काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको उपत्यकामा जोरबिजोर प्रणालीको निर्णय यातायात व्यवसायीले शुक्रबारबाट नमान्ने निर्णय गरेका छन् ।
उपत्यकामा मात्र असोज १ गतेबाट लागू भएको जोरबिजोर प्रणाली यात्रुको चाप बढ्दा पनि कायमै रहेको भन्दै सबै सवारी सञ्चालन गर्ने निर्णयमा व्यवसायी पुगेका छन् ।
सबै क्षेत्र खुल्दै गएपछि सवारी साधनमा यात्रुको चाप बढ्दो भए पनि जोरबिजोर प्रणालीले गर्दा सवारीको संख्या भने कम छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मंगलबार संयुक्त रूपमा अपिल जारी गर्दै जोरबिजोर प्रणाली नमान्ने निर्णय गरिएको छ । जोरबिजोर प्रणालीमा सवारी सञ्चालन हुँदा सवारी संख्यामा कमी भएको र यात्रुको चाप बढी देखिएपछि कोरोनाको संक्रमण जोखिम बढ्न सक्ने भएकाले जोरबिजोर हटाउनुको विकल्प नभएको व्यवसायीले जनाएका छन् ।
जोरबिजोरका रूपमा सवारी चलाउने कामले थप संकट निम्त्याएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताएका छन् । ‘उपत्यकाको रिङरोडबाट बाहिर जाने मात्र २९ वटा रुट छन्, सहरभित्र जोरबिजोर प्रणालीले ठूलो असर नगर्ला । तर बिहान शहर आएर बेलुका फर्किने रुट छन्,’ उनले भने, ‘तिनलाई ठूलो समस्या परेको छ ।’
यात्रुको चाप हुने रत्नपार्कबाट चापागाउँ, कीर्तिपुर, दक्षिणकाली, साँखु क्षेत्रमा जाने सवारीलाई सबैभन्दा ठूलो असर पुगेको उनको भनाइ छ । अहिले यात्रुको चाप पनि बढेको छ । थोरै सवारी हुँदा यात्रुको चाप बढेको छ ।
‘कोरोना संक्रमण नियन्त्रण गर्न लागू गरिएको जोरबिजोरले सवारी साधनमा यात्रु खाँदाखाँद हुँदा झन् कोरोनाको जोखिम बढ्ने खतरा बढ्यो,’ उनले भनेका छन्, ‘जसले गर्दा यात्रुलाई पनि कष्ट सहनुपर्यो ।’
यातायात श्रमिक मारमा परेको व्यवसायीको भनाइ छ । १५ दिन काम गरेर परिवार पाल्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘त्यति मात्र होइन, मजदुरहरूको आम्दानी पनि घटेको छ, १५ दिनको आम्दानीले महिना दिनसम्म सास अल्झाउन गाह्रो पर्यो,’ उनले भने, ‘सबैलाई अप्ठ्यारो परेको समयमा सरकारले अव्यावहारिक नीति किन कार्यान्वयन गरिरहन्छ ?’
यस विषयमा पटक–पटक सरकारको ध्यानाकर्षण गराएको उनको भनाइ छ । ‘तर सरकारले यसमा कुनै चासो दिएन,’ उनले भने, ‘हाम्रो अनुरोध शुक्रवारभन्दा अघि नै स्वीकारेर सरकारले जोरबिजोर हटाउने निर्णय गरोस्, होइन भने सबै सवारी चल्छन् ।’
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पनि सबै सवारी चलाउने निर्णयमा पुगिएको बताएका छन् । ‘सवारी साधन चलाएर कोरोना हुँदैन, भीडले हुन्छ,’ उनले भनेका छन्, ‘त्यसैले स्वास्थ्य सावधानी अपनाएर गाडी चलाउँछौं ।’
चैत ११ गतेदेखि बन्द रहेका फिल्म हल पनि सरकारले हालसम्म खोल्न दिएको छैन । पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि वास्ता नगरेको भन्दै नेपाल चलचित्र संघले पुस १० गतेबाट देशभरका फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको छ । ‘सरकारलाई धेरै पटक फिल्म हल खोल्न माग गर्दै ज्ञापन बुझायौं तर सुनुवाइ भएन,’ संघका उपमहासचिव गोपालकाजी कायस्थले भने, ‘सबै क्षेत्र खुलिसके, हाम्रो क्षेत्रलाई मात्र किन बन्द गरेर राखिराख्नुपर्ने ? अब स्वास्थ्य मापदण्ड अपनाएर फिल्म हल खोल्छौं ।’
हल बन्द भए पनि विद्युत् महसुल, कर र जरिवाना तिरिरहेकाले ती शुल्क मिनाहा गर्नुपर्ने माग पनि आफूहरूको रहेको उनले बताए ।
फिल्म छायांकनका लागि बाटो खुला भइसकेको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए । ‘फिल्म हल खोल्नेबारे प्रस्ताव मन्त्रिपरिषद्मा गइसकेकाले केही दिनमै निर्णय हुनेछ,’ उनले भने, ‘अब धेरै समय नलाग्ला ।’ यसबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ सकारात्मक रहेको उनले दाबी गरेका छन् ।
सरकारले निर्णय नगरे पनि पार्टी प्यालेस र जिम हल भने प्रायः खुलेका छन् । बुधवारबाट सबै मठमन्दिर खुला भएकाले पार्टी प्यालेस पनि खुल्ने नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष लीलाबहादुर जीसीले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
‘सरकारले औपचारिक रूपमा निर्णय गरेको छैन,’ जीसीले भने, ‘तर हामी अब ब्याक हुँदैनौं, स्वास्थ्य सावधानी अपनाएर सबै पार्टी प्यालेस खोल्ने निर्णयमा पुगेका छौं ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।