बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कोरोना महामारीमा आशाको किरण उदाउँदै, हालसम्मकै धेरै निको

कोरोना महामारीमा आशाको किरण उदाउँदै, हालसम्मकै धेरै निको

  • मिडिया डबली
  • सोमवार, जेठ ३ २०७८

  • 6.0K
    SHARES

  • कोरोना महामारीमा आशाको किरण उदाउँदै, हालसम्मकै धेरै निको

    काठमाडौं – कोरोना भाइरस संक्रमित व्यक्ति बस्ने आइसोलेसन सेन्टरबाहिर ना२च ६३७७ नम्बरको एम्बुलेन्स आयो । एम्बुलेन्स कसलाई लिन आएको हो ? कसैलाई थाहा थिएन । 

    आइसोलेसन सेन्टरमा बस्नेहरूले सोचे – फेरि आज पनि अर्को संक्रमित थपिए । एम्बुलेन्स रोकियो तर कोही ओर्लेनन् ।

    कसैलाई केही नसोधी चालकले एम्बुलेन्स अघि बढाउन खोजे । आइसोलेसनको सुरक्षामा खटिएका प्रहरीले सिटी बजाउँदै एम्बुलेन्स रोके । खासमा त्यो एम्बुलेन्स डिस्चार्ज भएका बिरामी लिन आएको थियो । यो आईतवार पौने २ बजे कीर्तिपुरस्थित आयुर्वेद तालिम केन्द्र आइसोलेसनमा देखिएको दृश्य हो ।

    एम्बुलेन्स आइपुगेको केहीबेरमा एक स्वास्थ्यकर्मीले माइकबाट भन्न थाले, ‘सैकाजी तण्डुकार, दिनेश तण्डुकार, सितारा थापा, उषा रानाभाट, रामप्रसाद सुवेदी डिस्चार्जका लागि तल आउनुहोस् ।’

    तीमध्ये काठमाडौं बुद्धनगरका सौकाजी सबैभन्दा वृद्ध थिए । ७५ वर्षीय सौकाजीको परिवारमा ५ जना कोरोनाबाट संक्रमित भएका थिए । सबैभन्दा बढी असर उनैलाई देखा पर्‍यो । परिवारले उनलाई कीर्तिपुरस्थित आइसोलेसनमा पठाए । अरु घरमै बसे । भर्ना भएको १० दिनमा उनमा लक्षण हरायो । ११ औं दिन अर्थात् आईतवार उनी डिस्चार्ज भएका हुन् ।

    कुरुवा बस्न गएका छोरा दिनेशलाई पनि लक्षण देखिएपछि पीसीआर गर्दा पोजिटिभ देखिएको थियो । दिनेश पनि बुवासँगै डिस्चार्ज भए । सौकाजी छोराले चलाएको मोटरसाइकलमै घर फर्किए । 

    ‘आमालाई सुरूमा कोरोना भएको थाहा पाउँदा आत्तिएका थियौं । अहिले हामी सबै निको भइसक्यौं,’ उनले भने ।

    स्वास्थ्य मन्त्रालयले आईतवार अपराह्न सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा दिनेश र सौकाजीलगायत ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोनालाई जितेकाहरुको १ दिनको यो संख्या हालसम्मकै सबैभन्दा बढी हो ।

    टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ७ दिन भेन्टिलेटरसहित २१ दिन उपचार गराएका अर्घाखाँचीका ३८ वर्षीय शंकर आचार्य समेत निको भएर घर फर्केका छन् । उनी ४ दिनअघि मात्रै डिस्चार्ज भएका हुन् ।

    ‘आइसोलेसन वार्ड, आईसीयू हुँदै भेन्टिलेटरमा समेत राखेर उपचार गर्नुपर्‍यो । ३ दिन त पूरै अचेत हुनुहुन्थ्यो,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) की वरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत एवं उनकी भाउजू मीरा पौडेलले सुनाइन्, ‘सबैले बाँच्ने आश मारेका थिए । अचेत भएका बेला म हरेक दिन गएर बोलाउँथें । उहाँ बोल्नु हुन्नथ्यो । चौथो दिन उहाँको होस खुल्यो । देवरले दोस्रो जीवन पाउनुभएको छ । भेन्टिलेटरमा पुगेको मान्छेलाई बचाउन सकेकामा डाक्टर र नर्स पनि खुशी हुनुहुन्छ ।’

    आचार्यको घरमा ५ महिना र ७ वर्षका छोरी र पत्नी पनि संक्रमित थिए । आफ्नो अवस्था थलिँदै गएपछि उनी आफन्तलाई बाँच्ने आश मारेको बताउँथे । ‘म हरेक दिन पीपीई लगाएर उहाँलाई ढाडस दिन पुग्थें । अस्पतालका नर्स, डाक्टर, सरसफाइ गर्ने सबैले हौसला दिनुहुन्थ्यो । भेन्टिलेटरमै उपचार गरिरहेका अरूको मृत्यु भएको देखेपछि थप चिन्तित हुनुहुन्थ्यो,’ पौडेलले भनिन् ।

    भेन्टिलेटरबाट निकालेर उनलाई १४ दिन वार्डमा राखिएको थियो । घरमै अक्सिजन लिने गरी उनलाई अस्पतालले डिस्चार्ज गरेको हो । ‘नियमित अक्सिजन पनि दिइरहनुपर्दैन,’ उनले भनिन् । आचार्य बानेश्वरस्थित कोठामा आराम गरेर बसेका छन् । अस्पतालमा आईसीयू र भेन्टिलेटरमा भर्ना गरेपछि बाँच्दैन भन्ने गलत सन्देश फैलिएको पौडेलले बताइन् ।

