बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नेपालमा यसरी गाउँगाउँ पुग्दैछ कोरोना भाइरस

नेपालमा यसरी गाउँगाउँ पुग्दैछ कोरोना भाइरस

  • मिडिया डबली
  • शनिवार, बैशाख ११ २०७८

  • 4.9K
    SHARES

  • नेपालमा यसरी गाउँगाउँ पुग्दैछ कोरोना भाइरस

    काठमाडौं – कोरोना भाइरस संक्रमण फैलिएर फेरि देशव्यापी बनेको छ । 

    यूके भेरियन्टको बढ्दो संक्रमणसँगै जनस्वास्थ्यका मापदण्ड उल्लंघनका कारण ७७ वटै जिल्लामा  संक्रमण पुष्टि भएको छ ।

    सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    मुलुकभर शुक्रबार मात्रै २ हजार ५५९ जना संक्रमित थपिएका छन् । ७५ जना क्वारेन्टीनमा छन् । सघन उपचार कक्ष (आईसीयू) मा १७३ र भेन्टिलेटरमा ५७ जना उपचाररत रहेका छन् ।

    मन्त्रालयको तथ्यांकले सबै उमेर समूहमा कोरोना पुष्टि भएको पाइएको छ । दैनिक संक्रमणको अवस्था हेर्दा २० देखि २९ वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा बढी संक्रमित देखिएका छन् ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बागमती र लुम्बिनी प्रदेशमा संक्रमितको संख्या बढेको बताए । बागमतीका काठमाडौं र ललितपुरमा ५०० भन्दा बढी संक्रमित उपचारार्थ भर्ना भएका छन् ।

    लुम्बिनीका बाँके र रुपन्देहीमा उपचारार्थ अस्पताल भर्ना हुने संक्रमितको संख्या ५००० नाघेको छ । सीमावर्ति जिल्लामा संक्रमितको संख्या बढ्नुमा खुला सिमाना र हेलचेक्रयाइँ नै मुख्य कारक रहेको विज्ञको ठम्याइ रहेको छ । 

    ‘कोरोना संक्रमणले सीमापारि भारतमा भयावह अवस्था ल्याउने बित्तिकै यहाँ सतर्कता अपनाउनुपर्थ्यो,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भन्छन्, ‘सीमा सिल गर्ने, परीक्षण गर्नेतर्फ ढिलाइ भयो । आवतजावत निर्वाध हुँदा संक्रमितको संख्या बढ्यो ।’

    भारतबाट फर्किएका व्यक्तिहरु जोखिमयुक्त ठूला शहर हुँदै सार्वजनिक यातायात चढेर घर पुग्ने गरेका छन् । जनस्वास्थ्य मापदण्ड पालना नगरेका कारण पहाडी एवं हिमाली जिल्लामा पनि संक्रमण फैलन पुगेको डा. प्याकुरेलले बताए ।

    जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले सीमा नाकालाई व्यवस्थित गर्न सरकार चुकेका कारण संक्रमणदर बढेको बताए । ‘जनशक्ति, क्वारेन्टीन, होल्डिङ सेन्टरको व्यवस्था गरिसक्नुपर्थ्यो । अझै तुरुन्तै घरभाडामा लिएर भए पनि व्यवस्था गर्न सकिन्छ तर अब पनि ढिलाइ गर्दा झन् भयावह हुन्छ,’ डा. मरासिनीले भने । अन्तर्राष्ट्रिय नाकाहरुमा कडाइ गर्ने र सीमावर्ती प्रवेश बिन्दुमा चौबीस घण्टा राखेर ज्वरो नाप्ने, स्वास्थ्य जाँच गर्ने कार्य गर्नुपर्ने सुझाव डा. मरासिनी दिन्छन् ।

    मन्त्रालयले संक्रमणको अवस्था हेरि ठूला शहरमा ५०० भन्दा बढी र साना शहरमा १०० जनाभन्दा बढी सक्रिय संक्रमित देखिए ती स्थानमा आवागमन व्यवस्थित गर्नुपर्ने सिफारिस गरेको छ । डा. मरासिनीका अनुसार पीसीआर परीक्षणको दायरा विस्तार र संक्रमितको उपचारलाई प्रभावकारी बनाउने कार्य एकसाथ अघि बढाउनुपर्ने देखिएको छ ।

    मन्त्रालयका अनुसार ६ वटा प्रयोगशाला सञ्चालनमा आउन सकेका छैनन् । निजी ३६ सहित ८६ वटा प्रयोगशालामा पीसीआर परीक्षण भइरहेको छ । 

    भारतमा भयावह भइरहेका बेला तत्काल रणनीति अपनाई कार्यान्वयन गर्नुपर्ने विज्ञ बताएका छन् । डा. मरासिनी कोरोना संक्रमण नियन्त्रण र उपचार व्यवस्थापन नै अहिलेको चुनौती भएकाले बजेट व्यवस्थापन गर्नुपर्ने बताउँछन् ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले कन्ट्याक्ट ट्रेसिङलाई पनि प्राथमिकता दिनुपर्ने बताए । ‘व्यापार व्यवसाय लगायत कतिपय सामाजिक कारणले पनि संक्रमित व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङमा आउन नचाहने हुन्छन् । यसतर्फ पनि राज्य चनाखो हुनुपर्छ,’ डा. पुनले भने ।

    कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा विस्तार गर्ने हो भने संक्रमितको संख्या अहिले देखिएभन्दा बढी हुन सक्ने डा. पुनले बताए । सम्भावित संक्रमित र संक्रमितकोे आवतजावतको यकिन गरी उनीहरुलाई आइसोलेसनमा राख्न अनुगमन गर्ने विधि ट्रेसिङ कार्य हो । यसका लागि मन्त्रालयले मातहतबाट खटिएका टोलीहरु कल सेन्टर, मोबाइल एप र वेबसाइटमार्फत ट्रेसिङ कार्यलाई थप व्यवस्थित गर्न सकेको छैन ।

    ‘समुदायमा गएर सेरो प्रिभिलेन्स गर्न पाएको भए संक्रमणको अवस्था जानकारी पाउन सकिन्थ्यो । अहिले संक्रमणको अवस्थाभन्दा खेरी विना प्रमाणको हुन पुग्छ,’ डा. पुनले भने ।

    शुक्रराज अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले कोभिडबाहेक बिरामी भर्ना बन्द गरिएको बताए । ‘यूके भेरियन्ट संक्रमण पनि बढ्दै गएको छ । भाइरल लोड पनि बढी नै हुन्छ । संक्रमण उच्च भए पनि उपचार व्यवस्थापनमा गाह्रो पर्ने देखिइसकेको छ,’ निर्देशक डा. राजभण्डारीले भने । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend