बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कोरोना महामारी खतरनाक हुँदासम्म ओली सरकार मस्त, जनता त्रस्त !

कोरोना महामारी खतरनाक हुँदासम्म ओली सरकार मस्त, जनता त्रस्त !

  • मिडिया डबली
  • आइतवार, बैशाख १२ २०७८

  • 4.6K
    SHARES

  • कोरोना महामारी खतरनाक हुँदासम्म ओली सरकार मस्त, जनता त्रस्त !

    काठमाडौं – कोरोना भाइरस संक्रमण महामारीको ‘हटस्पट’ बनेको भारतबाट स्थलमार्ग हुँदै सर्वसाधारण निर्बाध रुपमा नेपाल प्रवेश गरिरहेका छन् । आवतजावतलाई रोक्न सरकारी प्रयास अझै प्रभावकारी हुन सकेको छैन ।

    नेपालमा कोरोना संक्रमित २ जना हुँदा २०७६ चैत १० गतेबाट भारत र चीनतर्फका सबै अन्तर्राष्ट्रिय सीमा बन्द गरी आवागमन निषेध गरिएको थियो । पछिल्लो समय दोस्रो लहरको संक्रमण द्रूतगतिमा फैलिइरहे पनि न सीमा सिल गरिएको छ, न आवागमन गर्नेको स्वास्थ्य परीक्षण नै व्यवस्थित गरिएको छ ।

    बैशाख १ गतेयता मात्रै भारतबाट नेपाल छिरेका ६७० जनामा संक्रमण देखिएको छ । नेपाल प्रवेश गरेका धेरैको परीक्षण नै भएको छैन । बैशाखयता भारतबाट करीब १ लाख जना नेपाल प्रवेश गरेकामा ५ हजार ९७१ जनाको एन्टिजेन र पीसीआर परीक्षण गरिएको थियो । त्यसमध्ये करीब १२ प्रतिशतमा संक्रमण देखिएको छ । सीमाबाट प्रवेश नरोके स्थिति नियन्त्रणबाहिर जाने जोखिम रहेको छ ।

    विना परीक्षण प्रवेश गर्दा भारतमा द्रूतगतिमा फैलिएको महामारी नेपालमा पनि सोही वेगमा सर्नसक्ने जनस्वास्थ्यविद्हरू बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेढ हप्ताअघि नै उपत्यका र तराई–मधेशका गरी १४ जिल्लालाई संक्रमणको उच्च जोखिममा राखेको थियो तर त्यसअनुसार सावधानी भने अपनाइएको छैन ।

    गृह मन्त्रालयले जिल्ला प्रशासन, प्रहरी र सशस्त्रलाई यसअघिकै आदेश पालनामा कडाइ गर्नेबाहेक महामारीविरुद्ध थप सक्रियता देखाएको छैन । संक्रमण विस्तार हुन थालेपछि जनस्तरबाटै लकडाउन र सीमानाका सिल गर्नुपर्ने माग उठेका छन् । सरकार तत्कालै लकडाउन गर्ने पक्षमा समेत देखिएको छैन ।

    जनस्वास्थ्यविद् डा. शरद वन्तले विदेशबाट संक्रमण भित्रिन नदिन सीमानाकामै पर्याप्त परीक्षण गरी संक्रमित देखिए आइसोलेसनमा पठाउनुपर्ने सुझाव दिएका छन् । आयातित संक्रमण रोक्न सरकारले हवाई र स्थल सीमानाकामा कडाइ गर्नैपर्ने उनले बताए ।

    ‘भारतबाट स्वदेश फर्कन चाहेका नेपालीलाई निर्वाध प्रवेश दिएर होल्डिङ सेन्टर र क्वारेन्टीनमा राख्नुपर्छ, परीक्षणमा संक्रमित देखिए अस्पताल वा तोकिएका आइसोलेसनमा पठाई सरकारले उचित व्यवस्थापन गर्नुपर्छ,’ वन्तले भने, ‘भारतीयको हकमा राज्यले व्यवस्थापन गर्न सक्छ भने प्रवेश दिएर परीक्षणको दायरामा ल्याउनुपर्छ, नत्र तत्कालका लागि प्रवेश निषेध गर्न सक्छ ।’

    वन्तले भारतीयलाई नेपालबाट तेस्रो मुलुक जान सहज गरिदिएकोमा पनि असन्तुष्टि जनाएका छन् । हवाई मार्गबाट आएका विदेशीलाई समेत १४ दिन अनिवार्य क्वारेन्टीनमा राखेर तोकिएको मापदण्ड पूरा गरेपछि मात्रै अर्को मुलुक जान अनुमति दिनुपर्ने उनको सुझाव रहेको छ ।

    कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का प्रतिनिधिसँग शनिवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणको अवस्था र आगामी रणनीतिबारे ब्रिफिङ लिएका थिए । तर संक्रमणविरुद्ध आगामी कदम कस्तो चाल्ने भन्नेमा ठोस निर्णय भएन । 

    दैनिकजसो झण्डै ३ हजार नयाँ संक्रमित थपिन थालेका छन् । मृत्युदर समेत निकै बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट १४ जनाको मृत्यु भयो । २ हजार ६१९ संक्रमित थपिए ।

    हालसम्म कूल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । मृत्यु हुनेको संख्या ३ हजार १३६ पुगेको छ भने सक्रिय संक्रमित १६ हजार ८२८ रहेका छन् । संक्रमित र निको हुने दरमा पनि ठूलो अन्तर छ । करीब ३ हजार संक्रमित थपिँदा निको हुने संख्या ३६८ मात्रै रहेको छ ।

    सीसीएमसीका सदस्यबाट ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले स्थिति निकै भयावह हुँदै गएको र त्यसलाई रोक्ने प्रतिकार्य योजना आगामी मन्त्रिपरिषद् बैठकमा पेश गर्न निर्देशन दिएका एक मन्त्रीले जानकारी दिए । ‘दोस्रो लहरको संक्रमण निकै भयावह रुपमा फैलिएको, संक्रमित र मृत्यु हुनेमा युवा वर्ग बढी रहेको र संक्रमित अनुपात समेत युवा नै बढी रहेकोमा प्रधानमन्त्रीले गम्भीर चिन्ता व्यक्त गर्नुभयो,’ ती मन्त्रीले भने, ‘यो जोखिमलाई न्यूनीकरण गर्ने सन्दर्भमा सम्बोधन हुने गरी आगामी मन्त्रिपरिषद् बैठकमा कार्ययोजना पेश गर्न निर्देशन दिनुभएको छ ।’

    अब बस्ने सीसीएमसी बैठकले भारतीयलाई स्थल नाकाबाट प्रवेशमा कडाइ गर्ने र नेपालीको हकमा होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण गरी कदम चाल्नेबारे सिफारिस हुने उनले बताएका छन् ।

    मन्त्रिपरिषद्को पछिल्लो आदेशको सही पालना नभएकोमा पनि प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाए । आदेश पालनामा सम्बद्ध पक्षबाट नै अटेर गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ब्रिफिङका क्रममा अवगत गराएका थिए । छलफलमा सहभागी प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालले मन्त्रिपरिषद्बाट जारी गरिएका आदेश राम्रोसँग लागू नभएको र अब पनि अटेर गरिए कारवाहीको दायरामा ल्याउन प्रधानमन्त्रीबाट स्पष्ट निर्देशन भएको बताएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend