काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आज कांग्रेस बैठक बोलाएका छन् । बैठक भर्चुअल माध्यमबाट बस्नेछ ।
राष्ट्रिय सभाको निर्वाचनको समीक्षा र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न देउवाले कांग्रेस केन्द्रीय समिति बैठक बोलाएका हुन् ।
बैठकले स्थानीय तहको निर्वाचन तथा केन्द्रीय कार्यसमिति गठनबारे ठोस निर्णय लिने भएको छ । कांग्रेस बैठक बस्नुअघि नै प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष तीन नेताबीच छलफल भएको हो।
राष्ट्रिय सभाको निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे तीन नेताबीच छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री देउवाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटबारे प्रचण्ड र नेपाललाई जानकारी गराएका थिए ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई समयमै निर्वाचन गर्न सल्लाह दिएकी थिइन् । प्रधानमन्त्रीले गठबन्धनका नेताहरूसँग यसबारे छलफल गर्ने जानकारी गराएका थिए ।
तर, अहिले कांग्रेस बैठक बस्नुअघि नै प्रचण्ड र माधव नेपाल किन बालुवाटार पुगे भन्ने विषयबारे विभिन्न अड्कलबाजी सुरु भएको छ ।
स्थानीय तहको निर्वाचन असोजभन्दा अगाडि नगर्न दबाब दिनकै लागि प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री देउवालाई दबाब दिएको स्रोतले बतायो ।
प्रधानमन्त्री देउवा भने चाँडै स्थानीय तहको निर्वाचन गर्ने मनस्थितिमा छन् । यो कुरा उनले आफू निकट कांग्रेस नेताहरूलाई भनिसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।