काठमाडौं- उपराष्ट्रपतिको निर्वाचनलगत्तै नेपाली कांग्रेस पनि सरकारमा सामेल हुने भएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिताका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । राष्ट्रपति निर्वाचनमा आठदलीय गठबन्धन भएको छ । त्यसैले आठ दल नै सरकारमा सहभागी हुने तयारीमा छन् । उपराष्ट्रपति निर्वाचनपछि गठबन्धनको बैठक बसेर मन्त्रालय भागबन्डा टुंगो लगाइने भएको छ ।
अन्य दलमा नेतृत्व गर्ने नेताको विषयमा चासो नभए पनि नेपाली कांग्रेसमा भने पार्टीको नेतृत्व गरेर को जाला भन्ने चासो सर्वत्र देखिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई नेतृत्व गर्ने नेता कसलाई बनाउने भन्ने संकट देखिएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा पछि हटेकाले नेतृत्व गर्ने नेताको खोजी भएको हो ।
कांग्रेस महामन्त्री थापाले आफू पाँच वर्षसम्म मन्त्री नहुने स्पष्ट पारेका छन् । यसअघि कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि उनले आफू यो पाँच वर्षे कार्यकालमा मन्त्री नबन्ने बताएका थिए । तर कांग्रेस र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दबाब धेरै परेपछि थापाले आइतबार स्पष्ट रूपमा आफू महामन्त्रीकै हैसियतमा क्रियाशील हुने स्पष्ट पारेका हुन् ।
आइतबार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको अन्तरक्रियामा थापाले आफू प्रधानमन्त्री बन्नका लागि पार्टीको संसदीय दलको नेतामा उठेको र पराजित भइसकेको अवस्थामा मन्त्री बन्ने चाहना नभएको बरु सांसदको रूपमा जनताको सेवा गर्ने बताए । ‘मैले पाँच वर्षका लागि पाएको जिम्मेवारी भनेको सांसदको जिम्मेवारी हो । मैले यो सबै कामहरु मैले कांग्रेसको महामन्त्री भएर आफ्नो काम गर्ने हो । त्यो कामहरु गर्छु । मैले सांसद भएर प्रधानमन्त्रीकोमा, संसद्मा उठाउनुपर्ने कुराहरु उठाउँछु । म न अहिले मन्त्री बन्ने हो, न मैले बन्न मिल्छ, न बन्दैछु, न बन्छु अहिले । मैले अहिले कांग्रेस सरकारमा गइरहेको बेलामा यो सरकारलाई सफल बनाउने हो,’ उनले भने, ‘म सरकार कति दिन टिक्यो भन्ने आधारमा सफलता नाप्दिनँ । परिणाम के निस्कियो भन्ने हो । यो सरकारले परिणाम दिन सकेन भने पाँच वर्ष खेर जान्छ ।’
यसअघि उपसभापति खड्काले आफू मन्त्री नबन्ने स्मरण गराएका थिए । सात वर्षअघि नै आफू मन्त्री नबन्ने उनले दोहोर्याएका छन् । पार्टी उपसभापति खड्का र महामन्त्री थापाले नै आफू मन्त्री नबन्ने स्पष्ट पारेपछि अब कांग्रेसमा तेस्रो नेताको खोजी सुरु भएको छ । अब कांग्रेसका अर्का उपसभापति धनराज गुरुङ वा नेता विमलेन्द्र निधिमध्ये एकले कांग्रेसको नेतृत्व गरेर सरकारमा जानेबारे छलफल सुरु भएको नेताहरु बताउँछन् ।
निधिको पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवासँग त्यति हार्दिक सम्बन्ध छैन । विगतमा देउवा क्याम्पकै बलियो हस्ती निधि १४औं महाधिवेशनअघि देउवा समूहबाट बाहिरिँदै सभापतिमा उम्मेदवारी दिएका थिए । तर सभापतिको दोस्रो चरणको निर्वाचनमा उनले देउवालाई समर्थन गरेका थिए । त्यही भएर देउवाले निधिलाई केन्द्रीय सदस्य र समानुपातिकबाट प्रतिनिधिसभा सदस्यसमेत बनाइदिएका थिए । खड्का र थापा सरकारमा नजाने भएपछि निधिले नेतृत्व गर्नेबारे चर्चा भएको हो ।
तर उपसभापति खड्का भने यसपटक अर्का उपसभापति गुरुङलाई पार्टीको नेतृत्व गरेर सरकारमा पठाउने मनस्थितिमा रहेको बुझिएको छ । उनले गुरुङलाई सरकारमा पठाउन सभापति देउवासँग कुराकानी गरिरहेको स्रोतले बतायो । पार्टीकै पदाधिकारीलाई नेतृत्व गरेर पठाउँदा अन्य सिनियर नेताको दाबी कमजोर हुने बुझाई खड्काको छ ।
कांग्रेसमा प्रवक्ता डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य एनपी साउद, मोहनबहादुर बस्नेत, डा.शशांक कोइराला, प्रकाशमान सिंहलगायतले प्रचण्ड नेतृत्वको सरकारमा आफूलाई नेतृत्व गरेर पठाउन सभापति देउवासँग आग्रह गरिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।