काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकपछि पार्टी चलायमान हुने अपेक्षा गरिएको थियो ।
दुई सातामै कांग्रेसमा विग्रह देखिन थालेको छ । महिला संघ, तरुण दल र नेविसंघ तदर्थ समितिलाई लिएर कांग्रेस नेताहरू फेरि विभाजित हुन थालेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले केही समयअघि चार सय सदस्यीय तरुण दलको तदर्थ समिति गठन गरे । तर त्यो विवादमुक्त हुन सकेन ।
तरुण दलमा आउन चाहने धेरैलाई रोकिएको भन्दै असन्तुष्टि सुरु भयो । लगत्तै नेपाल महिला संघमा पनि विवाद देखियो । संघकी सभापति उषा राउत मिश्रलाई बर्खास्त गर्नुपर्ने माग गर्दै २० केन्द्रीय सदस्यले पत्रकार सम्मेलन नै गरे ।
अध्यक्ष मिश्रले आफूखुसी १२ जिल्ला अध्यक्षलाई हटाएर निकटकालाई मनोनीत गरेको भन्दै उनलाई पार्टीले कारबाही गर्नुपर्ने मागसहित तीन दिनको समय दिइएको छ । त्यो अल्टिमेटम बुधबार पूरा हुँदै छ ।
यस्तै, इतिहासकै जम्बो तदर्थ समिति गठन हुँदा पनि नेपाल विद्यार्थी संघमा असन्तुष्टि उत्पन्न भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार नेविसंघ तदर्थ समितिमा सात सय १० जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए । नेविसंघको इतिहासमा यति ठूलो कार्यसमिति गठन भएको थिएन ।
सबै समूहलाई समेट्न ७१० सदस्यीय जम्बो कार्यसमिति घोषणा भए पनि संस्थापनबाहेक कांग्रेसको शेखर–गगन समूह र सिटौला समूह असन्तुष्ट देखिएको छ ।
दुवै समूहले सहमतिअनुसार आफ्नो समूहबाट पठाइएको नाम संस्थापन समूहले मनोमानी ढंगले हटाएर आफूखुसी समिति घोषणा गरेको आरोप लगाएका छन् ।
नेविसंघमा लामो समय राजनीति गरेका र नेतृत्वमा आउने सम्भावना भएकालाई हटाएर तदर्थ समितिमा नाम घोषणा भएको दुवै समूहका नेताहरूले आरोप लगाएका छन् ।
डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहका असन्तुष्ट विद्यार्थी नेताहरूले बुधबार नेविसंघको समानान्तर कमिटी घोषणा गर्ने तयारी गरेका छन् ।
इतर निकट विद्यार्थी नेता विनोद शाही ठकुरीले संगठनमा लामो समयसम्म काम गरेकालाई पाखा लगाउने गरी समिति ल्याइएको दाबी गर्दै बुधबार २ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेविसंघको समानान्तर समिति गठन गरेर अगाडि बढ्न लागेको बताएका छन् । यसले एकपछि अर्को विवादमा कांग्रेसका नेताहरू विभाजित हुन थालेको देखिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।