काठमाडौं - केही दिनयता राजनीतिक सरगर्मी सुरु भएको छ । खासगरी स्थानीय तहको निर्वाचनलाई लिएर सम्भावित परिणाम र गठबन्धनलाई लिएर शंका उपशंका सुरु भएको हो ।
प्रमुख प्रतिपक्षी दल एमालेले फागुन वा चैतमै स्थानीय तहको निर्वाचन हुनुपर्ने भन्दै सरकारलाई दबाब दिइरहेको छ । सत्ताबाट ६ महिना बाहिर बसेको एमाले आफ्नो पुरानो गुमेको साख फर्काउने ध्याउन्नमा छ । सोही कारण उसले अहिलेको पाँचदलीय गठबन्धनलाई भत्काउन पनि स्थानीय तहको निर्वाचनको राग अलपिरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष एमाले अध्यक्ष केपी ओलीले विभिन्न सूत्रमार्फत दबाब बढाइरहेका छन् । तर, सत्तारुढ गठबन्धनमा आबद्ध माओवादी केन्द्र र एकीकृत समाजवादी भने स्थानीय तहको चुनाव तत्काल होस् भन्ने पक्षमा छैनन् ।
उनीहरू आगामी मंसिरमा एकैपटक तीनै तहको निर्वाचन गराउनुपर्ने पक्षमा छन् । तत्काल चुनाव भए पराजित हुने हो कि भन्ने डर पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालमा छ ।
त्यही भएर उनीहरू चुनावसम्म गठबन्धन कायमै रहन्छ भनिरहेका छन् । तर, कांग्रेसमा भने सभापति देउवामाथि दबाब बढ्दो छ । आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन गर्न नहुने भन्दै दोस्रो तहका नेताहरूले दबाब बढाएका हुन् । तर, प्रधानमन्त्री देउवा भने वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा देखिएका छन् ।
राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायमै रहनु्पर्ने पक्षमा उनी छन् । सम्भवतः भोलि बिहीबार बस्ने सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा यो विषयले ठोस आकार लिनेछ । स
रकार सञ्चालनमा सहयोग गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा कांग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सदस्य छन् ।
साथै राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल पनि समितिमा सदस्य छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।