काठमाडौं – निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि बनेका प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षलाई सुधार सहितको प्रतिवेदन ७ दिनभित्र आयोगमा पेश गर्न पत्राचार गर्ने निर्णय गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बिहीवार बसेको आयोग बैठकले पत्राचारबारे निर्णय गरेको जानकारी सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले दिए ।
आयोगले नेकपाका अध्यक्ष ओली र नेकपाका अध्यक्ष प्रचण्डलाई सम्बोधन गरेर अलग–अलग पत्राचार गरेको छ । पुस ५ गते प्रतिनिधि सभाको विघटन भएसँगै नेकपाभित्रको विवाद आयोगमा पुगेपछि आयोगले यो दोस्रो पटक दुवै पक्षलाई पत्राचार गरेको हो ।
आयोगले राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २५ को ४ अनुसार दुवै पक्षलाई पत्र पठाएको हो । नियममा भनिएको छ, ‘जाँचबुझ गर्दा त्यसरी नाम, विधान, नियम, छाप, झण्डा, चिह्न (लोगो) मा परिवर्तन वा संशोधन गर्न वा पदाधिकारीको हेरफेर गर्न नमिल्ने अवस्था भएमा आयोगले सोको कारण खुलाई सुधार सहितको विवरण पेश गर्न ७ दिनको समय दिई सम्बन्धित पक्षलाई सूचित गर्नेछ ।’
आयोगले यसअघि पुस १७ गते दुवै पक्षसँग आयोगलाई दिएको जानकारीका सन्दर्भमा थप जानकारी लिन पत्राचार गरेको थियो । सो जवाफमा दुवै पक्षले नेकपाको आधिकारिक पक्ष आफूहरू नै भएको दाबी गरेपछि आयोगले फेरि अर्को पत्र पठाउने निर्णय गरेको छ ।
नियम २५ को ५ मा ७ दिनभित्र दुवै पक्षबाट विवरण प्राप्त भएमा र आयोग त्यसमा सन्तुष्ट भएमा सो बमोजिमको अभिलेख अद्यावधिक गरी राख्नेछ । कुनै विवरण परिवर्तन, संशोधन वा हेरफेर हुन नसक्ने भएमा सोही व्यहोराको जानकारी सम्बन्धित दललाई गराउने छ ।
कुनै परिवर्तन, संशोधन वा हेरफेर हुन नसक्ने भएमा दलको साविकको विवरण नै कायम रहेको मानिने छ । आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।