काठमाडौं – नेपालमा राजनीतिक संकट गहिरिएका बेला पत्नी सीता दाहालको उपचारका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत गइसकेका छन् ।
मुम्बईको अस्पतालमा सीताको उपचार भइरहेको जनाइएको छ । नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णयविरुद्ध देशव्यापी आन्दोलन गरिरहेका बेला पत्नीको उपचारका लागि प्रचण्डले अकस्मात भारत जानुपरेको हो ।
नेकपा अध्यक्ष प्रचण्डपछि अब परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत जाने भएका छन् । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकका लागि परराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते भारत जानेछन् ।
परराष्ट्रसचिव स्तरीय औपचारिक वार्ता भएको २ महिनापछि नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बस्दैछ । माघ २ गते हुने आयोगको छैटौं बैठकका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली माघ १ गते नयाँदिल्ली जाँदैछन् ।
मंगलवार साँझसम्म नेपाल र भारत दुवैले बैठकको मिति सार्वजनिक नगरेपनि उच्च कूटनीतिक स्रोतका अनुसार परराष्ट्रमन्त्री ज्ञवालीको ३ दिनको भ्रमण समेत तय भइसकेको छ । गत वर्ष सुरूमा भारतले र पछि नेपालले जारी गरेका नयाँ नक्साबारे देखिएको २ देशको विवादबीच आयोगको बैठक बस्ने तय भएको छ ।
‘परराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते दिल्ली जाने तय भएको छ । उहाँ २ रात दिल्ली बस्ने कार्यक्रम छ । संयुक्त आयोगको बैठकका अतिरिक्त उहाँले उच्च राजनीतिक भेटवार्ता गर्ने पनि कार्यक्रम छ,’ स्रोतले भन्यो । परराष्ट्रमन्त्री ज्ञवालीले यसअघि दिल्ली जाने तय भएको बताए पनि मितिबारे केही बताएका छैनन् ।
आलोपालो प्रचलनअनुसार यसपटक आयोगको बैठक नयाँदिल्लीमा बस्न लागेको छ । यसअघि मंसिर अन्तिम हप्ताका लागि तय भएको बैठक नेपालको राजनीतिक अन्योलका कारण सरेको थियो । भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकरका तर्फबाट परराष्ट्रसचिव हर्षबर्धन शृृंंगलाले मंसिर ११ गते परराष्ट्रमन्त्री ज्ञवालीलाई बैठकको निमन्त्रणा गरेका थिए । तर सत्तारुढ नेकपाको आन्तरिक विवादका कारण मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने सम्भावनाबीच नेपालले बैठकको मितिमा सहमति जनाउन नसकेपछि अन्योल देखिएको थियो ।
भारतीय परराष्ट्रसचिव हर्षबर्धन शृंगलाको मंसिरमा भएको नेपाल भ्रमणकै बेला संयुक्त आयोगको बैठकको मिति तय भएको स्रोतले जनाएको छ । भारतीय परराष्ट्रमन्त्री जयशंकरको अनुकूलतामा प्रस्तावित मितिमा बैठक बस्न नेपाल तयार भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच १५ अगस्टमा टेलिफोन वार्ता भएको थियो । भारतलाई स्वतन्त्रता दिवसका दिन शुभकामना दिन प्रधानमन्त्री ओलीले टेलिफोन गरेका थिए ।
त्यसपछि भारतीय गुप्तचर निकाय ‘रअ’ प्रमुख सामन्तकुमार गोयल, सेनाध्यक्ष मनोजमुकुन्द नरभणे र परराष्ट्र सचिव हर्षबर्धन शृंगलाले नेपाल भ्रमण गरेका छन् । यसबीचमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले समेत नेपाल भ्रमण गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।