आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

देउवा किन बाध्य भए कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन ? भित्री कथा यस्तो छ

देउवा किन बाध्य भए कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन ? भित्री कथा यस्तो छ

  • मिडिया डबली
  • शनिवार, आषाढ २३ २०८०

  • 9.1K
    SHARES

  • देउवा किन बाध्य भए कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन ? भित्री कथा यस्तो छ
    फाइल तस्बिर

    काठमाडौं - नेपाली कांग्रेसको विधानमा हरेक दुई महिनामा एकपटक केन्द्रीय समिति बैठक बस्नुपर्ने उल्लेख छ । तर कांग्रेस बैठक गत साउनयता एकपटक पनि बस्न सकेको छैन ।

    गत वर्ष भदौ ५ गते नेता प्रदीप गिरीको निधनमा केन्द्रीय समितिको आकस्मिक बैठक बसेको थियो । तर त्यसयता पार्टी सभापति शेरबहादुर देउवाले विभिन्न बहाना बनाएर केन्द्रीय समिति बैठक छल्दै आएका छन् ।

    झन्डै एक वर्षसम्म बैठक बस्न नसक्दा कांग्रेस केन्द्रीय सदस्य तथा नेता कार्यकर्ताहरुले सार्वजनिक रूपमै नेतृत्वको विरोध गर्दै आइरहेका छन्। पार्टीको विधानअनुसार कांग्रेसको केन्द्रीय समिति बैठक हरेक दुई महिनाको एकपटक बस्नुपर्ने भए पनि पार्टीभित्रका असन्तुष्टि र खबरदारी पार्टीभित्रै राख्न नपाएको उनीहरुको गुनासो छ।

    कांग्रेस र राष्ट्रिय राजनीतिमा समेत अर्थ राख्ने महत्वपूर्ण निर्णयसमेत पार्टी सभापति शेरबहादुर देउवा र उनीनिकटका केही नेताले पार्टीभित्र छलफल नै नगरी गर्ने गरेको भन्दै संस्थापनइतर समूह रुष्ट बनेको छ।

    गत पुसमा तत्कालीन गठबन्धन तोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँगको गठबन्धनबाट प्रधानमन्त्री बनेपछि कांग्रेसमा नेतृत्वको चर्को आलोचना भयो ।

    कांग्रेस नेतृत्वले समयमै तयारी नगर्दा गठबन्धन टुटेको भन्दै समीक्षा गर्न कांग्रेस बैठक बोलाउन माग गरिएको थियो । तर देउवाले बैठक बोलाउन चाहेनन् ।

    प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सहयोग तत्पर भएपछि कांग्रेसको संस्थापन पक्षले थोरै भए पनि राहतको महसुस गरेको थियो । त्यसपछि देउवाले केन्द्रीय समिति बैठकभन्दा पनि कार्यसम्पादन समिति बैठक र पदाधिकारी बैठकबाटै कांग्रेसले गर्ने निर्णय अनुमोदन गराउँदै आएका छन् ।

    पार्टी केन्द्रीय समितिमा बहुमत भए पनि किन देउवाले केन्द्रीय समिति बैठक टार्दै आएका छन् भन्ने कुरामा कांग्रेसमै चर्को असन्तुष्टि छ ।

    पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको हाइट बढ्न नदिन, उनीहरूलाई पार्टी निर्णयमा हाबी हुन नदिन संस्थापन पक्षकै केही नेताका कारण देउवाले बैठक सार्दै आएका थिए ।

    तर यसपटक महामन्त्रीद्वय थापा र शर्मा कुनै पनि हालतमा नरोकिने, देशभर पार्टी नेतृत्वको स्वेच्छाचारीविरुद्ध नेता कार्यकर्तामा जाने अडान लिएपछि सभापति देउवा आगामी असार २७ गते केन्द्रीय समिति बैठक बोलाउन तयार भए ।

    तर, केन्द्रीय समिति बैठक बोलाउने विषयमा उनले पार्टीका महामन्त्रीद्वयलाई पनि जानकारी नगराएको बुझिएको छ ।

    पार्टी सभापतिलाई केन्द्रीय समिति बैठक बोलाउने, केन्द्रीय सदस्य मनोनीत गर्ने, नेताहरूको कार्यविभाजन गर्ने, केन्द्रीय विभाग, भ्रातृसंगठनको नेतृत्व चयन गर्ने अधिकार छ । तर, यी सबै अधिकार भए पनि सभापति देउवाले पार्टी चलायमान गर्न कुनै काम गरेनन् ।

    निर्वाचन, सरकार गठन, राष्ट्रपति निर्वाचन, उपनिर्वाचन जस्ता विभिन्न घटना देखाएर बैठक नै नराखेपछि पार्टीमा तीव्र असन्तुष्टि उत्पन्न भयो ।

    पार्टी महामन्त्री शर्माले त पदाधिकारी बैठकमै आफूले महामन्त्रीबाट राजीनामा दिनेसम्मको चेतावनी दिए । मन्त्री नियुक्तिमा एकलौटी, उपनिर्वाचनमा उम्मेदवार उठाउँदा कसैसँग सल्लाह नै लिएनन् ।

    देउवा स्वेच्छाचारी ढंगले चल्न थालेपछि महामन्त्री थापाले तीव्र असन्तुष्टि जनाए । उनले आफूले अब धैर्यता लिन नसक्ने चेतावनी दिए ।

    त्यसपछि पार्टी विधानले दिएको अधिकार प्रयोग गर्दै महामन्त्रीद्वय थापा र शर्माले पार्टीलाई डिजिटलाइजेसनमा लैजाने, पार्टीको नियमावली र कार्यालय सञ्चालन गर्न निर्देशिका तयार, पार्टीलाई सिस्टममा लैजाने, स्थानीय जनप्रतिनिधिहरूलाई अनुशिक्षण कार्यक्रम राखेको, जिल्ला सभापतिहरूको भेला पार्टी कार्यालयमा राख्ने काम गरे ।

    भेलामा ४२ जिल्ला सभापति, १८ जना जिल्लाका प्रतिनिधि र बाँकीलाई भर्चुअल माध्यमबाट सम्बोधन गरी सफलतापूर्वक सम्पन्न गरेका छन् । महामन्त्रीद्वयको यो कार्यशैलीले संस्थापन पक्षमै तरंग सिर्जना गरेको छ ।

    संस्थापन पक्षका केही नेताले देउवालाई बैठक नबोलाउन दबाब दिँदै आएका थिए । तर अब पार्टीलाई तल्लोस्तरसम्मै परिचालन गर्न महामन्त्रीद्वय थापा र शर्माले केन्द्रीय सदस्यलाई प्रत्येक जिल्लामा पठाउने तयारी गरेपछि सभापति देउवा असार २७ गते नै केन्द्रीय समिति बैठक बोलाउन तयार भएको नेताहरू बताउँछन् ।

    पार्टीमा अहिले विशेष महाधिवेशनको माग जबर्जस्त उठिरहेको छ । भदौमा नीति महाधिवेशन गर्ने कांग्रेसको तयारी छ । तर पार्टी सभापति देउवा भने पहिले प्रचार विभाग गठन गर्ने र त्यसमा आफूनिकट पत्रकार र नेतालाई राखेर इतर पक्षको तेजोबध गर्न लागिपरेको देखिएपछि असन्तुष्टि उत्पन्न भएको छ ।

    प्रचार विभागको पहिलो बैठकले नीति र नेतृत्वको विरोध नगर्न पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई अनुरोध गर्ने निर्णय गरेर नेतृत्वलाई खुसी पार्न लागेको छ ।

    जसको अहिले तीव्र विरोध भइरहेको छ । त्यति मात्र होइन, तरुण दल र महिला संघको तदर्थ समिति गठन गर्दा पनि संस्थापन पक्षकै धेरैलाई राखिएको छ । यसले पनि कांग्रेसमा व्यापक असन्तुष्टि छ ।

    आगामी केन्द्रीय समिति बैठकमा यो विषयलाई केन्द्रीय सदस्यहरूले सशक्त ढंगले उठाउने तयारी गरेका छन् । कांग्रेसको १४औं महाधिवेशनपछि पार्टी जुन ढंगले क्रियाशील हुनुपर्ने हो त्यो नभएपछि कांग्रेसका नेता कार्यकर्ता मात्र होइन, आमसर्वसाधारणलाई पनि चित्त बुझेको छैन ।

    राष्ट्रिय राजनीतिमा कांग्रेसले सक्रिय र सशक्त भूमिका खेल्न नसकेको मात्र होइन, नेतृत्व नै परिवर्तन गर्नुपर्ने, युवाले नेतृत्व लिनुपर्ने आवाज उठ्दै आएको छ ।

    कांग्रेसको अहिलेकै नेतृत्व रहिरहने हो भने २०८४ को स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले ठूलो क्षति बेहोर्नुपर्ने संकेत देखिन थालेपछि अहिलेदेखि नै कांग्रेसलाई धारिलो बनाउन महामन्त्रीद्वय थापा र शर्मा अघि बढेको नेताहरु बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०३:२५:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend