काठमाडौं - पहिलो चुनावमै सिके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बन्न सफल भएको छ । सो पार्टीले प्रत्यक्षमा एक सिट, प्रदेश सभामा ६ र ३ प्रतिशतको थ्रेस होल्ड कटाएको छ ।
दुई वर्षअघि मात्र मूलधारको राजनीतिमा आएर यत्रो सफलता प्राप्त गर्नु चानचुने सफलता होइन । सीके राउतको उदयले अहिलेसम्म मधेसको नाममा राजनीति गरेर आफ्नो स्वार्थ पूरा गरिरहेका उपेन्द्र यादवलगायतका नेताको राजनीति भविष्यमा ठूलो धक्का लाग्न सक्ने देखिएको छ ।
यसपटक मधेसका ठूला नेताहरू उपेन्द्र यादव, राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायत पराजित भए । मधेसमै एमाले छाडेका प्रभु साहले जबर्जस्त रूपमा आफूलाई स्थापित गरे ।
माओवादी हुँदै एमाले र स्वतन्त्र बनेका प्रभु साहले रौतहटबाट प्रतिनिधिसभामा दुई सांसद र प्रदेश सभामा पाँचजना जिताए । मोरङका योगेन्द्र मण्डल पनि प्रभु साह निकट मानिएको छ । त्यसैले अब मधेसको राजनीतिमा उपेन्द्र, राजेन्द्रको होइन, प्रभु साह र सिके राउतको दबदबा सुरु हुने स्थिति देखिएको छ ।
यदि सिके राउत र प्रभु साह मिलेमा मधेसमा उपेन्द्र यादवको युग सकिने निश्चित छ । अब बन्ने मधेस प्रदेशको सरकारमा सिके राउत र प्रभु साह निर्णायक हुने देखिएको छ।
किनभने जनमत पार्टीका ६ र स्वतन्त्र ६ गरी १२ सांसद भएको छ । त्यसैले मधेस सरकार बनाउँदा आपसमा मिल्ने गरी सिके राउत र प्रभु साहबीच छलफल सुरु भइसकेको छ । अघिल्लो निर्वाचनमा जसपा र लोसपाको बहुमत थियो । अहिले दुवैको जोड्दा १६ भएको छ । जबकि एमाले एक्लैको १६ सिट छ ।
त्यसैले मधेस प्रदेशमा को मुख्यमन्त्री बन्छ, कसले सरकार बनाउँछ भन्ने भन्न सकिने अवस्था छैन । सत्ता गठबन्धनको पनि बहुमत छैन । कांग्रेसले १३, लोसपाको सात, माओवादी केन्द्रको चार, एकीकृत समाजवादीको चार गर्दा जम्मा २८ मात्र हुन्छ । त्यसैले मधेसमा सरकार बनाउन समानुपातिक नतिजामा भर पर्नुपर्ने देखिएको छ । मधेस प्रदेश सभा एक सात सदस्यी छ । सरकार बनाउन ५३ सिट आवश्यक पर्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।