शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

सरकारले गर्‍यो देशभर ‘हाई–अलर्ट’ : सीडीओहरूलाई कडा निर्देशन, संकटकालको तयारी

सरकारले गर्‍यो देशभर ‘हाई–अलर्ट’ : सीडीओहरूलाई कडा निर्देशन, संकटकालको तयारी

  • मिडिया डबली
  • मंगलवार, पौष ७ २०७७

  • 5.7K
    SHARES

  • सरकारले गर्‍यो देशभर ‘हाई–अलर्ट’ : सीडीओहरूलाई कडा निर्देशन, संकटकालको तयारी

    काठमाडौं – संसद विघटन गरी निर्वाचन घोषणा गरेपछि कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका स्थानीय प्रशासनलाई सतर्क (हाई–अलर्ट) राखेको छ ।

    देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला सुरक्षा प्रमुखहरूलाई कडा निर्देशन पठाउँदै सरकारले गृह मन्त्रालयको अनुमतिविना जिल्ला नछाड्न निर्देशन दिएको छ ।

    संसद विघटनपछि समर्थन र विरोधमा हुने शक्ति प्रदर्शन हुने भएकाले शान्ति सुरक्षालाई ख्याल गर्दै गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रजिअ र ४ वटै सुरक्षा निकायका जिल्ला प्रमुखहरुलाई जिल्ला छाडेर कतै नजान निर्देशन जारी गरेको छ ।

    ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आईतवार प्रतिनिधिसभा विघटन गरेसँगै देशभर विरोध हुँदैछ । सत्तारूढ नेकपा र प्रतिपक्षी दलका नेता–कार्यकर्ता विरोधमा उत्रिइसकेका छन् भने थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ ।

    प्रधानमन्त्री ओली पक्षधरले भने निर्वाचन घोषणाको पक्षमा प्रदर्शन गरिरहेका छन् । प्रधानमन्त्री ओलीले बदलिँदो राजनीतिक परिस्थितिअनुसार शान्ति सुरक्षा सुदृढ बनाउँदै चुनावी सुरक्षामा केन्द्रित हुन  यसअघि नै प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई निर्देशन दिइसकेका छन् । 

    गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बदलिँदो राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै सीडीओ र जिल्ला सुरक्षा प्रमुखलाई अर्को आदेश नभएसम्म विदा नबस्न र निमित्त जिम्मेवारी दिएर जिल्ला नछाड्न निर्देशन दिइएको बताए । विभिन्न पक्षका कार्यक्रम जुध्ने गरी एकै स्थानमा भेला र प्रदर्शन गर्न नदिन पनि मन्त्रालयले स्पष्ट निर्देशन दिइएको उनले बताएका छन् ।

    ‘प्रदर्शन र विरोधका नाममा जनधनको क्षति हुने, हिंसा भड्काउने र निषेधित क्षेत्र तोड्ने गरी कसैले विरोध प्रदर्शन वा जुलुस गर्छ भने तत्काल नियन्त्रणमा लिन र कानूनअनुसार कारबाही गर्न निर्देशन दिइएको छ,’ बुढाले भने, ‘तर एकअर्काको कार्यक्रम नजुध्ने, शान्तिपूर्ण र निषेधित क्षेत्र बाहिर हुने सबै किसिमका कार्यक्रममा प्रशासनले हस्तक्षेप गर्दैन ।’

    संसद विघटनको विरोधमा सोमवार मात्रै काठमाडौंसहित १३ जिल्लाका २३ स्थानमा प्रदर्शन र जुलुस निस्किएको थियो । सिंहदरबार दक्षिण गेटअगाडि विरोध प्रदर्शनमा उत्रिएका कृष्ण पहाडीलगायतका मानवअधिकारवादी तथा नागरिक अगुवा पक्राउ परेका थिए । अधिकारवादीलाई दिनभर पुलिस क्लबमा राखेर साँझ रिहा गरिएको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले ४ वटै सुरक्षा निकायलाई ‘हाई–अलर्ट’ राखेका छन् । रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानसेनापति पूर्णचन्द्र थापासँग लामो सुरक्षा परामर्श गरेपछि मात्रै प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन गर्ने निर्णय लिएको जनाइएको छ ।

    प्रतिनिधिसभा विघटनको निर्णय गरेकै दिन आईतवार साँझ पनि ओलीले चारै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए । छलफलमा सहभागी प्रधानसेनापति थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान आयोग प्रमुख गणेश अधिकारीलाई ओलीले नयाँ कदमपछि आउन सक्ने सुरक्षा चुनौतीलाई सामना गर्न पूर्णरूपमा तयार रहन निर्देशन दिएका थिए ।

    ‘नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफूविरुद्ध चाल्न सक्ने कदमलाई आकलन गरेर उनले सुरक्षा निकायलाई हाई–अलर्टमा राखेका हुन्,’ स्रोतले भन्यो, ‘आवश्यक परे संकटकाल लगाउने सम्बन्धमा पनि तयार रहन ओलीले सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend