काठमाडौँ - प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई रिहाइ गर्न माग गर्दै सञ्चारकर्मीहरू विरोधमा उत्रेका छन् ।
नेपाल पत्रकार महासंघले काठमाडौँ प्रहरी परिसर, भद्रकालीमा धर्नासँगै विरोध गरेको हो । कालोपट्टी लगाएर गएका सञ्चारकर्मीहरूलाई प्रहरीले रोक्न खोज्दा केही धकेलाधकेलसमेत भएको छ । श्रेष्ठको रिहाइ तथा प्रेस स्वतन्त्रताको पक्षमा महासंघले धर्ना दिएको हो ।
धर्नामा पत्रकार तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूको सहभागिता रहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाले दिएको जानकारी अनुसार श्रेष्ठलाई बुधबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरिएको हो । उनले भने, “श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा वैयक्तिक गोपनीयता ऐनसम्बन्धी कसूरमा जाहेरी दर्ता भएको थियो ।
अदालतबाट अनुमति लिएर पक्राउ गरिएको हो । बिहीबार अदालतमा पेस गर्छौं ।” जनआस्था साप्ताहिकमा प्रकाशित एक समाचारको विषयलाई लिएर प्रहरीले श्रेष्ठलाई पक्राउ गरी प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेको हो । उनको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघ लगायतले आपत्ति जनाउँदै रिहाइको माग गरेका छन् । उनीहरूले प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रहसमेत गरेका छन् ।
चार दशकदेखि पत्रकारितामा सक्रिय श्रेष्ठ नेतृत्वको जनआस्था मिडियाले स्थापनाको तीन दशकभन्दा बढी समयदेखि सरकार र सरकारी अधिकारीहरुबाट हुने गरेका गैरकानूनी कार्यको पर्दाफास गर्दै आएको जनआस्थाले जनाएको छ । विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुन् ।






मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।