आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भीम रावललाई ज्यान मार्ने धम्की दिनु पछाडिको यस्तो रहस्य खुलासा

भीम रावललाई ज्यान मार्ने धम्की दिनु पछाडिको यस्तो रहस्य खुलासा

  • मिडिया डबली
  • शनिवार, पौष ११ २०७७

  • 11.9K
    SHARES

  • भीम रावललाई ज्यान मार्ने धम्की दिनु पछाडिको यस्तो रहस्य खुलासा

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र भागबण्डा नपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फुट देखिएको छ । सँगसँगै दुवै गुटका नेताहरु विभाजित भएका छन् ।

    नेताहरु विभाजित मात्रै भएका छैनन्, एकअर्काका कर्तुतको खुलासा गर्ने र आरोप लगाउने गरिरहेका छन् । नेकपाका नेता भीम रावल हाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाको पक्षमा लागेका छन् । 

    नेकपा एकीकृत हुँदा पनि प्रधानमन्त्री ओलीका गलत कार्यको खुलेर विरोध गर्ने नेता भीम रावल फेरि ओलीविरुद्ध खनिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा बोल्दै नेता रावलले बालुवाटारबाट आफूलाई ज्यान मार्ने धम्की आउनुको रहस्य समेत खुलाएका छन् ।

    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर आगामी बैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेपनि नेता रावल यसको विरोध गरिरहेका छन् । 

    ‘यो निर्वाचन गर्नका लागि घोषणा गरिएको होइन । सबै कुरा लात हान्ने व्यक्तिले इमान्दारिपूर्वक निर्वाचन गराउनुहोला भन्नेमा शंका छ । भविष्यको गर्भमै छ,’ उनले भने, ‘हत्या र बलात्कार प्रकरणमा हामीले स्थायी कमिटी, केन्द्रीय कमिटी र सचिवालयमा विरोध गरेकै हो । म त बोलेको बोल्यै छु तर मलाई प्रतिपक्षीको भूमिका निर्वाह गर्‍यो भनियो । मलाई ज्यान मार्ने धम्की समेत दिइयो ।’

    ओली पक्षधर नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसदीय दलमा मतदान गर्ने प्रस्तावमा प्रचण्ड–नेपाल पक्षले नमानेको भनेर दाबी गरेको कुरामा कुनै सत्यता नभएको समेत रावलले बताए । ‘यो कुरा शतप्रतिशत झुट हो । ओलीले संसदीय दलको बैठक बोलाउन मान्नुभएन ।’ 

    नेता रावलले प्रधानमन्त्री ओलीलाई काम गर्न नदिइएको भनेर गरिएको प्रचार गलत रहेको बताए । ‘हामीले के काम गर्न दिएनौं ? रेल अहिले कात्रो ओढाएर राखिएको छ । फलामहरू चोरी हुँदैछ । त्यही पनि हामीले रोकेनौं । जहाज चलाउँछौं भन्नुभयो, हामीले रोकेनौं । रातारात झिलिमिली पार्छु भन्नुभयो, हामीले रोकेनौं । निजगढ, पोखरा, भैरहवा विमानस्थल हामीले बनाऔं भनेकै छौं । तर हामीले जनघाती कामको भने विरोध गरेका छौं ।’

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा आक्रोश पोख्दै रावलले भने, ‘संविधानको कुन धारामा संसद विघटनको अधिकार दिइएको छ ? उहाँले संविधानको धारा ७६ अनुसार विघटन गरें भन्नुभएको छ । तर संविधानको धारा ७६ मा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन । म उहाँले सुन्ने गरी भन्न चाहन्छु कि उहाँ पनि देशभरबाट प्रत्यक्ष निर्वाचित होइन । एउटा जिल्लाबाट मात्रै जितेको हो । उहाँ पदको लागि मरिहत्ते गर्नुहुन्छ भन्ने कुरा त यो घटनाले पनि पुष्टि गरेको छ ।’

