काठमाडौं – २ हप्तायता कोरोना संक्रमण बढेपछि उपत्यकाका कोभिड अस्पतालमा गम्भीर बिरामीको चाप पनि वृद्धि भएको छ ।
त्रिवि शिक्षण अस्पतालका श्वासप्रश्वास तथा छातीरोग विशेषज्ञ डा. निरज बमका अनुसार ४–५ दिनयता गम्भीर लक्षण भएका कोरोना संक्रमितले आईसीयू र एचडीयू भरिइसकेको छ ।
अस्पतालमा ४० शय्याको आईसीयू, ३० वटा भेन्टिलेटर र १० वटा एचडीयू कुनै पनि खाली छैनन् । जनरल बेडमा पनि ९० जना भर्ना भइसकेका छन् । ‘१ हप्तायता बिरामीको संख्या ह्वात्तै बढेको हो,’ उनले भने ।
केही दिनयता छिमेकी र तराईका जिल्लाबाट रेफर भएर आउने बिरामी र सुरक्षाको खोजीमा आफैं भर्ना हुन आउने बिरामीका कारण अस्पताल भरिभराउ हुँदै गएको डा. बमले बताएका छन् । उनका अनुसार काठमाडौं नजिकका जिल्ला धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखाका साथै सोलुखुम्बु, मकवानपुर, रौतहट, बारा, धनुषा, पर्सा र गोरखाबाट बिरामी आइरहेका छन् ।
यी बिरामी सबैजसो अक्सिजन दिनुपर्ने अवस्थाका रहेका छन् । बिरामी भरिँदै गएपछि अन्य वार्डलाई कोभिड वार्डमा रुपान्तरण गर्ने कार्य भइरहेको डा. बमले बताए ।
वीर अस्पतालमा समेत ४–५ दिनदेखि भर्ना हुने कोरोना संक्रमित र ओपिडीमा उपचार गर्नेहरुको संख्या पनि बढेको अस्पतालका फिजिसियन डा. धु्रव गैरेले बताएका छन् । उनका अनुसार उपचारमा आउनेहरू धेरैजसो काठमाडौं उपत्यकाका छन् ।
दैनिक १० देखि १५ जना बिरामी भर्ना भइरहेको उनले बताए । केही दिनयता अस्पतालमा देखिएको बिरामीको चापले तेस्रो लहर सुरू भएको संकेत गरेको डा. गैरेले बताएका छन् ।
वीर अस्पतालको आईसीयू कक्ष कहिल्यै खाली हुन नपाएको प्रशासकीय प्रमुख डा. भुपेन्द्र बस्नेतले बताएका छन् ।
अस्पतालमा हाल १०० जनरल बेड, ४० वटा आईसीयू, ४४ वटा एचडीयू बेड छन् । १ हप्ताभित्र सय बेड थप हुने र अर्को २ हप्ताभित्रै ५०० बेड सञ्चालनमा ल्याउने तयारी भइरहेको डा. बस्नेतले बताए । ‘अब वीरमा आइपुगेका बिरामी बेड नपाएर फर्किनुपर्ने छैन,’ उनले भने ।
निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण बढ्दा अस्पताल आउने बिरामीको संख्या पनि बढेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । दैनिक २५–३० जना बिरामी भर्ना हुन आउने गरेको प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यले बताएका छन् ।
पाटनमा मंगलवारसम्ममा २५० जना कोरोना संक्रमित जनरल वार्डमा भर्ना भएका छन् । अस्पतालमा जनरल बेड २७३ वटा छन् । एचडीयूका सय, आईसीयूका २७ मध्ये बालबालिकाका ६ वटाबाहेक सबै बेड भरिइसकेको शाक्यले बताएका छन् ।
बहिरंग विभागमा जाँच गर्न र पिसिआर गर्न हरेक दिन २५० देखि ३०० जना आउने गरेको उनले बताए । परिवारै संक्रमित भएर आउनेको संख्या पनि धेरै रहेको डा. शाक्यले बताए । धेरैजसो संक्रमितमा मध्यम समस्या पाइएको छ ।
संक्रमित हुनेहरुमा प्रायः ३० वर्षमाथिका छन् । अहिले बहिरंग विभागमा बिरामीको चाप हेर्दा उपत्यकामा संक्रमण थप बढ्ने संकेत रहेको डा. शाक्यले बताएका छन् ।
गत २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना पुष्टि भएको छ । यस अवधिमा देशभरिमा १९ हजार १२३ वटा नमूना परीक्षण भएका थिए । गत २४ घण्टाको संक्रमणदर २५.६ प्रतिशत छ । केही दिन यता ३ हजारको हाराहारीमा संक्रमित भेटिने गरेकोमा मंगलवार संख्या बढेर झण्डै ५ हजार पुगेको छ । थप संक्रमितसहित नेपालमा संक्रमितको संख्या ७ लाख ९१ हजार ९१० पुगेको छ । गत २४ घण्टामा थप ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
यीसहित नेपालमा मृत्यु हुने संक्रमितको संख्या १० हजार १५० पुगेको छ । हाल नेपालभरिमा ३७ हजार ३३२ जना सक्रिय संक्रमित छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।