मंगलवार, मंसिर २१ २०७८Dec 07 2021

Logo
images
images
images

देशको अर्थतन्त्र बलियो बनाउन देउवा सरकारको यस्तो रणनीति

देशको अर्थतन्त्र बलियो बनाउन देउवा सरकारको यस्तो रणनीति

  • मिडिया डबली
  • सोमवार, मंसिर ६ २०७८

  • 489
    SHARES

  • देशको अर्थतन्त्र बलियो बनाउन देउवा सरकारको यस्तो रणनीति

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले विलासिताका महंगा वस्तु आयातमा अंकुश लगाउने भएको छ ।

    उच्च व्यापार घाटा तथा विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले विलासी वस्तुको आयात रोक्न तथा निरुत्साहित गर्ने गृहकार्य अघि बढाएको छ ।

    images

    उच्च आयातका कारण बैंकिङ प्रणालीमा तरलता अभाव हुने मात्रै नभई भुक्तानी सन्तुलन र चालू खाता घाटा समेतमा चाप परेपछि सरकारले आयात निरुत्साहनको नीति लिँदै विलासी वस्तु आयातमा अंकुश लगाउने तयारी गरेको छ ।

    जसका लागि सरकारले खासगरी विलासिताका रुपमा हेरिएका वस्तुहरू जस्तै, सुन, चाँदी, महंगा गाडी लगायतका आयातलाई निरुत्साहित गर्ने भएको छ ।

    सरकारले यसअघि केराउ, मरिच, छोकडा लगायतका आयातमा लगाइएको बन्देजलाई समेत निरन्तरता दिएको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले आयात नियन्त्रण गर्न नभई मुलुकको वर्तमान अवस्थालाई ध्यान दिई केही वस्तुहरुमा नियमन गर्नुपर्ने देखिएकाले सरकारले यस्तो तयारी गर्न लागेको बताएका छन् ।

    भन्सार विभागले समेत गत बुधवार सूचना प्रकाशन गरी विदेशबाट फर्किएका यात्रुले ल्याउने सुनमा कडाइ गर्ने संकेत गरेको छ  । विद्यमान कानून अनुसार विदेशबाट फर्किएका यात्रुले ५० ग्राम तौलसम्मका गरगहना ल्याउन पाउने व्यवस्था रहेको छ तर विभागले राजस्व छल्ने नियतले सुन ल्याएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

    ‘विदेशबाट फर्केका यात्रुले सुनको स्पष्ट घोषणा नगरिएको तथा सुनलाई गहना भनी घोषणा गरी राजस्व छल्ने गरेको भन्ने सूचना प्राप्त भएको छ,’ विभागको सूचनामा उल्लेख गरिएको छ, ‘कसैले स्पष्ट घोषणा नगरी राजस्व छल्ने नियतले सुन साथमा ल्याएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने व्यहोरा सबैमा सूचित गरिन्छ ।’

    अर्थ मन्त्रालयका सचिव मरासिनीले वैदेशिक रोजगारीमा रहेका कामदार स्वदेश फर्कंदा उनीहरुलाई भरियाका रुपमा प्रयोग गरी ५० ग्राम सुन पठाउने गरिएको देखिएकाले त्यसमा निगरानी गर्न खोजिएको बताए ।

    यसअघि अर्थ मन्त्रालयले गत असोज १९ गते राजपत्रमा सूचना प्रकाशन गरी चाँदीको भन्सारदर बढाएको छ ।

    चाँदीको आयात अस्वाभाविक रुपमा बढेको र नेपालमा आयात भई भारत तस्कर हुने भन्दै मन्त्रालयले भन्सार दर बढाएको छ । जसअनुसार प्रति १० ग्राम १०७ रुपैयाँ कायम गरिएको छ । त्यसअघि चाँदीको भन्सारदर प्रति १० ग्राम ८५ रुपैयाँ थियो ।

    भन्सार दर बढाएपछि चाँदीको आयात करीब ५० प्रतिशतले घटेको अर्थसचिव मरासिनीले बताएका छन् ।

    उच्च आयात र त्यसबाट शोधनान्तर एवं विदेशी विनिमय सञ्चितिमा परेको असरका विषयमा अर्थ मन्त्रालयमा पटकपटक छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले जनाएका छन् ।

    सोहीअनुसार कतिपय वस्तुको आयात निरुत्साहित गर्ने काम भइरहेको भट्टराईले बताए । उनले आवश्यकताअनुसार विलासिता र अनावश्यक वस्तुको आयात निरुत्साहित गर्ने विषयमा छलफल भइरहेको र अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालयले सोहीअनुसार व्यापार उपकरण अपनाइरहेको बताएका छन् । 

    चालू आर्थिक वर्षको पहिलो ३ महिनामा ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३ दशमलव ७३ प्रतिशतले बढी हो । आव २०७७/७८ को पहिलो ३ महिनामा २ खर्ब ९२ अर्ब २६ करोड रुपैयाँ बराबरको आयात भएको थियो । खासगरी आर्थिक गतिविधि तथा खपत बढ्दै जाँदा आयात उच्चदरमा बढेको हो तर उच्चदरको आयातले अर्थतन्त्रमा सर्वत्र चाप पारेको छ । वित्तीय प्रणालीमा तरलताको कमी गराउनदेखि शोधनान्तर र विदेशी विनिमय सञ्चितिमा चाप पार्नसमेत उच्चदरको आयातले भूमिका खेलेको छ ।

    भन्सार विभागका अनुसार असोज मसान्तसम्ममा नेपालले कूल ५ खर्ब ४३ अर्ब ५७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६८.१३ प्रतिशतले बढी हो । कुल व्यापारमा आयातको हिस्सा ८८.०३ प्रतिशत रहेको छ ।

    आयात उच्चदरमा बढेपछि नेपालको व्यापार घाटासमेत चुलिएको छ । ३ महिनामा नेपालले कुल ४ खर्ब १३ अर्बको व्यापार घाटा व्यहोरेको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५८.२८ प्रतिशतले बढी छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०५:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend