काठमाडौं - एमाले सांसद विमला राई पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले नेपाली सेना कटौती गर्ने बेमौसमी अभिव्यक्ति दिएपछि यो भुसको आगोझैं फैलिरहेको छ ।
दिनप्रतिदिन यस विषयमा आफ्नो धारणा राख्ने क्रम जारी छ । विभिन्न दलका नेताहरूले सामाजिक सञ्जालमार्फत विचार प्रकट गरिरहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले त नेपाली सेनाको विषयमा निरर्थक बहस गर्न खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुधवार विज्ञप्ति जारी गर्दै राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण अंगको रुपमा रहेको गौरवशाली संस्था नेपाली सेनाको सम्बन्धमा अकारण र निरर्थक बहस सिर्जना गर्न खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
योजनाबद्ध ढंगबाट स्वघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूबाट नै नेपाली सेनाको संख्या घटाउनु पर्ने र सेनाविहीन राज्यको परिकल्पनाजस्ता विषयहरू श्रृंखलावद्ध रूपमा बहस चलाउनु रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण रहेको राप्रपाले जनाएको छ ।
‘राज्यको आर्थिक भार घटाउने प्रशस्तै उपायहरू विद्यमान छन् र यसबारे राप्रपा बहस गर्न तयार छ । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठिनतम कालखण्डमा समेत प्रतिबद्ध रहेको नेपाली सेनालाई कमजोर बनाउने गरी बहस केन्द्रित गरिनु हुँदैन’ राप्रपाले विज्ञप्तिमा भनेको छ, ‘नेपालको एकीकरणदेखि विश्वमा शान्ति कायम गर्ने कार्यमासमेत अलग पहिचान बनाएको, विकास निर्माण, सिमानाको रक्षा, सामरिक महत्व, वन्यजन्तु संरक्षण, हिमाली पर्वतमालाहरूलाई स्वच्छ राख्ने चूनौतीपूर्ण कार्यदेखि आन्तरिक सुरक्षा र विपद्को समयमा समेत प्रभावकारी ढंगबाट आफ्नो जिम्मेवार भूमिका निर्वाह गरिरहेको नेपाली सेनालाई अस्थिर राजनीतिबाट सिर्जित घरेलु परिवेश र सामाजिक अराजकताका कारण राज्य कमजोर हुँदै गइरहेको वर्तमान अवस्थामा सेनाको भूमिकाउपर बेमौसमी बहस गरिनु दुःखद र आपत्तिजनक छ ।’ एमाले नेता सुरेन्द्र पाण्डे, गोकुल बासकोटादेखि धेरैले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
एमालेकै सांसदले बोले पनि बासकोटा र पाण्डेले सेनाको संख्या कटौती गर्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । रास्वपामा पनि अहिलेसम्म स्वर्णिम र सुमना श्रेष्ठ मात्र यो लाइनमा उभिएका छन् । अरुले यसलाई त्यति चासो दिएका छ्र्रैनन् । आफ्नै पार्टीका सांसद विवादमा परे पनि एमाले र रास्वपाले पार्टीगत रूपमा पनि केही बोलेको छैन ।
त्यति मात्र होइन, नेपाली सेनाले पनि आधिकारिक धारणा बाहिर ल्याएको छैन । विगतमा कुनै मिडियामा केही समाचार आउनेबित्तिकै विज्ञप्ति निकाल्ने जंगी अड्डा अहिलेसम्म मौन छ ।
त्यसैले कतै स्वर्णिम वाग्लेसँग प्रधानसेनापति प्रभुराम शर्माले सेनाको संख्या कटौती गर्ने कुरा संसदमा बोलिदिन भनेका त होइनन् भन्दै आशंका उब्जिएको छ ।
पछिल्लो समय नेपाली सेना आफ्नो उद्देश्य र कर्मभन्दा व्यावसायिक र व्यापारिक गतिविधिमा लीन भएको भन्दै जनता रुष्ट छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।