काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले झन्डै तीन महिनापछि आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । शुक्रबार दिउँसो ४ बजे नवनियुक्त मन्त्रीहरूले सपथ लिने तयारी छ ।
सरकारमा कांग्रेसबाट प्रधानमन्त्रीसहित सात, माओवादी केन्द्र पाँच, एकीकृत समाजवादी र जसपाले चार–चार मन्त्री पाउने भएका छन् । यसो गर्दा पनि अझै एक मन्त्रालय खाली रहनेछ ।
कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबाट २० मन्त्री हुनेछन् । तीनजना राज्यमन्त्री बन्नेछन् । प्रधानमन्त्री एक गरी २४ हुनेछन् । संविधानमा २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन पाउने व्यवस्था छ । त्यसैले एक मन्त्री प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भाग लगाइएको चर्चा चलेको छ ।
प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश जबराका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाउने तयारी गरेको स्रोतले बतायो । हमाललाई वनमन्त्री बनाउने बुझिएको छ । प्रधानन्यायाधीशले पनि सरकारमा भागबन्डा खोजेको भन्दै उनको चौतर्फी आलोचना भएको छ । प्रधानन्यायाधीशको यो मागले स्वतन्त्र न्यायपालिकालाई विवादमा पारिएको भन्दै सर्वत्र विरोध भएको हो ।
अघिल्लो केपी ओली सरकारको पालामा पनि प्रधानन्यायाधीश जबराले मन्त्रीको भाग खोजेको, तर ओलीले नदिएको समाचार सार्वजनिक भइसकेको छ । जबरालाई नै मन्त्रीको भागबन्डा नगर्दा ओली सरकार ढलेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
उनले प्रधानन्यायाधीशप्रति लक्षित गर्दै भनेका छन्, ‘पछिल्लो ओली सरकार ढल्नुमा सिंहदरबार र बालुवाटारका छिमेकीलाई रिझाउन नसक्दा हो ।’ सिंहदरबार नजिक सर्वोच्च अदालत र बालुवाटारमा प्रधानन्यायाधीशको सरकारी आवास छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।