    नेकपाको ७ दशक लामो इतिहासमा दुःखद घटना भएको उनले बताए । ‘विगतका फुटका शृंखलाको अन्त्य गरेर नेपाली जनताको स्वाभिमानलाई उचो पारेर अघि बढ्छौं भनेर स्वयं ओली र प्रचण्डले प्रतिज्ञा गर्नुभएको थियो । तर ओली त्यो प्रतिज्ञामा टिक्नुभएन,’ उनले भने, ‘हामीले बरु उहाँहरूलाई ध्यानाकर्षण गराएका थियौं । ओली प्रम हुने कुरा लगभग निश्चित थियो, भारतीय विदेशमन्त्रीलाई आमन्त्रण गरेर गलत काम र कदम चाल्नुभयो । सोल्टीमा विदेशी महिलाले आयोजना गरेको होलीवाइन कार्यक्रममा सोल्टी होटलमा ४–४ दिन बस्नुभयो । यो पनि आपत्तिजनक थियो । हामीले विरोध गर्‍यौं । भारतीय चलचित्रकर्मीलाई डेढ अर्ब खर्च गरेर सम्मान गर्ने निर्णय गर्नुभयो, हामीले विरोध गरेपछि रोकियो । भारतबाट आयात गरिने तरकारी परीक्षण गरेर मात्रै भित्र्याउने भन्यौं, पछि उहाँले राष्ट्रसामु माफी माग्नुभयो । ओलीजीले आजकाल के भन्नुहुन्छ भने, मलाई काम गर्न दिइएन भन्नुभयो । हो, हामीले देश हितमा नभएका काम नगर्न भन्यौं । जस्तो, बिमस्टेक सम्मेलनमा उहाँले संयुक्त सैन्य अभ्यास भारतको पुनेमा गर्ने सहमति गर्नुभयो । तर हामीले आपत्ति जनायौं । अन्तर्राष्ट्रिय समितिले आपत्ति गर्‍यो । कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले सुरक्षाकर्मी राखेको छ । भारतले राजनीतिक नक्सामा समेत त्यो भूभाग समावेश गर्‍यो । हामीले आवाज उठायौं । हामीले नक्सा प्रकाशनको लागि दबाब दियौं । तर उहाँले सुन्नुभएन । जब भारतीय रक्षामन्त्रीले सडक खुलाउनुभयो, तब उहाँले नक्सा प्रकाशन गर्छु भनेर भन्न बाध्य हुनुभयो । उहाँले संसदमा भाषण गरेको स्मरण गर्छु  कि नक्सा किन प्रकाशन गर्ने ? बरु भूमि ल्याउने हो नि भनेर भन्नुभयो । तर आजकाल नक्सा प्रकाशन गरेकाले हटाउन खोजियो भन्नुभयो । प्रधानमन्त्रीजस्तो मान्छेले तथ्यहीन कुरा गर्न सुहाउँछ ?’

    ओलीलाई लिम्पियाधुरा सहितको नेपालको नक्सा नचाहिएको आरोप समेत रावलले बताए । ‘नेपालको पाठ्यक्रममा पनि नेपालको नयाँ नक्सा समावेश गर्न अवरोध भयो, रातारात त्यो पुस्तक रोक्न लगाउनुभयो । पुस्तिकामा किन प्रतिबन्ध लगाउनुभयो ? उहाँले नक्सा प्रकाशन गर्न चाहनुभएको थिएन । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र भारतले फिर्ता गर्नुपर्छ भनेर आवाज उठ्ने भयो भनेर संसद विघटन गर्ने काम भयो । कतै यो षड्यन्त्रको अंग त होइन भनेर अहिले आशंका गरिएको छ । अमेरिकाको होम ल्यान्ड सेक्युरिटी छ, त्यसलाई नेपाल भित्र्याउने गरी एग्रिमेन्ट गर्नुभयो । पार्टनरशीप एग्रिमेन्टको कागजपत्र पेश गर्न संसदको अन्तर्राष्टिय सम्बन्ध समितिले उहाँलाई पत्राचार गर्‍यो, समिति सभापतिले पटक–पटक कागजजात पेश गर्न भनियो, अहिलेसम्म पेश भएन,’ उनले भने ।

    पार्टीको पुस १ गते बसेको स्थायी कमिटीको बैठकबारे सुनाउँदै रावलले बैठक बस्नुअघि नै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको सुनाए । उनले भने, ‘पार्टीको स्थायी कमिटी बैठक पुस १ गते बस्दैथियो । संवैधानिक परिषद्को प्रावधानमाथि हमला गरेर संशोधन विधेयक ल्याउनुभयो । उहाँ कस्तो प्रधानमन्त्री हो ? पहिले फिर्ता गरेको विधेयक फेरि ल्याउनुभयो । राष्ट्रपति केपी ओलीको मात्रै राष्ट्रपति हो कि ? संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै हामी शितलनिवास गएका थियौं, हाम्रो समावेदन किन दर्ता भएन ? देशभक्त जनताले सोध्नुपर्छ । हामी ८ घण्टा शितलनिवास बस्यौं । जनतालाई न्यायको लागि अपिल पनि गर्न चाहन्छु । देश हाँक्छु भन्ने व्यक्तिले संसद विघटन गर्ने । बोली यस्तै हुन्छ ? यस्तै ढाँट र छल गर्ने ? मैले उहाँको भाषण सुनें । प्रतिनिधिसभा विघटन गर्नेजस्तो जाली कोही हुन्छ ?’

    भदौ २६ गते नेकपाको स्थायी कमिटीले निर्णय गरिसकेपछि सहमतिमा अध्यक्षद्वय ओली र प्रचण्डको हस्ताक्षर रहेको पत्र देखाउँदै सहमतिबाट ओली पछि हटेको नेता रावलले बताए । ‘संसारको कुनै पनि इमान्दार नेता र व्यक्ति आफैंले गरेको हस्ताक्षरको विरोधमा जान सक्छ ? हामीले संयुक्त प्रयासबाट नाकाबन्दीको सामना गर्‍यौं अनि नाकाबन्दी हट्यो । तर बहुमत प्राप्त गरेपछि जे मन लाग्यो त्यही गर्ने ? जंगबहादुर पनि कतिपय कुरामा मैले जे जे गरे सही गरे भन्ने कुरामा कमै छन्,’ उनले भने, ‘नेकपाको भविष्यलाई अन्धकारमा धकल्ने काम उहाँबाट भयो । त्योभन्दा महत्त्वपूर्ण र खतरनाक के हुन्छ ? कति मान्छे औषधि नपाएर अहिले मरिरहेका छन् ।’

    नेता रावलले ओलीसँग २९ प्रतिशत पनि केन्द्रीय सदस्यहरू नरहेको जिकिर गरे । उनले भने, ‘हाम्रो पक्षमा २८७ केन्द्रीय सदस्यहरूको हस्ताक्षर छ । अहिले त ३२५ जनाको हाराहारीमा छौं, पार्टीको विधान नमान्ने व्यक्तिले देशको कानून मान्छ होला र ?’

    नेता रावलले ओलीले पार्टीको विधानसमेत कुल्चिएको आरोप लगाएका छन् । ‘उहाँ पार्टीमाथि अपराध गर्ने कुकृत्यमा लाग्नुभयो । हुन त उहाँ संसदीय व्यवस्थाको हवाल दिनुहुन्छ । यो हाम्रो संसद आफ्नै खालको विशेषयतायुक्त छ । कुनै पनि प्रधानमन्त्रीले संसद भंग गरेपछि निजले राजीनामा दिनुपर्छ । राष्ट्रपतिले अर्को प्रधानमन्त्री नियुक्त नहुञ्जेलसम्म तपाईंले कार्यसञ्चालन गर्न भनिने हो । राष्ट्रलाई दीर्घकालीन प्रभाव पार्ने काम गर्न पाइँदैन,’ उनले भने, ‘मैले विशेष सूत्रबाट थाहा पाएअनुसार मन्त्री हुनेलाई पनि थाहा छैन । मन्त्री बनाइसकेपछि बसेको मन्त्रिपरिषद् बैठकमा १ जना मन्त्रीले मलाई यो मन्त्रालयबाट अर्को मन्त्रालयमा सरुवा गर्दा पनि थाहा दिइएन, कम्तिमा भनेको भए त हुन्थ्यो नि भनेर भन्नुभयो अरे । यस्तो पनि हुन्छ र ?’

    एनसेलको करको मुद्दा अहिले अमेरिकाको मध्यस्थतामा चलिरहेको समेत उनले बताए । एनसेल कर मुद्दामा देशको हितको पक्षमा अडान लिएका कारण कानून मन्त्रीबाट डा. शिवमाया तुम्बाहाम्फेलाई हटाइएको पनि नेता रावलको आशंका छ । ‘यसअघिका कानूनमन्त्रीले एनसेलको मुद्दामा देशको पक्षमा अडान लिनुभएको मैले सुनेको छु । तर अहिले युवराज खतिवडालाई राजदूत बनाइनु पनि त्यही हो । यो चलखेलमा प्रधानमन्त्री ओलीले ठप्पा लगाउनुभएको छ । यसबारेमा पत्रकारले खोजबिन गर्नुहोला,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend