काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेकपा पुस १ गते नै वस्तुतः फुटिसकेको घोषणा गरेका छन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले नेकपा विभाजनको बीउ धेरै अगाडि नै रोपेको ज्ञवालीको दाबी छ ।
राष्ट्रिय दैनिक पत्रिका कान्तिपुरसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘पार्टी वस्तुतः अस्ति १ गते नै फुटेको हो । त्यो दिन संसदीय दलको नेतालाई थाहै नदिइकन विशेष अधिवेशन बोलाउनका लागि साथीहरू कुद्नुभयो र आज छलफल चल्दै गर्दा अविश्वासको प्रस्ताव दर्ता हुन्छ भने साथीहरूले विभाजनको बीउ त धेरै अगाडि नै रोप्नुभएको हो भन्ने प्रस्टै छ नि ! त्योभन्दा अगाडि आफ्नै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध जुन खालको भाषा शैली प्रयोग भएको छ, यो हिसाबले भन्दा त विभाजनको बीजारोपण धेरै अगाडि भएको हो ।’
उनले अगाडि भनेका छन्, ‘प्रधानमन्त्रीका सामु योबाहेक अर्को बाटो थिएन । साथीहरूले चौतर्फी घेराबन्दीबाट यस्तो बिन्दुमा पुर्याउनुभयो कि मुलुकलाई निकास दिन यो एउटा बाध्यकारी निर्णय लिनुपर्यो । नेताहरूलाई एउटा अवसर पनि छ । साथीहरूले केपी ओलीका कारण दुईतिहाइ आएको होइन भन्दै हुनुहुन्थ्यो, अब लोकप्रियता मापन गर्न, परीक्षण गर्न र विजयी हुनका लागि उहाँहरूलाई सहज बाटो खुलेको छ । अब थप तिक्तता गरिरहनुपर्ने जरुरी भएन । खाली ध्यान केन्द्रित गरेर निर्वाचनतिर जानु नै उपयुक्त हुन्छ जस्तो लाग्छ । मेरो व्यक्तिगत मतको कुरै भएन, अहिले व्यक्तिगत प्रश्न पनि नसोध्नुस् । सरकारले निर्णय लियो । यो एक प्रकारको सामूहिक निर्णय हो । निर्णयमा पुग्नुभन्दा अगाडि विभिन्न ढंगले छलफल त हुन्छ नि !’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।