काठमाडौं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको नागरिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार पनि सुनुवाइ हुँदैछ । सर्वोच्चले बुधबार लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सुनुवाइ गर्दागर्दै समय अभावका कारण ‘हेर्दाहेर्दै’मा राखेको थियो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा बुधबार सुनुवाइ नसकिएपछि शुक्रबारका लागि तोकिएको थियो । यो मुद्दामा सम्भवतः आजै फैसला आउन सक्ने बताइएको छ।
अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए ।
नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उनको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको थियो ।
अमेरिकी नागरिकता लिएकै बेला पर्यटक भिसामा नेपाल आएका लामिछानेले सञ्चारकर्म गरिरहँदा विवाद भएपछि उनले अमेरिकी नागरिकता त्यागेका थिए । तर, त्यसपछि नेपाली नागरिकता पुनः कायम गराउन कुनै कानुनी प्रक्रिया नचालेको र अमेरिकी पासपोर्ट कायम रहेकै समयमा पुरानो नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट बनाएको आरोप लामिछानेमाथि छ ।
अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता फेरि कायम गर्ने प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज हुनुपर्ने मागदाबी रिटमा गरिएको छ । अदाललते दिएको यसअघिको आदेशमै २०७५ असार ६ गते अध्यागमन विभागमा पेस गरेको कागजात, सो सम्बन्धमा भएको कारबाहीसम्बन्धी कागजात गृह मन्त्रालय वा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालयसमेत जहाँ छ, सो निकायबाट सात दिनभित्र झिकाउन आदेश दिएको थियो ।
अदालतको आदेशअनुसार सबै कागजात र विवरण अदालतसमक्ष आइसकेको बताइएको छ । गृहमन्त्री लामिछानेले भने अमेरिकी नागरिकता त्यागेसँगै आफ्नो नेपाली नागरिकता स्वतः कायम हुने दाबी गरेका छन् ।
सुनुवाइ टुंगिएपछि सर्वोच्च अदालतले यो मुद्दामा लिने फैसला नजिरका रूपमा स्थापित हुने छ । यदि सर्वोच्चले लामिछानेले नागरिकता लिने प्रक्रिया पूरा नगरेको ठहर गरे उनको सांसद र मन्त्री पद खारेज हुन सक्छ । लामिछानेको मुद्दा सरकारवादी हो ।
तर सरकारी वकिलहरूले गृहमन्त्री भएकै कारण लामिछानेको पक्षमा बहस गरेका छन् । प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, निर्वाचन आयोग सबै लामिछानेको मुद्दाको विपक्षमा हुनुपर्नेमा सहयोगी भूमिका निभाएकाले यो मुद्दामा लामिछानेको नागरिक स्वतः नेपाली भएको व्याख्या गर्दै फैसला आउन सक्ने आशंकासमेत गरिएको छ ।
आफ्नो मुद्दालाई प्रभावित पार्नकै लागि लामिछानेले स्वार्थ बाझिने गरी गृह मन्त्रालय लिएको धेरैको ठम्याइँ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।