काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले निकै तनावमा छन् । एक मात्र छोरा जयवीरसिंह देउवाको बिहेको चटारोमा रहेका देउवा पार्टी सम्बद्ध नेताहरू एकपछि अर्को काण्डमा मुछिएपछि तनावमा परेका हुन् ।
१० महिनाअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना दाहिने हात मानिने बालकृष्ण खाँण पक्राउ परेपछि देउवाको तनाव सुरु भएको हो । भलै खाँण धरौटीमा छुटेर मुद्दाको पुर्पक्ष बाहिरै बसेर गर्न पाउने भएका छन् ।
तर उनको राजनीतिक करियर अब बाँकी छैन । सात महिनापछि कारागारबाट छुटेका खाँण अहिले शीर्ष नेताहरूको सम्पर्कमा छैनन् । बरु उनी शंकर भण्डारीको अभियानमा सरिक हुने देखिएका छन् । उनले देउवाको क्याम्प लगभग छाडिसकेका छन् ।
अहिलेसम्म देउवालाई भेट्न नजानुले यही संकेत गरेको छ । अहिले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद काण्डले कांग्रेसका दुई सांसदको पद दाउमा परेको छ । बहालवाला मन्त्री मोहनबहादुर बस्नेत र पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की टेरामक्स खरिद प्रकरणमा तानिन सक्ने देखिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेत र कार्कीलाई बयानका लागि ताकेता गरिरहेको छ । कार्की मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् । स्वास्थ्यमन्त्री बस्नेतलाई भने अख्तियारले बिहीबार मात्र बयानका लागि पत्र थमाएको स्रोतले बतायो ।
अब बोलाएको बेला बस्नेत बयान दिन अख्तियार जानैपर्ने हुन्छ । सोही कारण कांग्रेस सभापति देउवाले शुक्रबार नै संसदीय दलको बैठक बोलाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढाडमा टेकेर टाउकोमा हान्न थालेको महसुस देउवाले भर्खर गरेको बुझ्न सकिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।