काठमाडौं – वीरगञ्जमा थप १६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा बुधवार राति २४० जनाको परीक्षण गर्दा तीमध्ये १६९ जनामा संक्रमण भेटिएको छ ।
परीक्षण गरिएकामध्ये ७० प्रतिशतभन्दा बढीमा संक्रमण भेटिएको अस्पतालका कोभिड कोर्डिनेटर डा. सरोज रोशन दासले बताएका छन् । कोरोनाको दोस्रो लहर सुरू भएपछि वीरगञ्जमा एकैदिन नयाँ संक्रमित फेला परेको यो नै सबैभन्दा बढी संख्या हो ।
बुधवार राति संक्रमण पुष्टि भएका १६९ जनामध्ये पर्सा जिल्लाका मात्र १४० जना छन् । उनीहरूमध्ये वीरगञ्ज महानगरपालिकाका मात्रै १२० जना संक्रमित रहेको डा. दासले बताए ।
बाराका २४ जना, रौतहटका ३ जना तथा सर्लाही र दैलेखका १–१ जनामा समेत संक्रमण पुष्टि भएको डा. दासले बताए । यसअघि मंगलवार राति पनि नारायणी अस्पतालको प्रयोगशालामा २१० जनाको स्वाब नमूना परीक्षण गर्दा ६० प्रतिशतमा अर्थात् १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जमा चैत २७ गतेदेखि यता १ हजार २९१ जना नयाँ संक्रमित थपिएका छन् । चैत २७ गतेदेखि सोमवार बैशाख १५ गतेसम्मको अवधिमा २ हजार ३४८ जनाको परीक्षण गर्दा आधाभन्दा बढी अर्थात् १ हजार २९१ जनामा संक्रमण पुष्टि भएको डा. दासले बताए ।
कोरोना संक्रमणको दोस्रो लहर सुरू भएयता वीरगञ्जका अस्पतालमा कोरोनाका कारण २३ जनाको मृत्यु भएको छ । वीरगञ्जमा संक्रमण र मृत्युदर दुबै बढ्दै गएपछि बिहीवारदेखि वैशाख २२ गतेसम्म १ हप्ताका लागि पर्सा जिल्लाभर निषेधाज्ञा लगाइएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।