काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बस्ने तय भएको बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित रहने छ ।
शुक्रबार २० जना प्रतिनिधिले ‘घरघर जाऔं, नेपाली कांग्रेस जिताऔ’ अभियानबारे आफू खटिएको जिल्लाको वस्तुस्थितिबारे बिफ्रिङ गरेका थिए । आजको बैठकमा पनि बिफ्रिङ जारी रहनेछ ।
आजको बैठकमा चुनावी घोषणापत्र र गठबन्धनबारे छलफल गर्ने कांग्रेसको तयारी छ । कांग्रेस बैठकमा स्थानीय तहको निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने बहस चलिरहेको छ ।
धेरै केन्द्रीय सदस्यले कांग्रेस एक्लै चुनावमा जानुपर्ने पक्षमा मत जाहेर गरेका छन् । तर, केहीले भने कम्युनिस्टहरू अन्तिममा मिल्न सक्ने भएकाले कांग्रेसले आवश्यक परेको ठाउँमा तालमेल गरेर जानुपर्ने मत राखेका छन् ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन गरेर जानुपर्ने पक्षमा आफ्ना भनाइ राख्दै आएका छन् । उनले सबै केन्द्रीय सदस्यको धारणा बैठकमा सुनिरहेका छन् ।
त्यसैले एक दुई दिन जारी रहने कांग्रेस केन्द्रीय समितिको बैठकले चुनावी गठबन्धनबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।
तर, अहिले प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बारेमा कांग्रेस बैठकमा राखेका धारणा बारे अहिले चौतर्फी चासो उत्पन्न भएको छ ।
देउवाले ‘प्रचण्ड हार्ने चुनाव लड्दैनन्’ भनेर दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल रंगिएको छ । प्रचण्डबारे देउवाले सही विश्लेषण गरेको धेरैको भनाइ छ ।
किनभने प्रचण्डले अहिले एमालेको दोस्रो तहका नेतासँग आफ्ना पार्टीका नेतालाई कुराकानी गर्न पठाइरहेका छन् । यदि कांग्रेसले तालमेल वा गठबन्धनबारे निर्णय गर्न ढिला भएमा प्रचण्ड एमालेसँग मिल्ने धेरैको बुझाई छ ।
देउवाले त्यही संकेत गर्न कांग्रेस बैठकमा भनेको बताइएको छ । कम्युनिस्ट नेताको भर हुन्न भन्ने देउवालाई पहिल्यै थाहा भएको विषय हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।