    आचार्यको उपचारमा संलग्न सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले संक्रमितलाई आईसीयू र भेन्टिलेटरमा कैयौं दिन उपचार गरी निको पारेर पठाइरहेको बताएका छन् । ‘हामीले संक्रमितको उपचार गरेर मात्रै हुँदैन । उहाँहरुले आत्मबल दह्रो बनाउनुपर्छ,’ बाँस्तोलाले भने, ‘गम्भीर रुपमा थलिएकालाई बचाउन सकिन्छ भन्ने उदाहरण अचेत अवस्थामा पुगेका आचार्यलाई लिन सकिन्छ ।’ 

    गम्भीर रुपमा थलिनुअघि नै अस्पताल भर्ना भएकालाई चाँडै निको पारेर पठाउन सकिएको बाँस्तोलाले बताए । अस्पताल भर्ना भएकामध्ये अधिकांश १० दिनभित्रै निको भएर फर्कने गरेको चिकित्सकहरु बताउँछन् ।

    ‘उपचारका क्रममा अक्सिजन लेबल ९२–९३ भयो, ३–४ दिन राख्दा पनि रोग बढेन र घरमै पठाउँदा पनि सुधार हुने संकेत देखियो भने डिस्चार्ज गर्छौं,’ डा. बाँस्तोलाले भने, ‘आईसीयूबाट डिस्चार्ज भएका बिरामीलाई १–२ लिटर अक्सिजन मात्रै आवश्यक पर्छ । त्यस्ता बिरामीलाई घरमै अक्सिजन थेरापी गर्ने तरिका सिकाउनुका साथै औषधि के–के खाने भनेर डिस्चार्ज गर्छौं ।’

    आईसीयूमा भर्ना गर्नुपर्ने बाहेकका बिरामी बढीमा २ हप्तामा डिस्चार्ज हुने गरेको सशस्त्र प्रहरी अस्पतालका कोरोना संक्रमित व्यवस्थापनका संयोजक डा. प्रवीन नेपालले बताएका छन् । अस्पतालबाट केही दिनयता डिस्चार्ज भएकाको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी १३ दिनको उपचारपछि डिस्चार्ज भएका छन् । यसमध्येकी एक हुन्, जावलाखेलकी ५७ वर्षीया जानुकादेवी घिमिरे । 

    सास फेर्न गाह्रो भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएकी उनी ८ दिनको उपचारपछि शनिवार डिस्चार्ज भएकी हुन् । ‘सुरूमा गाह्रो भएको थियो । अस्पतालमा अक्सिजन दिएपछि अलि सजिलो भयो,’ उनले भनिन्, ‘डाक्टर र नर्सले हिँडडुल गर्न र खाना खान सक्ने बनाएपछि डिस्चार्ज भएँ ।’

    महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी हवल्दार अमृततारा विक पनि १० औं दिनमा डिस्चार्ज भएका छन् । ड्युटीमा रहेका बेला वृतका उनीसहित २ जनालाई वैशाख २१ गतेमा कोरोना देखिएको थियो । उनीहरु आयुर्वेद अस्पतालमै उपचार गरेर आईतवार डिस्चार्ज भएका हुन् । ‘यहाँ आउँदा सास फेर्न गाह्रो भएको थियो । मुटुको धड्कन बढी थियो । ज्यान दुख्ने, ज्वरो आउने लक्षण थियो । अहिले हामी एकदम ठीक छौं,’ विकले भने, ‘११ दिन बस्दा ठीक भयो । नियमित व्यायाम गर्नुपर्छ, पौष्टिक खाना खानुपर्छ, मनोबल उच्च गराउनुपर्छ । तातोपानी पिइरहनुपर्छ । डराउनु हुँदैन । निको भइन्छ ।’

    विक डिस्चार्ज हुने खबर सुनेर रूपन्देही सैनामैना–५ मा रहेको उनको परिवार खुशी छ । डिस्चार्ज कागज लिने बेला उनको मोबाइलमा घरबाट फोन आएको थियो । उनले खुशी हुँदै भने, ‘मैले कोरोना जितेको कागज बन्दै छ । अब ब्यारेक जाने हो । चिन्ता लिनु पर्दैन ।’ वृतले उनीहरूलाई लिन अस्पतालमा गाडी पठाएको थियो ।

    विकलाई कोरोना देखिएको दिन वैशाख २१ गते निको हुने दर ८१.९९ प्रतिशत थियो । संक्रमित हुने दर ४५.८६ प्रतिशत थियो । उनी डिस्चार्ज भएको दिन आईतवार निको हुने दर ७४.७६ मा झरेको छ । संक्रमित दर ३७ प्रतिशत मात्रै छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले संक्रमितमध्ये १ दशमलव १० प्रतिशतको मात्रै मृत्यु भएको र अन्य सबैको निको भइरहेको बताएका छन् ।

    आईतवारसम्म ४ लाख ५५ हजार २० जनालाई कोरोना पोजिटिभ देखिएकामा ३ लाख ३९ हजार ७५६ जना निको भइसकेका छन् । संक्रमणले हालसम्म ५ हजार १ जनाको ज्यान लिएको छ । आईतवार अपराह्न सार्वजनिक विवरणअनुसार पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । ९ हजार ५३९ जनाको पीसीआरबाट ७ हजार ३१६ जनामा र ३४४ जनाको एन्टिजेन परीक्षणबाट ५२ जनामा गरी ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको छ । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend