काठमाडौं – कोरोना भाइरस संक्रमण उकालो लागिरहँदा हप्तायता करीब २०० जना संक्रमितमध्ये १ जनाको मृत्यु हुन थालेको छ । पछिल्लो हप्ता १५ हजार ४४६ जना संक्रमित हुँदा ८१ जनाको मृत्यु भएको छ ।
आईतवार एकदिनमै २८ जनाको मृत्यु भएको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ । ‘लापरबाही गरे स्थिति भयावह हुन सक्छ,’ मन्त्रालयले भन्यो ।
मृत्युदरले कोभिडको विस्तार भयावह अवस्थातिर गइरहेको स्पष्ट संकेत गरेको वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले बताएका छन् । ‘नेपालजस्तो थोरै जनसंख्या भएको देशमा एकैदिन २८ जनाको मृत्यु हुनु जटिल अवस्था निम्तिसकेको संकेत हो,’ बीसीले भने, ‘बढ्दो मृत्युदरले बिरामीले अस्पतालमा राम्रो स्याहार पाउन नसकिरहेको अवस्था समेत छर्लंग भएको छ ।’
विज्ञहरुले दिनहुँ थपिइरहेका कोरोना संक्रमितको वास्तविक अवस्था अज्ञात रहेको औंल्याएका छन् । उनीहरुका अनुसार परीक्षण प्रक्रियामा नआएका संक्रमितको संख्या उल्लेख्य रहेको छ । संक्रमण पुष्टि नभएका कोभिड बिरामीको मृत्यु झन् बढी हुने उनीहरुको अनुमान छ ।
पछिल्लो हप्ता देखिएका संक्रमितमध्ये विदेश जान पीसीआर परीक्षण गराउने धेरै रहेको उल्लेख गर्दै डा. बीसीले भने, ‘हामीले विदेश जानेको संख्या घटायौं भने परीक्षण गराउनेमध्ये करीब आधाजतिमा संक्रमण देखिएको अवस्था छ ।’
पछिल्लो समय जटिल स्वास्थ्य स्थिति नहुँदासम्म परीक्षण गराउन नआउने, कन्ट्याक्ट ट्रेसिङ नहुने, स्वास्थ्य मापदण्ड पालनामा हेलचक्र्याइँ गर्ने लगायत कारणले करीब ५० प्रतिशतजति संक्रमण देखिएको डा. बीसीले बताएका छन् ।
‘संक्रमण तीब्र रुपमा भुसको आगोझैं फैलिरहेको छ, त्यसमा पनि नयाँ स्वरुपको भाइरसले गर्दा अवस्था धेरै जटिल हुने सम्भावना छ,’ उनले भने । संक्रमण बढ्दै गएकाले १०० भन्दा बढी संक्रमित भएको जिल्लाको संख्या २५ पुगेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताएका छन् । १ हप्ताको तथ्यांकलाई केलाउँदा करीब २०० जना संक्रमितमध्ये १ जनाको मृत्यु हुने दुःखद अवस्था देखिएको जनाउँदै उनले भने, ‘यसपटक संक्रमण तीव्र गतिमा विस्तार भइरहेको देखिएको छ । युवा र बालबालिका समेत संक्रमित हुने, जटिलतातर्फ जाने र गत वर्षको दाँजोमा धेरै बढीलाई अस्पताल भर्ना गर्नुपर्ने एवं सघन उपचार चाहिने अवस्था रहेको छ ।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. जीडी ठाकुरले सरकारले तुरुन्तै कठोर निर्णय लिएर स्वास्थ्य आपतकाल घोषणा गरी स्वास्थ्यमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । ‘संक्रमणको कडी तोड्न हटस्पटहरुमा २ हप्तासम्म कडाइ गर्नुको विकल्प छैन,’ ठाकुरले भने ।
धुलिखेल अस्पतालका जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभागका निर्देशक डा. विराज कर्माचार्यले गत हप्ताको दाँजोमा नेपालमा कोभिड संक्रमण २४१ प्रतिशतले बढेको बताए । भारतमा बृद्धिदर ६० प्रतिशत, पाकिस्तानमा १३ प्रतिशत र माल्दिभ्समा ८० प्रतिशत रहेको छ । अझ विश्वमा गत हप्ताभन्दा १० प्रतिशतले वृद्धि देखिँदा नेपालमा २४१ प्रतिशतले बढेको देखिएको छ ।
नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । विभिन्न जिल्लामा १६ जनाको मृत्यु भएको र थप १२ जना मृतकको विवरण समेत प्राप्त भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १६४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ३२ संक्रमित थपिएका छन् भने काठमाडौं उपत्यकामा १ हजार ४९८ जना संक्रमित थपिएका छन् । संक्रमतिको कूल संख्या ३ लाख ११९ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार १३२ सहित उपत्यकामा १ हजार ४९८ जना संक्रमित थपिएका छन् । २४ घण्टामा ४५० संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण यही दरमा बढ्दै गए सीमित साधनस्रोत भएको देशले थेग्न नसक्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सबै मिलेर मात्र कोरोनालाई परास्त गर्न सकिने भएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् । गौतमले सावधानी नअपनाए स्थिति भयावह हुने बताएका छन् ।
मन्त्रालयले देशका विभिन्न स्थानमा भारतमा जस्तै संक्रमितको उपचार तथा हेरचाहमा समस्या आउन थालिसकेकाले संक्रमण रोकथाम गर्न सक्ने भूमिका सबैले निर्वाह नगरे समस्या झन् भयावह हुने जानकारी दिएको छ ।
‘आज जुन दुखद दृश्य स्वास्थ्यकर्मीहरुले दिनहुँ देखिरहेका छन्, त्यो कसैको पनि परिवार वा आफन्तमा नघटोस् भन्नका लागि हामी सबैले संक्रमणको फैलावटलाई रोक्ने गरी जिम्मेवार बन्न र बनाउन अत्यावश्यक छ, संक्रमण रोकथामका लागि सरकारले तोकेका मापदण्ड निर्विकल्प उपाय हुन्,’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख गरिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।