काठमाडौं– नेकपामा दुई अध्यक्षबीच अझै सहमति जुट्न सकेको छैन। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबारदेखि मंगलबारसम्म तीनपटक छलफलमा बसिसकेका छन्। तर दुवैले अडान नछोड्दा स्थायी कमिटी बैठक राख्नेबारे झन् अन्योलता बढ्दै गएको छ।
झण्डै १ हप्ताको संवादहीनता तोड्दै आइतबारदेखि ओली–प्रचण्ड निरन्तर छलफलमा छन्। तर सहमतिमा पुग्न सकेका छैनन्।
दुई अध्यक्षबीचको छलफलमा सँगै रहेका एक नेताका अनुसार स्थायी कमिटीको बैठक राख्नैपर्ने दबाबमा प्रधानमन्त्री ओली परेका छन् तर आफू अल्पमतमा रहेकाले उनी राख्न चाहँदैनन्।
मंगलबार साँझ ५ बजेदेखि ६ बजेसम्म २ अध्यक्षसहित वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ बालुवाटारमा छलफलमा बसेका थिए। स्थगित स्थायी कमिटीको बैठकको मिति तोक्न प्रधानमन्त्री सहमत नभएपछि प्रचण्ड १ घण्टामै बालुवाटारबाट बाहिरिएको स्रोतले जनायो।
मंगलबार बिहान उपाध्यक्ष वामदेव गौतमलाई उनकै निवास भैसेँपाटी पुगेर अध्यक्ष प्रचण्डले ४० मिनेट भेट गरेका थिए। त्यसपछि साँझ ओलीसँग भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन्। तर, स्थायी कमिटी बैठकको मिति तोक्ने विषयमा सहमति नजुटेपछि एक घण्टामै उनी फर्किएका हुन्।
अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ तुरुन्त स्थगित बैठकको मिति तोकेर जारी गतिरोधको हल खोज्नुपर्ने अडानमा छन्। ओलीले त्यस गर्न अस्वीकार गरिरहेका छन्। पटक–पटक बस्दा पनि निकास ननिस्किएपछि मंगलबार प्रचण्ड अली कडारुपमा प्रस्तुत भएका थिए। उनले बैठकका एजेन्डा समेत ओली समक्ष प्रस्तुत गरेका थिए।
‘स्थायी कमिटीको बैठक तुरुन्त राखौँ र चारवटा एजेन्डामा छलफल गरौं,’ मंगलबारको बैठकमा पनि प्रचण्डले ओलीसमक्ष भने, ‘कोभिडको एजेण्डा, नयाँ नक्साको एजेण्डा, पार्टी कामको समीक्षा र सरकारको कामको एजेण्डा छन्, यिनीहरुमा छलफल गरौं, त्यसका लागि बैठकको मिति तोकौं।’ तर, ओली त्यसका लागि तयार नभएको नेताहरु बताउँछन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।