काठमाडौं - माओवादी केन्द्रले स्थानीय निर्वाचन लक्षित तेस्रो परिपत्र जारी गरेको छ । परिपत्रमा उसले निर्वाचनमा उम्मेदवार चयन गर्दा अपनाउनुपर्ने मापदण्ड स्पष्ट रुपमा उल्लेख गर्नुका साथै गठबन्धन दलहरुबीच मात्रै निर्वाचनमा तालमेल गर्न पाइने निर्णय पनि प्रेसित गरेको छ ।
बिहीबार सम्पन्न सत्तारुढ गठबन्धन दलको बैठकपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षरसहित माओवादी केन्द्रले शुत्रबार जारी गरेको आन्तरिक परिपत्रमा विशेष परिस्थिति बाहेक पहिले विजयी उमेदवारलाई नदाहोर्याउन निर्देशन दिएको छ ।
पार्टीको यो परिपत्रपछि जिल्ला जिल्लामा भूकम्प गएको छ । सोही कारण अहिलेसम्म कुनै पनि स्थानीय तहमा माओवादीको चुनाव लक्षित अभियान सुरु हुन सकेको छैन ।
माओवादीले जारी गरेको परिपत्रमा उम्मेदवार देश जनता, पार्टी र क्रान्तिप्रति इमान्दार र निष्ठावान हुनुपर्ने, स्वच्छ छवि भएको हुनुपर्ने मापदण्ड तोकेको छ ।
त्यसैगरी विजयको सम्भावना भएको लोकप्रीय व्यक्ति छनौट गर्नुपर्ने पनि उल्लेख गरेको छ । समावेशी समानुपातिक प्रतिनिधित्वलाई लागू गर्न पनि निर्देशन दिइएको छ।
गठबन्धन दलबाहेक अन्य दलसँग तालमेल गर्नुपर्ने अवस्था आएमा गठबन्धनमा अनुमति लिएर गर्न सक्ने बाटो खुला गरिएको परिपत्रमा उल्लेख छ ।
स्थानीय वडा तहदेखि नै गठबन्धनको संयुक्त संयन्त्र निर्माण गर्ने र गठबन्धन र अन्य दलको वर्तमान अवस्था कस्तो छ ५ दिनभित्र स्पष्ट तथ्यांक पठाउन पनि निर्देशन दिएको छ ।
परिपत्रमा भनिएको छ, ‘संयन्त्रको बैठक आयोजना गरी पाँच दिनभित्र गठबन्धन र अन्य दलको निर्वाचनसम्वन्धी वर्तमान अवस्था कस्तो छ, तथ्यगत वस्तुस्थितिको जानकारी सहितको रिपोर्ट केन्द्रीय संयन्त्रमा पठाउने ।’
उम्मेदवार छनोटको मापदण्डमा विशेष परिस्थितिबाहेक सामान्यतया विगतका जनप्रतिनिधिलाई नदोहोर्याउने तथा विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनोटमा ध्यान दिने भन्ने उल्लेख गरिएको शब्द प्रचण्डले आफ्नी छोरी रेणु दाहालका लागि ध्यान दिएर राखिएको माओवादी केन्द्रका नेता कार्यकर्ताको अनुमान छ ।
यदि माओवादीले पहिले जितेका स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई टिकट नदिएमा उनीहरूले विद्रोह गर्न सक्ने सम्भावना पनि उत्तिकै छ ।
त्यसै पनि अहिले धमाधम माओवादी जनप्रतिनिधि एमाले र कांग्रेसमा प्रवेश गरिरहेका छन् । यसपटक प्रचण्ड रेणुलाई फेरि पनि भरतपुर महानगरपालिकाको मेयर उठाउने दाउमा छन् । त्यही भएर उनले जसरी पनि गठबन्धन हुनुपर्ने भन्दै आएका हुन् ।
तर, कांग्रेस चितवनले भने यसपटक रेणुले आफ्ना लागि महानगरपालिका छाडिदिनुपर्ने अडान राख्दै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।