काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमण समुदायस्तरमै तीब्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव देखिएको छ ।
दैनिक संक्रमणदर २ हजारमाथि पुगेपनि आमनागरिकले खोप पर्याप्त नहुँदा खोप लगाउन पाइरहेका छैनन् ।
अस्पताल भर्ना र गम्भीर बिरामी भएका कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर बजारमा सहज रुपमा उपलब्ध छैन ।
अस्पतालमा अक्सिजन प्लान्ट पनि अभाव छ । चिकित्सक र जनस्वास्थ्य विज्ञले संक्रमण रोकथाममा अत्यावश्यक मानिएको खोप, रेम्डेसिभिर र अक्सिजन तयारी अवस्थामा राख्न सरकारलाई सुझाव दिएका छन् ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिले संक्रमण रोकथाममा कुनै कसर बाँकी नराख्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइसकेको छ । भारत सरकारबाट नेपालले खरिद गरेको १० लाख डोज खोप नेपालले पाउन सकेको छैन ।
यसअघि भारतबाट खरिद गरिएको १० लाख डोज, उपहारस्वरुप प्राप्त १० लाख डोज उमेर समूहका आधारमा लगाइएको छ ।
कोभ्याक्स सुविधा अन्तर्गत नेपालले ३ लाख ४८ हजार डोज कोरोना खोप पाइसकेको छ । चीन सरकारको कम्पनी सिनोफार्मद्वारा उत्पादित कोरोना भाइरस विरुद्धको खोप ८ लाख डोज उपलब्ध गराइएको थियो । पर्याप्त खोप नआउँदा अधिकांश व्यक्ति खोप लगाउनबाट वञ्चित रहेका छन् ।
रेम्डेसिभिर सहज रुपमा उपलब्ध हुन सकेको छैन । अस्पताल भर्ना भएका र गम्भीर बिरामी कोरोना संक्रमित उपचारमा रेम्डेसिभिर प्रयोग प्रभावकारी मानिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बजारमा १३ हजार भाइल स्टक रहेको बताए । ‘३६ हजार भाइल रेम्डेसिभिर स्टकमा राख्नुपर्ने हुन्छ,’ पोखरेलले भने, ‘रेम्डेसिभिर सहज आपूर्तिका लागि मन्त्रालयले पहल गरिरहेको छ ।’
स्वास्थ्य मन्त्रालयले भारतले रेम्डेसिभिर आयातमा रोक लगाएको अवस्थामा बंगलादेशबाट खरिदका लागि प्रक्रिया अघि बढाएको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पोखरेलले रेम्डिसिभिर आपूर्तिका लागि औषधि व्यवस्था विभागलाई निर्देशन दिइएको बताएका छन् ।
अस्पतालमा अक्सिजन प्लान्ट पनि अभाव देखिएको गुनासो आउन थालेको छ । मन्त्रालयले ८ ठूला अस्पतालमा अक्सिजन प्लान्ट व्यवस्था गरिने जनाएको छ । चिकित्सकका अनुसार सास फेर्न समस्या भएका बिरामी संख्या बढ्दै गए अक्सिजन आवश्यक पर्नेछ ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमण रोकथामका लागि खोप, अक्सिजन प्लान्ट र रेम्डिसिभिर अत्यावश्यक मानिने बताएका छन् । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पोखरेलका अनुसार संक्रमण बढेपछि काठमाडौं उपत्यकामा २ हजार शय्या सञ्चालनमा ल्याइएको छ । ‘सातै प्रदेशमा २ हजार आइसोलेसन बेड तयारी अवस्थामा राख्न सूचित गरिएको छ,’ पुनले भने, ‘आइसोलेसन बेड अस्पतालसँग जोडिने छन् ।’
भारतसँग सीमानाका जोडिएका १३ स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ । उपचारका लागि आवश्यक अक्सिजन आयात प्रक्रिया समेत अघि बढाइएको छ । काठमाडौं उपत्यका र अन्य ६ वटै प्रदेशमा गरी ४ हजार आइसोलेसन शय्या तयारी अवस्थामा रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह पनि गरेको छ । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले हरेक ४ दिनमा संक्रमण दर दोब्बर वृद्धि हुँदै गएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।
यही अवस्थामा संक्रमण बढे स्वास्थ्य संरचनाले धान्न नसक्ने भन्दै स्वास्थ्य मन्त्रालयले कोरोना जोखिम न्यूनीकरणका लागि सबैले जनस्वास्थ्य मापदण्ड कडाइसहित पालना गर्न अपिल गरेको छ ।
देशभर बुधबार संक्रमित संख्या २ हजार नाघेको छ । एकैदिन २ हजार ३५१ व्यक्तिमा कोरोना देखिएको छ । हाल देशभर १० हजार ५८२ आइसोलेसन र ८६ जना क्वारेन्टीनमा छन् । पछिल्लो २४ घण्टामा २८७ जना डिस्चार्ज भएका छन् ।
कूल संक्रमितमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकामा देखिएका छन् । जसअन्तर्गत काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ संक्रमित भेटिएका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।