काठमाडौँ - कर्णाली प्रदेश सभा सदस्य देवेन्द्रबहादुर शाही नेपाली कांग्रेसमै फर्किएका छन् ।
पार्टीले कारबाही फुकुवा गरेपछि केन्द्रीय कमिटीले अनुगमन गरेसँगै शाही कांग्रेसमै फर्किएका हुन् । उनी स्वतन्त्र उम्मेदवारी दिएर कर्णाली प्रदेश सभामा निर्वाचित भएका थिए ।
शनिबार कांग्रेस जुम्ला कमिटीले शाहीलाई स्वागत गरेको थियो । जुम्ला (क) बाट निर्वाचित उनी प्रदेश सभा निर्वाचनमा पार्टीले टिकट नदिएपछि स्वतन्त्र भएर चुनाव लडेका थिए । उनले कांग्रेसकै प्रदेश सभापति ललितजंग शाहीलाई नै पराजित गरेका थिए ।
प्रदेश सभापति शाहीले उनलाई पार्टीमा ल्याउनै चाहेका थिएनन् । सांसद शाहीले आफू सधैं कांग्रेस भएकोले र कारबाही फुकुवासँगै पार्टीमा फर्किएको जानकारी दिए ।
‘मसँग जनमत टन्नै थियो, तर पार्टीले अन्याय गरेपछि विद्रोह गर्नुपरेको थियो,’ उनले भने, ‘चुनाव जितेर विद्रोहको औचित्य पनि त पुष्टि गरें ।’
उनले चुनावताका आफूले कांग्रेस त्यागेको नभई पार्टीले अन्याय गरेको कारण बाध्य भएर स्वतन्त्र उम्मेदवार भएको भनेर भोट मागेको पनि बताए ।
जुम्लामा संस्थापन पक्षबाट प्रदेश सभापति शाही र इत्तरपक्षबाट सांसद शाहीको आन्तरिक लडाइँ हुने गरेको छ । सांसद शाही पार्टीमा फर्किएसँगै प्रदेश सभामा कांग्रेस सांसदको संख्या १५ पुग्ने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।