काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम इन्चार्ज भीम रावलको प्रमुख आतिथ्यमा बसेको प्रदेश कमिटी बैठकले २ जना नेतामाथि कारवाही गरेको छ ।
पार्टी विभाजन भएको बेला प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर २ नेतालाई नैतिक आचरण विपरीत कार्य गरेको आरोपमा कारवाही गरिएको हो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षधर नेकपाको प्रदेश कमिटी बैठकले नैतिक आचरण विपरीत कार्य गरेको भन्दै २ जनालाई ६ महिनाको लागि पदमुक्त गर्ने निर्णय गरेको छ ।
बैठकपछि निर्णय सार्वजनिक गर्न शनिवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले प्रदेश सांसद समेत रहेका नेकपा कैलाली अध्यक्ष रतनबहादुर थापा र सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य तथा कञ्चनपुरका नेता महेश पन्तलाई निलम्बन गरिएको जानकारी दिए ।
‘कैलाली जिल्लाको अध्यक्षको पदमा रहनुभएका रतनबहादुर थापाले पार्टी एकता र हितविरुद्ध गतिविधि गर्नुभएकाले उहाँलाई नेकपाको अन्तरिम विधान २०७५ धारा ७६ को (क) को १, २, ३, ४, ५ र १४ बमोजिम अध्यक्ष पदबाट हटाउन कैलाली जिल्ला कमिटीले सिफारिस गरेकाले उहाँलाई पदबाट मुक्त गराउन केन्द्रमा सिफारिस गर्ने निर्णय प्रदेश कमिटीले गरेको छ,’ नेता रावलले भने ।
नेता रावलले थापालाई नैतिक आचारण सम्बन्धी कारवाही समेत गरिएको बताए । ‘उहाँको नैतिक आचारण सम्बन्धी उजुरी प्राप्त भएको थियो । त्यसमा अध्ययन समेत गरेका थियौं । बीचमा प्रदेश कमिटीको बैठक बसेका थिएन । अहिले बैठक बसेकाले उहाँलाई पार्टी विधानको धारा ५६ को ‘क’ को बुँदा नम्बर १० बमोजिम प्रदेश कमिटीको बैठकले पदमुक्त गरेको छ र उहाँमाथि अनुशासनको कारवाही स्वरूप थप पार्टी सदस्यताबाट ६ महिनाका लागि निलम्बन गरिएको छ,’ उनले भने ।
सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य महेश पन्तले नैतिक आचरणविरुद्ध कार्य गरेको उजुरी परेपछि प्रदेश कमिटीे सदस्य पदबाट मुक्त गरिएको नेता रावलले बताए । पन्तको सदस्यता समेत ६ महिना निलम्बन गरिएको जनाइएको छ ।
नेता रावलको नेतृत्वमा बसेको बैठकले २ नेतालाई कारवाही गरेपछि ओली पक्षीय नेकपामा खैलाबैला मच्चिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।