काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटका विभिन्न स्थानीय तहका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्। बाढीका कारण जनजीवन अस्तव्यस्त बनेपछि विदुर नगरपालिका र किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द गरिएको छ भने बेलकोटगढी र तारकेश्वर नगरपालिकाका प्रभावित क्षेत्रका शैक्षिक संस्थामा समेत पठनपाठन सञ्चालन अनिश्चित बनेको छ।
विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठका अनुसार बाढीमा विद्यार्थी, शिक्षक तथा अभिभावकसमेत हराइरहेको अवस्था र विद्यालय भवन, सडक तथा पुलमा पुगेको गम्भीर क्षतिका कारण तत्काल पठनपाठन सुरु गर्ने अवस्था छैन। उनका अनुसार दैनिक जनजीवन सामान्य बन्दै नदी वारपार गर्ने मार्ग सुचारु भएपछि मात्रै विद्यालय खोल्ने तयारी गरिनेछ।
शिक्षा शाखा प्रमुख नवराज सापकोटाले विपद्को पूर्वसूचना प्राप्त भए पनि बाढीबाट यति ठूलो क्षति हुने अनुमान नगरिएको बताए। यद्यपि, केही विद्यालयले समयमै उच्च सतर्कता अपनाएका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको उनको भनाइ छ।
शिक्षा शाखाका अनुसार अवस्था केही सहज भएपछि वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्ने विषयमा आवश्यक योजना बनाइनेछ।
विदुरका ८३ विद्यालयमध्ये एक दर्जनभन्दा बढी प्रभावित
त्रिशूली नदीको बाढीबाट सबैभन्दा बढी प्रभावित विदुर नगरपालिकाभित्र सञ्चालित ८३ विद्यालयमध्ये एक दर्जनभन्दा बढी विद्यालय प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। प्रारम्भिक विवरणअनुसार चारवटा विद्यालयका भौतिक संरचना पूर्ण रूपमा नष्ट भएका छन्।
शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटले तयार पारेको प्रारम्भिक विवरणअनुसार त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, चेतना आवि र त्रिशूली सामुदायिक बोर्डिङ स्कुलको सम्पूर्ण संरचनामा क्षति पुगेको छ।
त्यस्तै, उत्तरगया इङ्लिस बोर्डिङ स्कुलका तीनवटा ब्लक र छात्रावास भवन पूर्ण रूपमा क्षति भएका छन्। हाल एउटा मात्र ब्लक बाँकी रहेको जनाइएको छ।
चण्डेश्वरी माध्यमिक विद्यालयको दृष्टिविहीन विद्यार्थी बस्ने छात्रावास, शहीद जगतप्रकाशजङ्ग शाह संस्कृत माध्यमिक विद्यालय तथा पायोनियर इङ्लिस बोर्डिङको घेराबार आसपासमा समेत बाढीले क्षति पुर्याएको छ।
बाढीले रामचन्द्र आधारभूत विद्यालयको एउटा र उत्तरगया इङ्लिस बोर्डिङका दुईवटा स्कुल बससमेत बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ।
विद्यालयमा विस्थापितका लागि आश्रयस्थल
यता, किस्पाङ गाउँपालिकामा विद्यालय भवनमा प्रत्यक्ष क्षति नपुगे पनि बाढीका कारण विस्थापित स्थानीय बासिन्दालाई आश्रय दिन दुईवटा विद्यालयलाई होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिएको छ।
त्यसैगरी, बेलकोटगढी नगरपालिकामा पनि एउटा विद्यालयमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। बाढीबाट वडा नं. ७ को शिलादेवी माध्यमिक विद्यालय र वडा नं. ५ को महादेव माध्यमिक विद्यालय प्रभावित भएका छन्।
बाढीबाट विद्यालयका भौतिक संरचना, यातायात तथा पहुँच मार्गमा पुगेको क्षतिका कारण प्रभावित क्षेत्रमा पठनपाठन पुनः सञ्चालन गर्न अझै केही समय लाग्ने देखिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।