर्नुपरेको समेत स्पष्ट पारेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।